१५ पुस, काठमाडौं । वैदेशिक रोजगारीका लागि आजदेखि जनकपुर र बुटवलबाट पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको छ ।
श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा शुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रीत गरी सरल र सहज बनाउन प्रदेशस्तरबाटै श्रम स्वीकृति प्रदान गर्ने योजना रहेको मन्त्रालयको भनाइ छ ।
जनकपुर र बुटवलमा रहेका प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरि सेवा दिन थालिएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।
प्रारम्भिक चरणमा यी कार्यालयहरुबाट पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम ति कार्यालयहरुबाट हुनेछ ।
विस्तारै अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयहरुबाट पनि सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ । ‘गण्डकी प्रदेशको मूकाम पोखरामा लगभग तयारी सकिएको छ । यसै सातादेखि सबै प्रदेशबाट सेवा थाल्ने मन्त्रालयको तयारी छ’, स्रोतले भन्यो ।
हाल सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको छ ।
संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रीकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयकाे भनाइ छ ।
प्रतिक्रिया 4