Comments Add Comment

भारतीयको अवरोधले एक वर्षदेखि ठुटेखोला पुल प्रयोगविहीन

१४ पुस, चितवन । भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन ।

पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो जोडिन नपाउँदा प्रयोगविहीन बनेको हो ।

ठोरी गाउँपालिका–२ र ३ वडा जोड्ने १०२ मिटर लामो ठुटेखोलामा पुल बनेको एक वर्ष भइसक्दा पनि स्थानीयवासी खोलाकै बाटो प्रयोग गर्न बाध्य छन् ।

नहरको पानीको विषयमा पटक–पटक भारतीय र नेपालीबीच झडप हुने गरेको स्थानीयवासी रबीन तिमल्सिनाले बताए । नेपाली भूमि भएर बगेको खोलामा नेपालीले बाँध बाँधेर कुलोमा पानी लैजाँदा भारतीय बाँध भत्काउन आउने गरेको तिमल्सिनाको भनाइ छ । नेपालले माथिल्लो एउटा बाँधबाट र भारतले तल्लो दुई बाँध बनाएर पानी लगेको छ ।

ठोरी–केरुङ हुलाकी मार्गअन्तर्गतको ठुटेखोला पुल भएर ठोरी गाउँपालिका वडा नंं ३ सुवर्णपुर हुँदै वीरगञ्जसम्म जान सकिन्छ । ठोरी भन्सारबाट सानाठूला गरी दैनिक करीब १०० गाडी आवतजावत गर्ने गरेको ठोरी निर्मलबस्ती सामुदायिक वन उपभोक्ता समितिअन्तर्गतको चोरी सिकारी नियन्त्रण समितिका संयोजक पिताम्वर सिलवालले बताए ।

ठुटेखोला पुलबाट भारततर्फको करीब ३० मिटरमा नेपाल–भारत सीमा पिल्लर रहेको छ । तर, भारतले भने पुलभन्दा भित्र आएर बाँध बनाई वर्षौदेखि पानीको प्रयोग गर्दै आएको छ । यहाँको पानीले भारतको भिखनाठोरी, डुम्मरवाना, जमुनिया, भवानीपुरसम्मको क्षेत्रमा सिँचाइ पुगेको छ । ठुटेखोला पुल हुलाकी मार्गअन्तर्गत पर्ने भएकाले पानीको कुलोमा ह्युमपाइप राख्न नमिल्ने भएकाले पुल सञ्चालनमा समस्या आएको सिलवाल बताउँछन् ।

दुवै देशलाई समस्या पर्ने भएकाले समाधानको मध्यमार्गी बाटो खोजी भइरहेको ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिए । ‘पुल चलाउनका लागि नहर पुर्नुपर्ने भए पनि पुर्न सहज नभएकाले बाटो रोकिएको हो’, उनले भने, ‘नहर पुर्दा भारतलाई समस्या पर्छ, नपुर्दा पुल सञ्चालनमा समस्या आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment