Comments Add Comment

प्रचण्डलाई कांग्रेस प्रवक्ताको जवाफ : धर्मको विषयमा कम्युनिस्टले पढाइरहनुपर्दैन

८ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा आफूहरुलाई कम्युनिस्टले पढाउन जरुरी नभएको बताएका छन् ।

महासमिति बैठकको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा उनले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताएका हुन् ।

‘धर्मको सन्दर्भमा कम्युनिस्ट पार्टीका मित्रहरु जो द्वन्द्वात्मक भौतिकवाद पढेर हुर्किनुभएको छ, जसले धर्म अफिम हो भनेर वाल्यकालमै आफ्नो जीवन सुरुवात गर्नुभएको छ’ उनले भने ‘उहाँहरुले धर्म कर्म संस्कार र संस्कृतिको विषयमा कांग्रेस पार्टीलाई पढाइरहनुपर्ने जरुरी छैन’ उनले भने ।

शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको आरोप पनि शर्माले लगाए ।

‘जसले नेपालको सनातन धर्म, नेपालको परम्परा, नेपालका भिन्न भिन्न धर्म संस्कृतिको सम्मान आदि कुरा भन्दा भन्दा पर गएर एउटा निश्चित धर्मको प्रचारको सन्दर्भमा सरकारको संयन्त्र प्रयोग हुन्छ, प्रधानमन्त्री सहआयोजक जस्तो गरेर बस्नुहुन्छ, होटलमा गएर बस्नुहुन्छ होली वाइनको नाममा उल्लेख गर्न मिल्ने नमिल्ने कुरा ग्रहण गर्नुहुन्छ, उहाँहरुले नेपालको धर्म संस्कारको सन्दर्भ राख्नुपर्ने गम्भीर हेक्का राख्नुभएको छैन, त्यसमा हामीले विमती जनाएर हाम्रो दस्तावेजमा उल्लेख गरेका छौं’ उनले भने ।

‘कांग्रेसको विधान पछ्याउन नेकपा पनि बाध्य हुन्छ’

नेपाली कांग्रेसले आफ्नो विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने बताएका छन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले बैठकबाट पारित विधानलाई नेकपा र अन्य दलहरुले पनि पछ्याउने दावी गरेका हुन् ।

‘हामीले बनाएको विधानलई पछ्याउन कम्युनिस्ट पार्टी पनि बाध्य हुनेछ, उनले भने ‘संविधानमा भएका ब्यवस्था अरु राजनीतिक दलले व्यवस्थापन गर्नुअगाडि हामीले गरेका छौं । हामीले लागू गछौं अनि अरुले पछ्याउनेछन् ।’

कांग्रेसको विधानमा संविधानमा उल्लेखित ८ वटा जातीय क्लस्टर बमोजिम पदाधिकारी निर्वाचित गर्ने व्यवस्था गरिएको बताए । कांग्रेसको रुपान्तरणले अन्य दल र सिंगो देश लाभान्वित हुने पनि शर्माले बताए ।

अहिलेको सरकारप्रति नेपाली नागरिकलाई वितृष्णा भइरहेको भन्दै शर्माले महासमिति बैठकले कांग्रेसको भूमिका दह्रो र खरो बनाउने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment