Comments Add Comment

वाणिज्य बैंकहरुले ब्याजदर घटाए, निक्षेपमा अधिकतम् ९.२५ प्रतिशतमात्रै

६ पुस, काठमाडौं । निक्षेपको ब्याजदर बढाउन आक्रामक देखिएका वाणिज्य बैंकहरुले शुक्रबारबाटै लागुहुने गरी ब्याजदर घटाएका छन् । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढेर निक्षेपमा १३ प्रतिशतसम्म पुगेको ब्याजदर नेपाल राष्ट्र बैंकको चेतावनी पछि बैंकहरुले घटाएका हुन् ।

जनता बैंकबाट शुरु भएको ब्याजदर बढाउने क्रम कुमारी बैंकसम्म पुग्दा १३ प्रतिशत पुगेको थियो । राष्ट्र बैंकको चेतावनीपछि बिहीबार नै जनता बैंकले ब्याजदर घटाएको थियो । कुमारी बैंकले पनि शुक्रबारदेखि लागु हुने गरी ब्याजदर घटाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।

बैंकर्स संघको बैठकमा भएको सहमति अनुसार आफ्नो बैंकले साथै अन्य बैंकहरुले समेत घटाएको उनले बताए । बैंकको ब्याजदर आकाशिए पछि बिहीबार बालुवाटारमै बोलाएर वाणिज्य बैंकका सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको थियो ।

ब्याजदर नघटाए कडा रुपमा प्रस्तुत हुने राष्ट्र बैंकको चेतावनी पछि बैंकहरु ब्याजदर घटाउन राजि भएका हुन् । बिहीबार बैंकठमा गभर्नर डा. चिरञ्जीवि नेपाल, डेपुटी गभर्नरद्वय शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी सहभागी थिए ।

संघको नयाँ सहमति अनुसार अब व्यक्तिगत मुद्धति निक्षेपमा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज बैंकहरुले दिने छन् ।

यो नियम शुक्रबारदेखि नै सबै बैंकले लागु गर्न शुरु गरिसकेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो ।

निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याज दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो । संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । बैंकको ब्याजदर बढेर १३ प्रतिशत भन्दा माथि पुगे पछि पुनः अधिकतम् सीमा तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment