Comments Add Comment

अदिती भन्छिन्–‘नेपाली फिल्म अहिले गर्दिनँ, फरहानको वेव सिरिज गर्दैछु’

नेपाली चलचित्र ‘कृ’बाट चर्चा पाएकी नायिका अदिती वुढाथोकी अहिले मुम्बइमा छिन् । उनले यो चलचित्रबाट राम्रै चर्चा पनि पाइन । तर, अदितीले त्यसपछि भने नेपाली चलचित्रमा काम गरेकी छैनन् । अदिती अहिले भारतमा रहेर म्यूजिक भिडियो, विज्ञापनमा व्यस्त छिन् ।

उनै, अदितीले बलिउडका चर्चित कलाकार फरहान अख्तरको ब्यानरबाट बन्न लागेको एक वेव सिरिजमा काम गर्दैछिन् । अनलाइनखबरसँग कुराकानी गर्दै अदितीले भनिन्–‘हो, म फरहान अख्तरको निर्माणमा बन्न लागेको सिरिज गर्दैछु । यसको छायांकन सुरु भैसकेको छ । मेरो छायांकन भने सुरु भएको छैन ।’

उनले अहिले नै सम्पूर्ण कुरा खुलाउन नमिल्ने बताइन् । भनिन्–‘अहिले नै सबै कुरा खुलाउन मिल्दैन । तर, मैले काम गर्ने पक्का हो । यसैका लागि म २ दिन नेपाल बसेर मुम्बई फर्किएकी हुँ ।’ यो सिरिजलाई फरहान अख्तर र रितेश सिदवानीले मिलेर बनाउँदैछन् । सिरिजको नाम ‘इनसाइड एज २’ हो । यो सिरिजले क्रिकेट र मोडलिङको कथालाई बोल्नेछ । सिरिजमा मुख्य भूमिकामा बलिउडका नायक विवेक ओवराय देखिदैछन् । अदितीले आफ्ना लागि एउटा महत्वपूर्ण प्रोजेक्टको रुपमा ‘इनसाइड एज २’ रहेको बताइन् । यो सिरिजमा अदिती मोडलको भूमिकामा देखिन लागेको वुझिएको छ ।

नेपाली फिल्म गर्ने पक्का भएको छैन

यसैविच, नेपाली मिडियामा नायिका वुढाथोकीले एभरेष्ट सूर्य बोहराको निर्देशनमा बन्न लागेको चलचित्र ‘हेल्लो जिन्दगी’मा काम गर्ने पक्का भएको खबर सार्वजनिक भैरहेको छ । तर, अदितीले आफूले अहिले कुनै नेपाली चलचित्रमा काम गर्ने पक्का नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्–‘मैले सूर्य दाइलाई भेटेकी हुँ । तर, उहाँले मलाई अर्को कुनै प्रोजेक्ट गरेको खण्डमा काम गर्नुपर्छ मात्र भन्नु भएको थियो । मैले कुनै चलचित्रमा काम गर्ने फाइनल गरेकी छैन । हेल्लो जिन्दगी को हो मलाई थाहा छैन ।’

अदितीले तत्काल कुनै नेपाली चलचित्रमा काम नगर्ने बताइन् । उनले आफू फरहान अख्तरको वेव सिरिजमा मात्र अहिले काम गर्न तयार भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment