Comments Add Comment

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौंः बालकृष्ण खाँण

१५ पुस, बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई प्रतिपक्ष यहाँ छ भनेर देखाइदिने बताएका छन् । त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने बताए ।

५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट कार्यान्वयन गर्ने, विभिन्न मन्त्रालयका अधिकार प्रधानमन्त्री कार्यालयमा केन्द्रित गर्ने, बाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितता, निर्मला पन्त हत्या प्रकरण लगायतका विषय उठाएर चालु संसदमा सशक्तरुपमा आवाज उठाउने उनको भनाइ छ ।

अहिलेको सरकार संसदीय शासन व्यवस्थाप्रति प्रतिबद्ध नरहेको आरोप लगाउँदै उनले भने, ‘अब प्रतिपक्ष यहाँ छ भनेर देखाउने बेला आएको छ ।’

प्रधानमन्त्री र मन्त्रीहरुका अभिव्यक्ति संविधानविपरित र गैरजिम्मेवार रहेको भन्दै खाँणले सरकारलाई सच्चिन सुझाव दिए । धेरै अवसर पाउँदा पनि सरकारले राम्रो काम गर्न नसकेको भन्दै उनले ओली-प्रचण्डको सरकार नाच्न नजान्ने र आँगनलाई दोष दिनेजस्तै रहेको टिप्पणी गरे ।

लोकतान्त्रिक पद्धती बन्दुक र बारुद पड्काएजस्तो नभएको भन्दै खाँणले दुई तिहाइ बहुमतको सरकारले लोकतन्त्र बिरोधी काम गरिरहेको आरोप लगाए ।

मुख्यमन्त्री र सभामुखको अनिच्छाले प्रदेश राजधानी तोक्न ढिलाइ

मुख्यमन्त्री र सभामुखको अनिच्छाका कारण प्रदेश ५ ले स्थायी राजधानी र नामाकरण तोक्न नसकेको बताएका छन् । प्रेस यूनियन रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाटमा खाँणले मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्ती बुटवललाई प्रदेश राजधानी बनाउने पक्षमा नभएकाले ढिलाई भएको बताए । ‘उहाहरुलाई अर्को चुनाव बिग्रन्छ भन्ने लागेको छ, त्यसैले बुटवलको हावापानी ठीक लाग्दैन उहाँहरुलाई,’ खांणले भने -‘उहाँहरुको कार्यकालसम्म प्रदेशले स्थायी राजधानी र नामाकरण पाउँदैन जस्तो लाग्न थाल्यो ।’

अन्तर्राष्ट्रिय विमानस्थल, सडक पूर्वाधार सबै हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त भएको खांणको तर्क छ । बुटवलबाट अन्यत्र सार्न दुई तिहाइ चाहिने तर मुख्यमन्त्री र सभामुखले दुई तिहाइ पुर्‍याउन नसक्ने हुँदा प्रदेश सभाले पनि बुटवललाई नै स्थायी राजधानी तोक्ने खाँणले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment