Comments Add Comment

पशुपति वृद्धाश्रमबारे सांसदको प्रश्न : न्यानो कपडा छ कि छैन ?

८ पुस, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले पशुपतिनाथस्थित वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेपछि सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको आइतबारको बैठकमा बोल्दै सांसद कृष्णबहादुर राई र हिरा गुरुङले वर्षौंदेखि जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रमको उचित व्यवस्था गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राईले पशुपतिनाथबाट सो वृद्धाश्रम तत्काल अन्यत्र सार्न पनि सरकारसँग माग गरे । उनले नयाँ ठाउँमा नयाँ भवन बनाएर वृद्धाहरुको उचित स्याहार गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद गुरुङले पशुपति वृद्धाश्रमका वृद्धाहरुको उचित खानपानको समेत व्यवस्था हुन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् । उनले चिसोमा न्यानो कपडाको वितरण सो वृद्धाश्रमका गरिएको छ कि छैन ? भनी सरकारलाई प्रश्न पनि गरिन् । सरकारले जीर्ण अवस्थामा रहेको पशुपति वृद्धाश्रम हालसम्म पनि मर्मत सम्भार नगरेकोमा सांसद गुरुङको आपत्ति छ ।

बैठकमा पशुपति वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतले वृद्धाश्रमका वृद्धवृद्धाहरुको खानपान, स्वास्थ्य उपचारलगायतको उचित व्यवस्था गरिएको दावी गरे । उनले नियमित स्वास्थ्य जाँचको समेत व्यवस्था सो वृद्धाश्रममा भइरहेको पनि समितिलाई जानकारी गराए ।

सो वृद्धाश्रमको जीर्ण भवनसमेत हालसम्म मर्मत हुन नसकेपछि महिला तथा सामाजिक समितिमा आवद्ध सांसदहरु सरकारप्रति आक्रोशित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment