Comments Add Comment

स्थायी कमिटीमा प्रचण्डको जवाफ, सरकारको रक्षा र प्रचारमा लाग्न आग्रह

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको बचाऊ र प्रचारमा एकतावद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

पार्टी स्थायी कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले सरकारको रक्षा र प्रचारमा दृढतापूर्व उभिन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका हुन् ।

पार्टी स्थायी कमिटीका सदस्यहरुले राजनीतिक प्रतिवेदनमाथि उठाएका प्रश्नको जवाफ दिँदै उनले बैठकमा व्यक्त विचार, सुझाव र आलोचनालाई समावेश गर्दै सो प्रतिवेदनलाई परिमार्जन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

स्थायी कमिटीका सदस्यहरुले राखेको विचार, सुझाव र आलोचनालाई समेत समावेश गरेर राजनीतिक प्रतिवेदनलाई पूर्णता दिने प्रतिवद्धता प्रचण्डले व्यक्त गरेका पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रचण्डले पार्टी स्थायी कमिटीको जारी बैठकले पार्टीलाई एकतावद्ध मात्रै बनाउने नभई सरकारलाई सफल बनाउन पनि बलियो आधार प्रदान गरेको पनि दावी गरे ।

बैठकमा पार्टी नेतृत्वले गरेको गल्ती औंल्याउने काम समेत स्थायी समिति बैठकमा भएको भन्दै त्यसलाई सच्याउँदै अघि बढ्ने प्रचण्डले बताएका नेता श्रेष्ठले जानकारी दिए । मंसिर २९ गतेबाट जारी पार्टी स्थायी समितिको बुधबारको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठाइएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएका हुन् ।

बिहीबार बस्ने बैठकमा राजनीतिक प्रतिवेदनमाथि राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिनेछन् । बैठकले सो राजनीतिक प्रतिवदेनलाई परिमार्जन गर्न आवश्यक कार्य दल बनाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबारको बैठकमा अध्यक्ष प्रचण्डले सदस्यहरुले दिएको विचार, सुझाव र आलोचनाको सकारात्मक पक्षलाई समावेश गर्दै प्रतिवेदनलाई परिमार्जन गर्न कार्य दल बनाउन सकिने प्रस्ताव गरेका थिए ।

स्थायी कमिटीको जारी बैठकमा नेताहरुले जनताको अपेक्षा अनुसार काम नगर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । उनीहरुले पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेकोमा पार्टी नेतृत्वप्रति असन्तुष्टि पनि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment