Comments Add Comment

सौराहामा आजबाट १५ औं हात्ती महोत्सव

११ पुस, चितवन । यतिबेला देशका विभिन्न भागमा मेला महोत्सवहरु आयोजना भैरहेका छन् । हिउँदको यो सिजनमा एक किसिमको लहर नै आउँछ मेला महोत्सवहरुको । तर, चितवनको पर्यटकीय केन्द्र सौराहामा हरेक वर्ष अजंगको जनावर हात्ती महोत्सव आयोजना गर्ने गरिन्छ । त्यसको १५ औं संस्करण चितवनको सौराहामा आजबाट सुरु हुँदैछ ।

‘फिस्टे’ मानिस र अजंगको हात्तीसँग जोडेर आयोजना गरिएको महोत्सव पृथक छ । सौराहालाई हात्तीको राजधानीसमेत भन्ने गरिन्छ । पुस ११ गते १५ गतेसम्म ५ दिनसम्म सौराहाको बाघमारा चौरमा हुने हात्ती महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । उनको स्वागतका लागि सौराहालाई ‘दुलही’ जस्तैं सिगारिएको छ ।

नेपाली सेनाको सुरक्षा दस्ता तीन दिन अघिदेखि नै सौराहा क्षेत्रमा खटिएको । सुरक्षा व्यवस्था मजबुत छ । राष्ट्रपति भण्डारी आज सौराहामा नै बस्ने कार्यक्रम तय भएको छ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष यही समयमा आयोजना हुँदै आएको छ ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १५ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित र वृद्धि गर्ने रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले अनलाइनखबरसँग बताए । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटकहरु स्वदेश फर्कने भएकाले उनीहरुलाई सौराहामा नै रोक्नका लागि हात्ती महोत्सव गर्ने गरिएको हो ।

पछिल्ला वर्षहरुमा विदेशी पर्यटकभन्दा पनि बढी स्वदेशी पर्यटकहरु हात्ती महोत्सवमा आउने गरेका छन् । नयाँ वर्ष मनाउन निहुँ पारेर आउने स्वदेशी पर्यटकहरु पनि हात्ती महोत्सवमा रमाउने गर्दछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले हात्ती महोत्सवमा सौराहामा अपेक्षा गरेअनुसार पर्यटकहरु नआएपनि आउने क्रम भने हरेक बर्ष बढ्दै गएको बताए ।

रेष्टुरेन्ट एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष गोकर्ण गिरी हात्ती महोत्सवमा बढी मात्रामा नै पर्यटकहरु आउने गरेपनि कतिपय बास बस्ने गरि नआउने हुँदा त्यसको गणना कम भएको बताउँछन् ।

महोत्सवका संयोजकसमेत रहेका क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले एक सयभन्दा बढी हात्ती बथान भएर एकैपटक पिकनिक खाइरहेको आलौकिक दृश्य हात्ती महोत्सवमा मात्रै देख्न पाइने भएकाले यस्तो अवसर गुमाउन नहुने बताउँछन् ।

हात्तीसँग जोडिएका विभिन्न खेल सम्वन्धी गतिविधीहरु सौराहामा अन्य समयमा नहुने र हात्ती महोत्सवको बेलामा मात्रै हुने हुँदा पर्यटकहरु आँखैबाट यस्ता दृश्य निकाल्न आउनुपर्ने अध्यक्ष घिमिरको तर्क छ ।

महोत्सवको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड छ भने संरक्षक रत्ननगर नगरपालिका रहेको छ ।

के–के हुन्छ हात्ती महोत्सवमा ?


मुख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधी हेर्ने उद्देश्यले नै मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।

आन्तरीक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै हात्तीहरुको संरक्षण र महत्व बुझाउन गरिने महोत्सवमा हात्तीहरुको बनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् ।

हात्ती फास्ट वाक प्रतियोगितामा २० हात्ती, हात्ती पोलोमा चार टिम, हात्तीका छावाहरु बीचको रोचक फुटबलमा चार टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्ती सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा आठ हात्ती फुटबल खेल्दैछन् । पाँच छावा चितवन निकुञ्जका छन् । एउटा टिममा चार छावा राखिन्छ । यसपटकको महोत्सवमा आठवटा छावाले चार टिम बनेर खेल्नेछन् । गएको वर्ष फुटबल र हात्ती पोलोका लागि एउटै हात्ती प्रयोग गर्ने गरिएकोमा यस वर्ष फरक–फरक हात्ती सहभागिता गराइने छ ।

हात्ती बनभोज कार्यक्रममा १ सय हात्ती सहभागी बन्ने छन् । हात्तीको उपचारका लागि हात्तीका विशेषज्ञसमेत परिचालन गरिने आयोजकले जनाएको छ ।

सौराहामा ५७ वटा निजी हात्ती छन् । तिमध्ये ७० प्रतिशत हात्ती महोत्सवमा सहभागी हुनेछन् । त्यसमा अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् । गत वर्षबाट हात्ती बाथिङ (नुहाउने) कार्यक्रम थप गरिएको छ । ‘हामीले हात्ती मैत्री खेलहरु मात्रै राखेका छौं, हात्तीलाई कष्ट दिने कुनै उद्देश्य छैन र चाहदैनौं पनि,’ महोत्सवका प्रवक्ता रहेका संयोजक भट्टराईले भने, ‘छावाको फुटबलमा, बनभोज कार्यक्रममा हात्ती रमाएको पाउँछौं, हात्ती र माहुतेका बीचमा कनेक्सन राम्रो हुन्छ ।’

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले हात्ती महोत्सवमा यसपटक कवि गोष्ठी थप गरिएको जानकारी दिए । देशका प्रतिष्ठित २५ जना कविहरुलाई सौराहामा ल्याएर ‘चितवन काब्य यात्रा’ पर्यटन र सौराहाका विषयमा उत्प्रेरणा गरिने उनले बताए ।

हात्ती महोत्सवको उदघाटनका अवसरमा २ जना संरक्षणकर्मी र २ जना पर्यटन व्यवसायीलाई सम्मान गरिने क्षेत्रीय होटल संघ नेपाल चितवनका प्रथम उपाध्यक्ष एवम् महोत्सवका प्रवक्ता दीपक भट्टराईले बताए । भट्टराईका अनुसार संरक्षणतर्फ चितवन राष्ट्रिय निकुञ्जका पूर्व सहायक वार्डेन नुरेन्द्र अर्याल र पुरुषोतम पाण्डे तथा पर्यटन व्यवसाय तर्फ अमरमान शाक्य र हरिहर शैजुलाई सम्मान गर्न लागिएको हो ।

हात्ती महोत्सवमा अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता पनि हुन्छ । २०६७ सालबाट चितवनमा बन्द गएको अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितालाई १३ औं संस्करणको हात्ती महोत्सवमा समावेश गरिएको हो । हात्तीपोलोमा चार टिम सहभागी हुनेछन् । यसअघि होटल टाइगर टप्सले पश्चिम चितवनको मेघौलीमा अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक पहिचान झल्कने स्टलसहित २५ वटा स्टल राखिएको छ ।

महोत्सव शुरु हुनुअघि चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्‍यालीले सौराहाको परिक्रमा गर्नेछ । र्‍यालीमा भजन–कीर्तन, बाजागाजाका साथै थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

हात्ती दौडबाट हात्ती महोत्सव


२०६० सालताका कोरीयामा बसेका एक नेपाली सौराहा आए । सौराहाको पर्यटन व्यवसायलाई माथि उठाउन उनले हात्ती दौड प्रतियोगिता गर्न सुझाए । पहिलो बर्ष २०६० सालमा उनकै योजनामा हात्तीको लावालस्कर बनाएर सँगसँगै हिँडाउने र राप्ती नदी तारेर पहिलो वर्ष अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता आयोजना गरियो । त्यसबेला सौराहामा निजी हात्ती १६ वटा थिए । केही हात्ती निकुञ्जसँग माग गरियो । निकुञ्जले पनि सहयोग गरेको क्षेत्रिय होटल संघ सौराहाका पूर्वअध्यक्ष गिरीधारी चौधरीले जानकारी दिए । त्यतिबेला निकुञ्जका र निजी हात्ती गरी ३० वटा हात्ती दौडका लागि प्रयोग भएका थिए ।

अर्को वर्ष हात्ती दौडका लागि भनेर हात्तीहरुलाई दौडाउन डोरी टाँगेर ट्र्याक बनाइयो । तर, हात्तीहरु ट्र्याकमा दौडिन सकेनन् । ट्र्याक भत्काएर एउटा हात्तीको पछाडि अर्को हात्ती गएर बसे । सीधा दौडन सकेनन्, मानेनन् ।

तेस्रो वर्षमा हात्ती दौड अगाडि नै सँगसँगै दौडाउने अभ्यास गराइयो । सो वर्ष व्यवसायीहरुले चाहेजस्तै गरी हात्तीहरु सँगसँगै दौडिए ।

छैटौं संस्करणअघिसम्म अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता दशैंलगत्तै हुन्थ्यो, अर्थात कार्तिक महिनामा । छैटौं अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगितापछि यसको समय परिवर्तन गरेर पुस ११ गते ल्याइएको हो ।

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारी सौराहा आएका बिदेशी पर्यटक सौराहा नै खाली गराए हिँड्थे । उनीहरु कि त आफ्नै देश फर्कन्थे अथवा नेपालमै बसेपनि ठूला शहरमा गएर क्रिसमस र नयाँ वर्ष मनाउने गर्दथे । यो समयमा सौराहामा बसाइँ लम्बाउन उनीहरुका लागि यो तरिका निकालिएको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष गिरीधारी चौधरी बताउँछन् ।

तर, यसले आन्तरीक पर्यटक बढाए पनि बिदेशी पर्यटक खासै बढाउन नसकेको ब्यवसायीहरु स्वीकार गर्छन् । ‘फुड फेष्टिबल र हात्ती महोत्सवले पर्याप्त आन्तरीक पर्यटक बढे पनि विदेशी पर्यटक बढ्न सकेनन्,’ चौधरीले भने, ‘अब यो समय पनि बदल्नुपर्दछ भन्ने सोच छ ।’

‘हात्ती दौड’ प्रतियोगिताको नाम १० औं संस्करणबाट परिवर्तन गरी ‘हात्ती महोत्सव’ राखियो । आयोजकको भनाइअनुसार हात्तीसँग सम्वन्धित अन्य गतिविधिहरु जस्तै हात्तीका छावाहरुको फुटबल, हात्तीको श्रृंगार, बनभोज जस्ता कार्यक्रम थप भएपछि यसको दायरा पनि फराकिलो भएको हो ।

संरक्षणकर्मीहरुले हात्ती दौडाउने प्रतियोगिताले जनावरहरुको अधिकार हनन् भएको आवाज उठाएपछि व्यवसायीहरु पनि दबावमा परे । र यसको नाम परिवर्तन गरेर हात्ती महोत्सव बनाए । हात्ती दौडलाई नाम परिवर्तन गरेर हात्तीको फास्टवाक प्रतियोगिता राखिएको छ । यो हात्ती महोत्सवको एउटा विधा बन्यो । आगामी वर्ष हात्तीसँग सम्वन्धित अन्य कार्यक्रमहरु पनि थप गर्ने गरी तयारी भैरहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । ‘हात्तीसँग सम्वन्धी ३–४ वटा कार्यक्रम हामी थप गर्दैछौं’ अध्यक्ष घिमिरेले भने, ‘त्यसका लागि हात्तीहरुलाई अहिलेबाट नै तालिम गराइरहेका छौं, त्यसपछि पर्यटकहरुका लागि हात्ती महोत्सव अझै रोचक बन्छ ।’

हटे टाँगा, गाडा र डुंगा दौड

हात्ती महोत्सवमा विगतमा वर्षमा समावेश गर्दै आएका टाँगा दौड, गाडा दौड र डुंगा दौड प्रतियोगितामा १६ औं संस्करणपछि हटाइएको छ । व्यवस्थापनमा असहजता भएको र हात्ती महोत्सव हात्तीमा केन्द्रित गर्नका लागि दौड प्रतियोगिता हटाइएको आयोजकको भनाइ छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले कतिपय प्रतियोगीहरुले गाडा दौडमा सहभागी गराइने गोरुहरुलाई रक्सी समेत खुवाएर ल्याउने गरेको पाइएको बताए । ‘यसले झनै अस्वस्थ प्रतिस्पर्धा र दुर्घटना गराउने खतरासमेत देखियो,’ अध्यक्ष घिमिरेले भने, ‘व्यवस्थापनमा पनि असहज भयो, त्यसैले हटाइयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment