Comments Add Comment

‘ऐना हेर्दा म कहिले राम्री, कहिले नराम्री’: रेबिका गुरुङ(भिडियो कुराकानी)

४ बडिगार्डसहित चलचित्र ‘लिलिबिली’को पत्रकार सम्मेलनमा इन्ट्री गर्दा नव–नायिका रेबिका गुरुङ आफ्नो सानैदेखिको नायिका बन्ने सपना पुरा हुने कुरामा खुशी थिइन् । सय भन्दा बढी मिडियाको क्यामेरामा घेरिएर जब उनी पत्रकार सम्मेलनमा इन्ट्री गरिन्, धेरैले उनको सुन्दरताको प्रशंसा पनि गरे । तर, रेबिकको खुशी त्यतिबेला रोकियो जब उनले यो चलचित्रमा काम गर्न पाइनन् । यूकेको भीसा नलाग्नु अनी उनी बिरामी हुनु, उनका लागि अनलक्की बनिदियो समय ।

रेबिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


तर, रेबिका आफूलाई त्यसले कहिले पनि दिक्क नलागेको बताउँछिन् । उनी भन्छिन्–‘लिलिबिली’मा काम गर्न नसक्ने भएँ भन्ने थाहा पाएपछि पनि मलाई त्यस्तो नरमाइलो लागेन । हो मैले एउटा राम्रो चलचित्र गुमाएँ, तर मैले गर्ने भनिएको भूमिकालाई जसिता गुरुङले राम्रोसँग निर्वाहा गर्नुभएको छ ।’

रेबिकाले अर्को चलचित्रमा काम गर्नका लागि करिब एक बर्ष पर्खनुपर्यो । तर, जे हुन्छ राम्रै हुन्छ भने जस्तै भयो उनका लागि । यसपटक उनले पूनम गौतम जस्ती निर्मात्री, नवल नेपाल जस्ता सफल निर्देशक मात्र पाएकी छैनन् साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का जस्ता सह–कलाकार पनि पाएकी छिन् । ‘मारुनी’ आफ्नो करिअरको लागि कोशेढुंगा बन्नेमा उनी ढुक्क छिन् ।

रेबिकाको सपना सानैबाट कोरियोग्राफर बन्ने थियो । यसैले पनि उनलाई यो ग्ल्यामर क्षेत्रमा रुची लागेको हो । रेबिका आफूले डान्स राम्रो गर्ने बताउँछिन् । उनले भनिन्–‘टीभीका लागि विज्ञापन खेल्दा, क्यामेरा अगाडि पर्दा मलाई निकै रमाइलो लाग्थ्यो । यसैले पनि म यो क्षेत्रकै लागि हुँ भन्ने लाग्थ्यो ।’

रेबिकाले आफ्नो सुन्दरताको बिषयमा भनिन्–‘मलाई कहिलेकाही ऐना हेर्दा राम्री लाग्छ । कहिलेकाही साह्रै नराम्री लाग्छ ।’ नायिका बन्ने सपना बोकेकी रेबिका आफू कलाकार मेनुका प्रधानको फ्यान भएको बताउँछिन् । उनी, मेनुकाको जस्तै अभिनय गर्न आफूलाई मन लाग्ने बताउँछिन् । रेबिकाले भनिन्–‘मलाई आफ्नो भूमिकालाई न्याय गर्न सकुँ भन्ने सधै नै लाग्छ । तर, मलाई स्टार बन्ने सोच पनि छ ।’

अहिलेसम्म चलचित्र क्षेत्र आफ्ना लागि रहर भएको उनले सुनाइन् । तर, रेबिका आफू पर्दामा नायिका रेबिका गुरुङ भएपनि बाहिरी दुनियाँमा सामान्य यूवती भएको सुनाउँछिन् । आफूलाई बाहिरी दुनियाँमा नायिका बन्न मन नलाग्ने उनको भनाई छ ।

रेबिकाले आफूलाई नारी प्रधान चलचित्रमा काम गर्न मन लाग्ने सुनाइन् । एउटा निर्माताले आफूमाथि राम्रो काम गर्ने नायिका भनेर लगानी गर्न सक्ने उनको भनाई छ । चलचित्र ‘लिलिबिली’मा काम गर्न नपाएपनि आफूलाई दर्जनौ चलचित्रबाट अफर आएको उनले बताइन् । कसैले फोनमै कथा सुनाउने गरेको त कसैले भेटौ भन्ने गरेको उनले अनलाइनखबरसँगको कुराकानीमा भनिन् । तर, आफूले निकै कम निर्मातालाई मात्र भेटेको उनले खुलाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment