Comments Add Comment

राजदूतको नियुक्तिः खुल्ला परीक्षाबाट

मुलुकका केही पदमा रहने व्यक्तिको अहृम भूमिका रहन्छ । तिनले मुलुकको इज्जत र प्रतिष्ठा उचो गर्नुका साथै मुलुकमा समृद्धि र विश्वमा मुलुकलाई चिनाउन सक्छन् । नेपाली जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास निर्माण, शान्ति सुरक्षा, आपसी सदभावमा महसुस हुने गरी बढोत्तरी गर्न सक्छन् । यस्ता महत्वपूर्ण पदमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मुख्यमन्त्री र स्थानीय सरकारका प्रमुख लगायत पर्दछन् । यी पदमा लोकतन्त्रको विश्वव्यापी मान्यता अनुसार जनताले मतदान गरेर पठाउँछन् ।

तर, यी बाहेक केही अरुपनि महत्वपूर्ण पद छन्, जसमा सरकारले वा परिषदले वा समितिले सिफारिस गर्ने र सरकारले नियुक्ति गर्ने परंपरा छ । यी पदमा ‘राईट म्यान इन द राईट प्लेस’ गर्न खुल्ला प्रतिस्प्रधा गर्नुको उत्तम विधि विश्वमै भेट्टिएको छैन ।

यसर्थ यस्ता महत्वपूर्ण पदमा नियुक्ति गर्न सरकारलाई सुझाव दिन एउटा शक्तिशाली एवं स्वतन्त्र नेतृत्व पहिचान केन्द्र खडा गर्नुपर्छ । यो ‘लिडरशीप एसिसमेण्ट सेन्टर’ ले महत्वपूर्ण पदमा नियुक्ति पदस्थापन र सरुवाका लागि सिफारिस गर्नेछ ।

यस पटक यो आलेखमा यस्तो नेतृत्व पहिचान केन्द्रले अबलम्बन गर्ने सूचकाङ्कसहित नेपालमा राजदूत नियुक्ति गर्न संचालन गर्नुपर्ने खुल्ला परीक्षा सञ्चालनको अवधारणा प्रस्तावित गरेको छु ।

राजदूतको खुल्ला परीक्षा

नेपालले करिब २० जनालाई राजदूतमा नियुक्ति गर्ने गरेको छ । यी सबै पदमा अबदेखि नियुक्ति गर्दा खुल्ला परीक्षा लिनुपर्छ । यस्तो खुल्ला परीक्षामा जो कोही सम्मिलित हुन पाउने उदार नीति लिनुपर्छ ।

राजदूत छनौटको लिखित परीक्षा करिब १० घण्टाको हुनुपर्छ । कम्तिमा १० ओटा प्रश्न सोध्ने र फरक-फरक उत्तर पुस्तिकामा १० वटा प्रश्नको उत्तर लेख्न लगाई फरक-फरक १० जना विज्ञले उत्तर पुस्तिका परीक्षण गर्नुपर्छ

परीक्षा लिँदा समग्र नेपाल बुझे नबुझेको पारख गर्ने प्रश्न सोधिनुपर्छ । यसैगरी नेपालको संविधान, कानून, राजनैतिक व्यवस्थाको व्याख्या, विश्लेषण गर्न योग्य भए नभएको विषयमा परीक्षा लिनुपर्छ । यसैगरी नेपालमा के कस्ता क्षेत्रमा वाहृय लगानी भित्र्याउन जरुरी छ । नेपालबाट के कस्ता वस्तु निकासी गर्न सकिन्छ । नेपालमा पैठारी गर्नै पर्ने वस्तु के के हुन् ? नेपाली विद्यार्थीले छात्रवृत्ति पाएर अध्ययन गर्नुपर्ने विषय र नेपाली युवाले वाहृय रोजगारीमा जाँदा पुग्ने लाभ-हानीको केस्रा केस्रा केलाउन सक्ने क्षमता, ज्ञान एवं भिजन भए नभएको परीक्षाबाट पहिचान गर्नुपर्छ ।

यसैगरी राजदूत पदको लिखित परीक्षा लिँदा विश्वमा उठिरहेका बिषयहरु बिशेष गरी मानव अधिकार, वातावरण संरक्षण, महिला सशक्तिकरण, दीगो विकासको अवधारणा लगायतमा प्रष्टता भए नभएको र विश्व रंगमंचमा तार्किक ढंगले मुलुकको पक्षमा वकालत गर्न सक्ने नसक्ने दक्षताको परीक्षण गर्नुपर्छ । समष्टीमा राष्ट्रप्रेमले ओतप्रोत भएको, नेपाल र नेपालीको समुज्ज्वल भविश्यका लागि योगदान गर्न सक्ने, नेपालको बहुलता, विविध जात, धर्म, भाषा, संस्कृतिको सम्मान गर्दै नेपाललाई एकताको सूत्रमा बाँध्न सक्ने सच्चा, खाटी नेपालीको पहिचान हासिल गर्न सकिने प्रश्न सोधिने र जाँचिने गरी लिखित परीक्षाको पाठ्यक्रम तय गरिनुपर्छ ।

राजदूत छनौटको लिखित परीक्षा करिब १० घण्टाको हुनुपर्छ । कम्तिमा १० ओटा प्रश्न सोध्ने र फरक-फरक उत्तर पुस्तिकामा १० वटा प्रश्नको उत्तर लेख्न लगाई फरक-फरक १० जना विज्ञले उत्तर पुस्तिका परीक्षण गर्नुपर्छ । यस्तो उत्तर पुस्तिका अर्को १० जनाले पुनःपरीक्षण गरी औषत अंक दिई उच्च अंक हासिल गर्ने १० जनालाई एउटा राजदूत पदका लागि प्रारम्भिक रुपमा छनौट गर्नुपर्छ ।

नेतृत्व पहिचान केन्द्रको भूमिका

नेतृत्व पहिचान केन्द्रमा मुलुकमै विशिष्ट नाम कमाएका, उच्च नैतिक चरित्र भएका, विद्वताले खारिएका, मेरो र पराई नभन्ने, समग्र राष्ट्रलाई माया गर्ने राजनीतिज्ञ, प्रशासक, लेखक, कानूनविद्, पर्यटनविद्, अर्थशास्त्री, समाजशास्त्री लगायतको टोली रहनुपर्छ । यस केन्द्रले लिखित परीक्षाको पाठ्यक्रम तयार गरी लिखित परीक्षा सञ्चालन गर्नेछ । हाल लोक सेवा आयोगले परीक्षा लिए सरह निस्पक्ष हुने गरी ‘कोडिङ्ग प्रणाली’ लगायत गोपनीयता र विश्वसनीयता अपनाउन सबै कार्य र चरणहरु नेतृत्व पहिचान केन्द्रले सम्पादन गर्नेछ ।

कृष्णहरि बास्कोटा

एउटा राजदूत नियुक्ति गर्न १० जना लिखित परीक्षाबाट उत्तीर्ण हुनेछन् । तिनको नाम केन्द्रले सार्वजनिक गर्नेछ । यसबाट आम जनताले ती व्यक्तिका बिषयमा आ-आफ्नो मत दिनेछन् । यसरी ‘क्राउड सोर्स’ बाट पनि सूचना हासिल गरी केन्द्रले अन्तर्वार्ता लिनेछ । अन्तर्वार्ताको परीक्षण १० वटा सूचकांकमा आधारित हुनु पर्नेछ ।

पहिलो कुरा, जुन मलुकको आवासीय राजदूत नियुक्ति हुने हो, सो मुलुक सुहाउँदो उम्मेदवार हेरिनुपर्छ । यसअन्तर्गत तत् मुलुकको भाषाको दक्षता, सम्बन्धित मुलुकको धर्म, संस्कृति, इतिहाससँग परिचित, तत् मुलुक सुहाउँदो व्यक्तित्व भएको व्यक्तिलाई १० पूर्णांकमा बिज्ञहरुले अंक दिनुपर्छ ।

दोस्रो कुरा, जुन मुलुकको आवासीय राजदूतका लागि सिफारिस गर्न लागिएको हो, तत् मुलुकमा निजले पढेका हुन् कि ? तत् मुलुकमा निजले जागिर खाएका थिए कि ? तत् मुलुकमा घुम्न गएका थिए कि ? नेपालमा रहँदा तत् मुलुकको दुतावास लगायतसँग निजको सम्पर्क थियो कि ? तत् मुलुकले निजलाई राम्रो वा नराम्रो कुन रुपमा लिएको छ वा लिनेछ भन्ने बिषयको विश्लेषणमा १० पूर्णांकमा बिज्ञहरुले अंक दिनुपर्छ ।

तेस्रो कुरा, राजदूतको लागि प्रस्तावित उम्मेदवार र तत् मुलुकबीच व्यवसायिक क्षमताको दक्षता छ/छैन हेर्नुपर्छ । पठाउन लागिएको मुलुक के कुराका लागि प्रख्यात छ ? पर्यटनका लागि, खानी उद्योगका लागि, हात हतियारका लागि, विद्युतीय सामाग्रीका लागि, विद्युत शक्तिका लागि, दुग्ध पदार्थका लागि, यस्ता कुराको पहिचान गरी राजदूतमा पठाउन लागिएको व्यक्तिमा तत् क्षेत्रको प्राबिधिक ज्ञान भए नभएको विषयमा अर्को १० पूर्णांकमा मूल्याकंन गरी बिज्ञहरुले अंक दिनुपर्छ ।

चौथो कुरा, राजदूतमा पठाउन लागिएको व्यक्तिको व्यक्तित्व कस्तो छ ? शारीरिक तन्दुरुस्ती दुरुस्त छ/छैन ? बोली बचन नम्र वा रुखो के छ ? अनुहार हँसिलो वा घोप्टे अनुहार के छ ? पोशाक कस्तो लगाउँछन् ? कुरा गर्दा सकारात्मक ढंगले थालनी गर्छन कि नकरात्मक ढंगले ? हाउ भाउ कटाक्ष के कस्तो छ ? यस कुराको पारख गरी अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

१० वटा सूचकाङ्कमा कम्तिमा ५ जना नेतृत्व पहिचान केन्द्रका विज्ञले दिएको अंकलाई औसतमा ल्याई उच्च अंक पाउने ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरी पठाउनुपर्छ । साथै सरकारलाई निर्णय गर्न सहजताका लागि ती तीन जना उपर गरिएको सबै पक्षको विश्लेषण पनि पठाइदिनुपर्छ

पाँचौं कुरा, राजदूतमा खटिई जानेको पारिवारिक परिवेशको पनि मूल्याङ्कन गर्नुपर्छ । श्रीमान वा श्रीमती छुट्टिने भै पटक पटक नेपाल आई रहने वा दुतावासको फोन प्रयोग गरिरहने स्थिति छ कि ? केटाकेटी हुर्किदै गरेकाले छात्रबृत्ति खोज्नुपर्ने अबस्था छ कि ? आमा-बा बृद्ध भै साथमै लैजानुपर्ने छ कि ? घरमा कोही बिरामी परेका वा मुद्दा मामिलामा फसेका कारण ती कुरामा ध्यान दिनु पर्ने छ कि ? यसरी प्रस्तावित राजदूतको उम्मेदवारको समष्टिगत पीआर (पब्लिक रिलेशन) समेतको विश्लेषण गरी अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

छैठौँ कुरा, राजदूतमा जाने व्यक्तिको खानपिनको पनि मूल्याङ्कन गर्नुपर्छ । निज कत्तिको मदिरा पारखी छन् । चुरोट पिउने कुरामा चेन स्मोकर हुन् कि ? खैनी, तम्बाखूको लत छ कि ? कतै लागू पदार्थमा केही हदसम्मका दुर्व्यसनी पो हुन् कि ? शाकाहारी वा मांसाहारी के हुन् । त्यसमा पनि अत्यधिक साकाहारी छन् कि ज्यादै मांसाहारी छन् कि ? अल्प भोजनवाला हुन कि खानाका सौखिन हुन् ? चिया दिएपछि छिनमै पिई सक्छन् कि समय लगाउँछन् ? बिहान बेलुकी व्यायाम गर्ने, पूजा गर्ने, भजन गर्ने, ध्यानमा रहने वा अध्ययनमा रहने कस्तो लत छ ? यी कुराको विश्लेषण गरी अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

सातौँ कुरा, विभिन्न भाषाको दक्षता, तर्कको दक्षता, बोल्ने र लेख्ने दुवै कुरा चल्छ/चल्दैन, सञ्चार माध्यमसँग भिजेका छन्/छैनन् ? कतै लेख्दा, बोल्दा पूर्व तयारी गर्ने बानी छ/छैन । अर्काले बोलेको कुरा टिपोट गर्छन गर्दैनन् । कागज कलम वा ल्यापटप वा अन्य उपकरण के बढी प्रयोग गर्छन् ? यी कुराको मूल्याङ्कन गरी अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

आठौँ कुरा, सृजनशीलता, मिलनसारिता, उत्प्रेरणा गर्ने सीप, नेतृत्व लिने क्षमता, कार्यालय सञ्चालन सीपको पारख गर्नुपर्छ । सबैलाई मिलाएर लैजान सक्ने, आफै काममा खटिन सक्ने, घाम पानी नभन्ने, भोक र सुर्ता नमान्ने प्रकृतिका छन्/छैनन् ? यस्को मूल्याङ्ककन गरी अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

नवौँ कुरा, जुन मुलुकको आवासीय राजदूत बनाएर पठाउन लागिएको हो, त्यस मुलुकमा के कस्तो प्रकृतिको नेपाली समुदाय छ । सो समुदायसँग पठाउन लागिएको मानिस मेल खान्छ/खाँदैन । सो मुलुकमा रहेका गैरआवासीय नेपालीलाई मिलाएर लैजान सक्ने कौशलता छ/छैन । यी कुराको मूल्याङ्ककनमा अर्को १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

दशौँ कुरा, समष्टिमा राष्ट्रको हित हेर्न सक्ने/नसक्ने, मुलुकको प्रतिष्ठा राख्न सक्ने/नसक्ने, नेपालीको शीर उच्च गर्न सक्ने/नसक्ने, बत्तीसै लक्षणको गुणयुक्त नभए पनि एकतीस वा तीस गुण छन्/छैनन्, समष्टिगत मूल्याङ्ककन गरी १० पूर्णांकमा विज्ञहरुले अंक दिनुपर्छ ।

यसरी १० वटा सूचकाङ्कमा कम्तिमा ५ जना नेतृत्व पहिचान केन्द्रका विज्ञले दिएको अंकलाई औसतमा ल्याई उच्च अंक पाउने ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरी पठाउनुपर्छ । साथै सरकारलाई निर्णय गर्न सहजताका लागि ती तीन जना उपर गरिएको सबै पक्षको विश्लेषण पनि पठाइदिनुपर्छ । यस्तो अन्तर्वार्ता आधादिनको हुनेछ । यसरी ३ जनामध्ये जसलाई सरकारले राजदूत पदमा नियुक्ति गरे पनि मुलुकको भलो हुने कुरा घाम जत्तिकै छर्लङ्ग छ ।

अरु कुन-कुन पदमा परीक्षा लिने ?

प्रस्तावित नेतृत्व पहिचान केन्द्रबाट परीक्षाकै माध्यमबाट संवैधानिक निकाय तथा आयोग, समितिमा पदाधिकारी नियुक्ति गर्नुपर्छ । साथै सहसचिवमा पदस्थापन र सरुवा गर्दा पनि आबश्यक्तानुसार नेतृत्व पहिचान केन्द्रले परीक्षा लिने र योग्य व्यक्तिलाई सिफारिस गर्नुपर्छ ।

सो केन्द्रले एकपटक तयार गरेको रोष्टरबाट एक वा दुई वर्षसम्म सिफारिसलाई निरन्तरता दिन सकिन्छ । क्रमशः बिभागका महानिर्देशक र प्रमुख जिल्ला अधिकारी जस्तो पदमा पनि पदस्थापन र सरुवा गर्दा नेतृत्व पहिचान केन्द्रको सिफारिस लिनुपर्छ ।

यसैगरी सरकारी संस्थानमा महाप्रबन्धकको नियुक्ति लगायतमा पनि परीक्षा लिनु पर्छ । यस प्रणाली लागू गरेमा ‘राईट म्यान इन राईट प्लेस’ हुने कुरा ग्यारेण्टी गर्न सकिन्छ । यसरी नियुक्ति भएका व्यक्तिले आम नेपालीलाई सन्तुष्टि दिएर राष्ट्रको उत्कृष्ट सेवा गर्नेछन् । निजको मनोबल उच्च हुनेछ । कसैको निगाहमा पद नपाएको, क्षमताले पाएको भन्ने भावनाले ओतप्रोत हुनेबित्तिकै व्यक्तिले दिने ‘डेलिभरी’ बर्तमानको तुलना आकास-पातालको फरक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment