+
+
Shares

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ११ गते १८:५४

११ पुस, काठमाडौं । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हुने लागेको पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा यही पुष १३ गतेदेखी १७ गतेसम्म अर्थात डिसेम्बर २८ देखी जनवरी १ सम्म हुँदैछ । बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेवान पोखराका अध्यक्ष बुधराज भुजेलले जानकारी दिए ।

आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणका साथै प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए ।

पोखरालाई ‘अगंेजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ । महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रमा हुने रेवानले जनाएको छ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने भुजेलले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने रेवान पोखरा अध्यक्ष बुधराज भुजेलले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिनेछन् ।

त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने रेवान पोखराका महासचिव गणेशबहादुर थापाले जानकारी दिए । यसैगरी सडकमा मिनि स्टेजका रुपमा ट्रक राखेर लाइभ कन्सर्ट आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच ट्रे रेस प्रतियोगितालगायतका खेलकुदका कार्यक्रम पनि रहेको रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

सडक महोत्सवले नेपालमा रहेका विदेशी पनि क्रिसमस र नयाँ बर्ष मनाउन भारतको गोवा जाने प्रचलनलाई रोकेर नेपालमै बस्ने र विदेशीपनि क्रिसमस र नयाँ वर्ष मनाउनका लागि पोखरा आउने वातावरण बनाएको रेवान पोखराका सल्लाहकार सूर्यबहादुर भुजेलले जानकारी दिए ।

आतिसबाजी गर्ने तयारी
उनले न्यू इयर इभमा आतिजसबाजी गर्ने तयारी भइरहेको जानकारी दिए । यद्वपी उच्च अदालत पोखरामा आतिसबाजी रोक्न माग गर्दै रिट दायर भएकाले हुने नहुने निश्चित नभएको बताए ।

‘आतिसबाजी हेर्नकै लागि हजारौं मानिस न्यू इभका दिन महोत्सव स्थल आउँछन्, तर उच्च अदालतमा रिटमै परिसकेकाले हुन्छ नै भन्ने छैन, अदालतले जे आदेश दिन्छ त्यो हामीलाई स्वीकार्य छ, हामी अदालतको आदेशको प्रतिक्षामा छौं’, उनले भने ।

उनले अदालतले सकारात्मक आदेश दिने र आतिसबाजी गर्न पाउनेमा आफूहरु आशावादी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?