Comments Add Comment

आमाहरुको संक्रमणकाल

परीक्षा सकेर परीक्षार्थीहरु हुरुरु बाहिर निस्किए । त्यही भिडमा थिइन् उनी पनि । हुलमा कलेजका केही साथी भेटिए । धेरै वर्षपछिको भेटमा ‘हाई हेलो’ पछि उनीहरु परीक्षाकै विषयमा केन्दि्रत भए ।

उभिएर कति कुरा गर्ने, केही क्षण नजिकैको चिया पसलमा बसेर आनन्दले गरिफने प्रस्ताव गर्‍यो कसैले । कोही बच्चा छाडेर आएकोले बस्न नभ्याउने, कोही छ महिना नपुगेको बच्चालाई दुध चुसाउन पुग्नैपर्ने, कोही चाही ६ महिनाको गर्भबाटै लात्तिले हानिरहेको भन्दै थिए । उनले पनि बच्चाहरु श्रीमानलाई छाडेर आएकी थिइन् ।

श्रीमानले के ख्वाउनु भयो होला ? छोरीलाई चिसो लागेर पेट दुखेको थियो, कस्तो भयो होला ? बाबुको होमवर्क बाँकी नै थियो, गराउनुभयो कि भएन ? आफूले के खाजा खानु भयो ? त्यही यसो निहुरिएर फोनबाट एकै सासमा सब कुरा सोध्न भ्याईन्, उनले । श्रीमानको कुराले ढुक्क बनायो ।

अब उनको मन भान्छामा पुग्यो । भान्छामा के-के छ, के-के छैन, एक पटक सर्सरी सम्झिइन् । ओेहो सबथोक सकिएको रहेछ । साथिहरुसंग हतारको भेट त सकियो, तर घर पुग्न ३० मिनेटको बाटो काट्नु छ । उनले बाटैको एउटा पसलमा पसेर नुनतेलदेखि बच्चालाई खाजासम्मका खरिदारी गरिन् ।

पसल बाहिर निस्केर सोचिन्- मासु नखाएको पनि धेरै दिनभयो, आज जाडो पनि छ, खसीको मासु लगेर तात्तातो खानु पर्ला… । सोच्दासोच्दै मुख रसायो । फेरी सोच्न थालिन्- तरकारी पनि कति महंगीएको ? तर, के गर्नु बाँच्नको लागि पनि खानै पर्‍यो । महंगीले पनि हामी जस्ताकै त हो ढाड सेक्ने । यो सरकारी जागिरले न मर्न दिन्छ न रमाएर बाँच्न । हामी दुबै जनाको जागिर छ र पनि महिना कटाउन गाह्रो पर्छ । एकजनाको मात्र जागिरले कसरी धानिएका छन् हँ मानिसहरु ? गाउँबाट शहर पसेका परिवारले डाडुपन्यू, आढ्ने-ओछ्याउनेदेखि घरभाडासम्मको जोहो गर्नै पर्‍यो ।

यस्तो सोच्दै आकाशिएकै भाउमा केही तरकारी पनि किन्दा उनको पर्समा ३०० रुपैयाँ मात्र बच्यो । अब खसीको तातो सुप खाने चाहना मारेर बोईलरको झोलले चित्त शान्त गर्नुपर्ने भयो ।

उनी घरभित्र पस्नासाथ दिनभरि छोडेका तीनवटा केटाकेटी झुम्मिए । आफ्नै त दुईटा मात्र हुन्, तर सासुससुराका बच्चा पनि आफ्नै बच्चा जत्तिको भएका छन् उसका लागि । त्यसमाथि श्रीमानलाई पनि बच्चालाई जस्तै स्याहारसुसार, मायाममता र अराईकराई गर्नु पर्छ । अझ बच्चालाई भन्दा बढी हेरचाह चाहिन्छ उहाँलाई । कहिलेकाहीँ बालबच्चा, घरव्यवहार, कार्यालय, पढाईको तनावले समय दिन नभ्याए ‘माया नगरेको, बेवास्ता गरेको’ भन्न थाल्नुहुन्छ । उनी मनमनै सम्झिन्छिन्- पुरुषहरु श्रीमतीमा आमाको गुण पनि खोज्छन् र, त्यसैले श्रीमतीले आमा पनि बन्नु पर्ने हुन्छ ।

अनि उनी पुलुक्क श्रीमानको मुखमा हेरेर मुसुक्कुराउँदै भान्सामा पस्छिन् । श्रीमान् भन्दा उनी बढी थाकेकी र भोकाएकी पनि छिन्, तर तीनवटा बच्चाको खुशीको अगाडि उनी भोक, तिर्खा सबै बिर्सन्छिन् । खाना बनाएर परिबार वरिपरी राखेर खाँदा दाल, भात, साग र बोईलरकै ग्रेभीमा पनि चौरासी व्यञ्जनको सन्तुष्टी पाउछिन्, उनी ।
सबै सुती सके, तर उसलाई निन्द्रा लागेन । चिसो रातमा पनि तिन पटक पानी खाई सकिन् । खै परीक्षा राम्रो गर्न सकिन, पढाईको लागि समय नै पुगेन छ । दिनभर अफिसको काम, विहान-बेलुका भान्साको काम, केटाकेटीको हेरचाह र उनीहरुको होमर्वक मै सकिन्छ । पढाईको लागि त १-२ घन्टा निकाल्न पनि हम्मे भयो ।

फेरी १-२ घन्टाको पढाईले कहाँ पुग्छ र ? अनि कसरी गर्न सकिन्छ वृत्ति विकास ? फेरी दिउसो भेटिएका साथीहरु सम्भिmन्छिन् । म मात्र हैन, अरु पनि त्यस्तै छन्, जो न करिअर त्याग्न सक्छन् न परिवार । न करिअरलाई पूरा समय दिन सक्छन् न त परिवारलाई । न जे छ त्यसैमा सन्तोष गरेर रमाउन सक्छन् न चाहे जस्तो उपलब्धी हाँसिल गर्न । उनी आफूजस्तै अरुलाई सम्झेर मन बुझाउँदै फेरी कोल्टे फेछिन् र निदाउँछिन् ।

कुनै कथाको पात्र जस्तो लाग्ने उनी समकालीन नेपाली समाजका कामकाजी महिलामध्ये एक हुन् । उनी जस्ता महिलाहरुलाई न विहान मर्निङवाक गर्ने फुर्सद हुन्छ न त पत्रपत्रिका पढेर समसामयिक घटनाबारे जान्ने समय । न अफिसमा पुस्तकहरु पढेर ज्ञान बढाउने समय छ न गुगल गर्ने फुर्सद । न बच्चालाई चाहिने भरपुर समय दिन पाएका छन्, न त परिवारले चाहेजति हेरचाह । न गाउँमा बुबाआमा र सासूससुरालाई फोन गरेर सञ्चोविसञ्चो सोध्ने फुर्सद छ, न आफन्तहरुको दुखसुखका कर्ममा सहभागी हुन भ्याउछन् । परिवारलाई समाए करिअर फुत्किने भय, करिअर समाए परिवार विग्रने चिन्ता । कसैलाई समाजभित्र असामाजिक हुने डर छ, कसैलाई सहकर्मीभन्दा पछाडि परिने त्रास छ ।

लामो राजनीतिक संक्रमणपछिको जनआकांक्षालाई यो दुई तिहाईको सरकारले चाहृयो भने फटाफट पुरा गर्दै जान सक्ला, तर अहिलेका महिलाका व्यक्तिगत, पारिवारिक, सामाजिक र करिअरसंग सम्बधित अन्योललाई तत्कालै छिमल्न सक्ने अवस्था छैन । हाम्रा आमा पुस्ताका महिलाहरुले बुबाहरुको आर्थिक नियन्त्रणमा रही पारिवारिक व्यवस्थापनको पाटो सम्हाल्नुभयो । वहाँहरुले हाम्रो पुस्ताको जस्तो पढाईको लागि, करिअरको लागि, बसाईसराई व्यवस्थापनको लागि, सामाजिक प्रतिष्ठाको लागि र देशविदेशका समसामयिक परिघटना बुझ्न, जान्न यति धेरै संक्रमण झेल्नु परेन होला र हामी पछिको पुस्ताले पनि झेल्नु नपर्ला ।

हाम्रो पुस्ताले आमाहरुले दिनुभएको संस्कारहरु पनि छ, जो छोड्न सकेका छैनौ । तिमध्ये कतिपयले परिवार र समाजमा महिला र पुरुषविचको विभेदलाई प्रोत्साहन गर्छ । हामी त्यसलाई नचाहेर पनि मानिरहेकै छौं । हामीले पछिल्लो पुस्ताको जीवन शैली पनि देखिरहेका छौं, जसलाई चाहेर पनि अंगाल्न सकिरहेका छैनौं ।

हामी सभा-सम्मेलनमा बोले जस्तै अनि सञ्चार माध्यम र सामाजिक सञ्जालमा लेखे जस्तै घरमा कहाँ गर्न सक्छौं र ? हाम्रो पुस्ताको बाल्यकाल छोरा र छोरीविचको विभेद देखेर, भोगेर बित्यो । शिक्षामा विभेद नभएपनि घरका काममा विभेद थियो, पढ्न पाउने, आराम गर्ने, खेल्ने कुरामा विभेद थियो । अन्य सुविधामा र स्वतन्त्रतामा विभेद थियो ।

आमासंग काममा गएर सगैं घर फर्केका बुबा खाटमा पल्टेर आराम गरेको र आमा गाईबस्तु र हामीलाई समेत स्याहार्दै भान्साको काममा खटेको हेर्दै हुर्केका हामी आज पनि अफिसबाट घर पुग्नासाथ छोराछोरीलाई डाइनिङ टेबुलमा होमवर्क गराउदै बैठक कोठामा टिभि हेर्न बसेका श्रीमानलाई चिया पुर्‍याएर खाना बनाउन थाल्छौं । अफिसबाट संगै फर्केका श्रीमानलाई हामी भन्न सक्दैनौं- कि खाना बनाउनुस् कि बच्चालाई होमवर्क गराउनुस् ।

न श्रीमानहरुले नै केमा सघाउँ भनेर सोध्छन् । सोधि हाले हामी भन्छौं- लौन त, होमवर्क गर्न सहयोग गर्नुस् । यो कस्तो औपचारिकता हो हाम्रो- सहयोग गरिदिनुस् भन्नु पर्ने, सहयोग गरिदिन्छु भन्नु पर्ने । हामीले यसो गर्नुस् भन्न नसक्ने, वहाँहरुले पनि त्यसो गर्छु नभन्ने ।

श्रीमानहरु पनि यही समाज, त्यही संस्कारबाटै आउनुभएको हो, दोष न वहाँहरुको हो न त हामीहरुको । दोष त हाम्रो लैंगिक विभेदपूर्ण समाजिक संरचना र संस्कारको हो ।

पछिल्लो राजनीतिक परिर्वतनले यस्ता विभेदपूर्ण सामाजिक संरचनाको कारणले पछि परेका वा पारिएका समुदाय, क्षेत्र र लिंगलाई देशको मूल प्रवाहमा ल्याउने नीति अनुरुप महिलाहरुको लागि अवसरका ढोका खोलेको छ । महिलाको लागि सरकारी सेवा प्रवेशको उमेर हद पनि ४० वर्ष छ । यद्यपि, यसमा लैगिंक समताको दृष्टिले विरोधाभाष छ । ४० वर्षमा सेवा प्रवेश गर्ने महिलाहरु निजामती सेवा ऐन, २०४९ अनुरुप पेन्सनबाट वञ्चित हुन्छन् ।

यो प्रावधानले महिलालाई ५ वर्षको समय बच्चा जन्माउन दिएको हो भने बालबच्चा जन्माएपछि उनको दायित्व सकिन्छ र ? बालबच्चाको स्याहारसुसार, शिक्षादिक्षा र वृत्ति विकासको लागि आमा चाहिदैन र ? जबकी, आमाले समय दिएका बच्चा र समय दिन नपाएका बच्चाको पढाईको स्तर र सिजनशीलतामा फरक पर्ने अध्ययनहरुले देखाएका छन् ।

एक अध्ययन अनुसार, दुई वर्षको उमेर सम्म बालबालिकाको ८० प्रतिशत मष्तिष्कको विकास हुने देखाएको छ । १५ वर्षपछि व्यक्तित्व विकासमा पनि आमाको साथ उत्तिकै महत्वपूर्ण हुन्छ । सरकारी स्तरबाटै बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको लागि ऐन तथा कार्यविधि बनेका छन् । स्थानीय तहहरुमा बालमैत्री स्थानीय शासन घोषणा गर्ने होड नै चलेको छ । देशभर ‘हजार सुनौला दिन’ कार्यक्रम लागु भएको छ ।

बालबालिकामा लगानी गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नु देशको लक्ष्य हो । परिवारहरुलाई पनि बालबालिकाको लागि समय निकाल्ने बनाउन सरकारले महिला कर्मचारीमैत्री कानुन बनाउन जरुरी छ ।

४० वर्षमा सरकारी सेवा प्रवेश गरेका महिलाले पेन्सन नपाउने व्यवस्था ठीक छ भने बालबच्चा हुर्काएर ५० वर्षसम्ममा पनि सेवा प्रवेश गर्न पाउने व्यवस्था गर्नुपर्छ । त्यसो गरे कुनै आमा उमेर हद गइसक्यो भन्दै न बालबच्चाको विचल्ली पारेर लोकसेवाको परिक्षा दिन मरिहत्ते गर्छन् न त सेवा प्रवेश पछि बालबच्चाप्रतिको जिम्मेवारीबाट चुक्नेछन् ।

साथै महिला कर्मचारीहरुको लागि सेवासुविधामा थप व्यवस्था र कार्यालय समयमा पनि लचिलो (हप्ताको ४० घण्टा पुग्ने गरी)हुन जरुरी छ । त्यो अवस्थामा उनीहरुले परिवार र कार्यालय व्यवस्थापनमा मन दिन पाउने छन् । परिवार विग्रने, वृत्ति विकासमा पछि परिने भयबाट टाढा रहनेछन् ।

देखेर भन्दा पढेर, पढेर भन्दा भोगेर सिकेको ज्ञान परिपक्क हुन्छ । भोगेर हाँसिल गरेको व्यवहारिक ज्ञानसहित जुनसुकै सेवा वा क्षेत्रमा प्रवेश गरेका महिलाहरु व्यवहारिक, नतिजामुखी र प्रतिष्प्रर्धी साबित हुनेछन् ।

घडिको सुई धेरै घुमिसक्यो, हिमालमा हिउँ धेरै पग्लिसक्यो, खोलामा पानी धेरै बगिसक्यो । बुबापुस्ताको कमाईमा हुर्केका महिलाहरुले आज आर्थिक उपार्जन गर्न थालेका छन् । अब हाम्रो पुस्ताका बुबाआमा दुबैले सबै क्षेत्रको जिम्मेवारी बराबरी लिन सक्नुपर्छ । दुबैको वृत्तिविकासमा दुबैजना सहयोगी बन्नुपर्छ । समाज विकासमा दुबैको सहभागिता बराबरी हुनुपर्छ । देश विकासमा पनि उत्तिकै योगदान दिनुपर्छ ।

आजका महिलाका लागि जिम्मेवारीको वोझ र चुनौति मात्र हैन, अवसर पनि उक्तिकै नजिक छ । अवसर त्यसलाई मात्र प्राप्त हुन्छ, जसलाई परिवारको पुरा साथ छ । सुखी जीवन र स्वस्थ समाजका लागि परिवार र वृत्ति विकास दुबै उत्तिकै महत्वपूर्ण छन् ।

कोही पनि सबै कुराले पूर्ण हुदैन । कोहीसंग धन छ, कोहीसंग विद्या । कोहीसगँ सफलता छ, कोहीसगँ परिवार । जसले जीवनका सबै पाटाहरुलाई समय दिएको छ, सबैलाई समान महत्व दिएको छ, उसैसगँ सबथोक छ । उही सुखी छ, खुशी र सन्तुष्ट छ । त्यहीँ छ, समृद्ध परिवार, सुखी सदस्य । त्यही आदर्श अवस्था हो- ‘समृद्ध नेपाल, सुखी नेपाली ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment