१४ पुस, काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भईरहेको बताएका छन् । शनिबार काठमाण्डौमा भएको क्यान फेडरेसनको २५ औ वाषिर्क साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नविन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरे ।
विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारालाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए । उनले सरोकारित र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे ।
डिजिटल नेपालको लक्ष पुरा गर्ने सन्र्दभमा केही अप्ठ्याराहरु सिर्जना हुने गरेको उल्लेख गर्दै उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बतए । सिलौटे युग पार गर्दै अहिले मन्त्रीपरिषद् बैठक कम्युटर प्रणालीबाट संचालन गर्ने अवस्थामा आईसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पुरा गरेरै छाड्ने दाबी गरे ।
सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उनले उल्लेख गरे । त्यसका लागि सरकारले नीजी क्षेत्रसंगको सहकार्यलाई प्राथमिकता दिने उनले बताए ।
कार्यक्रममा उद्योगवाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजना गरिदिनुपर्ने बताए ।
उनले लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने दाबी गरे । क्यान फेडेरेसनले सरकारले सहयोग गरे ७ सय ५३ वटै स्थानीय तहलाई प्रविधि मैत्री बनाउन सकिने बताएको छ ।
प्रतिक्रिया 4