Comments Add Comment

चौधरी समूहको लगानी रहेको रुवाण्डाको होटल लिलाम

१० पुस, काठमाडौं । नेपालको चौधरी समूहसमेत साझेदार रहेको रुवाण्डाको एक होटल लिलाम भएको छ । रुवाण्डाको किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको होटल उम्बुवे सोमबार लिलाम भएको हो ।

पुरानै एक साझेदारले लिलामी बढाबढमा होटल एकलौटी बनाएका हुन् । मुकवानो समूहको अलिखान करमाली कै अर्को कम्पनी उम्बुआनो इण्डष्ट्रीले सबैभन्दा बढी मूल्यमा किनेको रुवाण्डाको समाचार अनलाइन द न्यू टाइम्सले लेखेको छ ।

समाचार अनुसार उम्बुआनो इण्डष्ट्रीले उक्त होटलका लागि ३ करोड ४० लाख ५३ हजार ८ सय ८८ डलर चुकाएको छ । स्रोतका अनुसार होटल किनेको उम्बुआनो इण्डष्ट्री साझेदार मुकवानो समूहकै हो ।

चौधरी समूह, मुकवानो समूहको अलिखान करमाली, रुवाण्डाकै निजी क्षेत्रको उद्योग संघका अध्यक्ष रोबर्ट बाफाकुलेबीच होटल सञ्चालन मोडालिटीबारे लामो समयदेखि विवाद हुँदै आएको थियो ।

साझेदारहरुबीच चौधरी समूहको जिंक ब्राण्डमा सञ्चालन गर्ने सहमति थियो । तर, अन्य दुई साझेदारले होटललाई हिल्टल समूहको डबल ट्रि ब्राण्ड अन्तर्गत सञ्चालन गर्न खोजेको चौधरी समूहको आरोप छ ।

साभेदारबीच विवाद गएर ऋण नउठ्ने देखि केसिबी बैंकले गएको सेप्टेम्बरमा रुवाण्डा विकास बोर्डलाई पत्र लेखेको थियो । बैंकले उठाउन बाँकी रहेको एक करोड ८० लाख डलर लिलामीबाट पाएको छ ।

अग्लो बिल्डिङ भएको यस होटलमा १५३ रुमहरु रहेका छन् । होटलमा ९ वटा स्वीट र बाँकी सबै सुपर डिलक्स रुमहरु हुन् ।

होटलको छत (टप)मा आकर्षक स्वीमिङ पुल बनाइएको छ । स्वीमिङ पुलको छेउमा रुफ टप रेष्टुरेन्ट रहेको छ । होटलको छतबाट किगाली शहर हेर्दै स्वीमिङ गर्न र खाना खान सकिन्छ ।

होटलमा दुईवटा ठूला सभाहल बनाइएको छ । जहाँ ठूला कार्यक्रमहरु आयोजना गर्न सकिने बताइएको छ । अन्य साना हलहरु पनि होटलमा रहेका छन् ।

अफ्रिकी मुलुकमा आफ्नो उपस्थिति देखाउन भन्दै चौधरी समूहले उक्त होटलमा लगानी गरेको थियो । तर, सञ्चालनमा आएको ६ महिना नबित्दै चौधरी समूह त्यहाँबाट बाहिरिनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment