Comments Add Comment

पर्सामा समुदाय प्रहरी साझेदारी : गाउँगाउँमा चेतनामूलक नाटक

५ पुस, वीरगञ्ज । मधेसको एउटा गाउँमा १२/१३ वर्षको केटाको घरमा विवाहको चर्चा चल्छ । लमीले केटी खोज्ने जिम्मा पाएका हुन्छन् ।

४ वटी छोरी भएको छिमेकी गाउँको परिवारको छोरीसँग विवाहका लागि कुरो चल्छ । लमीले दुवै पक्षबीच विवाहका लागि कुरा चलाउँछन् । केटाको बुवाले आफू दाइजोको विरोधी रहेको र आफ्नो लागि केही नचाहिने तर छोरा बुहारीका लागि दिनु भन्दै १० लाख नगद, मोटरसाइकल, फ्रिज, वासिङ मेसिनलगायत गरी झण्डै २० लाख बराबरको सामान माग्छन् ।

केटीका वुवाले आफ्नो हैसियत नभएपनि छोरीको विवाह एक दिन त गर्नैपर्छ भनेर दाइजोको प्रस्ताव स्वीकार गर्छन् । विवाहको दिन मागे अनुसारको दाइजो नदिएको भन्दै केटाको बुवाले विवाह रोक्ने चेतावनी दिन्छन् । केटीको बुवाले हात जोडेर विन्ती गर्दै विस्तारै दिने आश्वासन पछि विवाह हुन्छ ।

कलिली केटीले विहेपछिको घरमा सासु, नन्द, ससुरा, श्रीमान सबैलाई रिझाउन सक्दिनन् । त्यसमा पनि मागेजति दाइजो नदिएको भन्दै गाली गलौज मात्रै नभएर कुटपीट पनि गर्छन् । केटीको श्रीमानलाई भए नभएको कुरा लगाएर उ मार्फत पनि पिटाउँछन् ।

अति भएपछि उनी माइत जान्छिन् । तर माइतीले पनि अर्काको घर गइसकेकी छोरी यहाँ बस्न हुन्न भनेर फेरि घर पुर्‍याइदिन्छन् । सासु, ससुरा रक्सीले मातेको श्रीमान मिलेर कुटपीट गर्दै गर्दा केटीको मृत्यु हुन्छ । घटनालाई ढाकछोप गर्न खोजे पनि प्रहरीकोमा खबर पुग्छ । प्रहरी आएर परिवारका सबै सदस्यलाई समातेर लैजान्छ ।

यो वास्तविक घटना नभई एउटा नाटकको कथा भएपनि यसले तराई मधेसको समाजमा घट्ने घटनाको प्रतिनीधित्व गरेको छ । यो नाटकको सार मात्रै हो । नाटकले बाल विवाह, दाइजो प्रथा, लैंगिक हिंसा, चोरी निकासी, पैठारी, लागु औषध दुव्र्यसनी, खुल्ला सौचलगायतका विभिन्न सामाजिक कुरीति, कुसंस्कार र विसंगति विरुद्ध सचेतना दिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले शुरु गरेको कुरीतिविरुद्ध अभियानको क्रममा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा पहिलो पटक बुझ्ला के वाद (बुझेपछि) नाटक मञ्चन गरिएको हो ।

समाजमा दाइजो, बाल विवाह, लागूऔषध दुव्र्यसनजस्ता विभिन्न आपराधिक घटनाहरु घटेका छन् । समयमै प्रहरीलाई खबर हुन्न, घटना भएपछि पनि ढाकछोप गर्न खोजिन्छ । कतिपय घटनाका अपराधीहरु कानुनी दायरामा आएका छन् भने कतिपय त खुलेआम घुमिरहेका पनि छन् । अपराध भएपछि मात्रै होइन, अपराधिक घटना घट्न लागेको संकेत पाउने वित्तिकै प्रहरीलाई जानकारी गराउनुपर्छ भन्ने सन्देश दिन अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अभियान अन्तर्गत पहिलो कार्यक्रम पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिश्वा स्थित मंगल माविमा सचेतनामुलक कार्यक्रम सम्पन्न भइसकेको छ । रामनिवास देहातीको निर्देशनमा जय हनुमान तराई विकास तथा सांस्कृतिक परिषदका कलाकारको टोलीले अभिनय गरेको ‘बुझलाके बाद’ (बुझेपछि) शीर्षकको भोजपुरी नाटक झण्डै एक घन्टाको छ ।

नाटकमा एक दर्जन कलाकारले जीवन्त अभिनय गरेका छन् । विकृति विसंगतिविरुद्ध चोटिलो प्रहार गरेको नाटकको बीचमा भोजपुरी गायक सुनील पण्डितले छोरीले घरमा पाएको दुःखको विलौना गरेको गीत गाउँदा अधिकांशको आँखाबाट आँसु झरेका थिए ।

बाल विवाह, दाइजो प्रथा, लागूपदार्थ दुर्व्यसनले समाजमा उब्जाउने समस्यामा केन्द्रित नाटक क्रमशः जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा समेत प्रदर्शन गर्दै लैजाने योजना रहेको प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

‘प्रहरीले मात्रै चाहेर हुँदैन, समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि स्थानीयको सहयोग चाहिन्छ । चेलीबेटीहरुलाई कुनै पनि खाले दुव्र्यहार घर, परिवार, समाजबाट भए तत्काल खबर भयो भने दुर्घटना हुन पाउँदैन’ उनले भने । उनले जिल्लाका १३ वटा स्थानीय तहमा कम्तीमा एउटा र वीरगञ्ज महानगरपालिकामा ३/४ वटा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाए ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले प्रहरीले स्थानीयको सहयोगबिना समाजमा शान्ति सुव्यवस्था कायम गर्न नसक्ने बताए । उनले अपराधिक घटना भइसकेपछि मात्रै प्रहरी घटनास्थलमा पुग्ने नभएर अगाडि नै पुगेर घटना नै हुन नदिने अवस्था सिर्जना हुनुपर्ने बताए ।

सामाजिक संस्था पहलका अध्यक्ष दिलिपराज कार्कीले अपराध लुकाउने प्रवृत्तिले सामाजमा अपराध बढ्ने बताए । उनले गाउँ समाज, छरछिमेकमा भई रहेका विकृति, विसंगति बिरुद्ध खुलेर बोल्न स्कुले बालबालिकालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment