Comments Add Comment

महालक्ष्मी लाइफले पायो लाइसेन्स, सीईओमा भट्टराई नियुक्त

१७ पुस, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बीमा समितिले सञ्चालन अनुमति दिएपछि भट्टराईलाई ४ वर्षे कार्यकालका लागि सोमबारदेखि नै लागु हुने गरी कम्पनी सञ्चालक समितिले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भट्टराई नेपाली बीमा कम्पनी इतिहासकै पहिलो नेपाली सीईओ हुन् । उनी ३ दशक अघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओ भएका थिए । भट्टराई भन्दा अघि कुनै पनि नेपाली बीमा कम्पनीको सीईओ भएका थिएनन् ।

बीमा कम्पनीको पहिलो सीईओ भट्टराई नेपाल लाइफ साथै एशियन लाईफ इन्स्योरेन्सको समेत पूर्व सीईओ हुन् । बैंक तथा वित्तीय क्षेत्रमा ३५ वर्ष विताइसकेका उनी महालक्ष्मी फाइनान्स हुँदै महालक्ष्मी विकास बैंकको समेत सीईओ भइसकेका छन् ।

तत्कालिन महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्टको सफल मर्जर गराएर उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । बैंकिङ तथा बीमा क्षेत्रमा राम्रो अनुभव भएका भट्टराईले वाणिज्य विषयमा स्नातकोत्तर र कानूनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

यता महालक्ष्मी लाइफ लामो समयदेखि सञ्चालन अनुमतिको पर्खाइमा रहेको संस्था हो । करिब २ वर्षअघि नै बीमा समितिले सञ्चालनका लागि प्रारम्भिक सहमति प्रदान गरे पनि तोकिएको समयमा पुँजी पुर्‍याउन नसकेको भन्दै अन्तिम स्वीकृति भने समितिले दिएको थिएन । केही समय अघिमात्रै अर्थमन्त्रालयले समेत अनुमति नदिनु भनेर बीमा समितिलाई पत्र काटेको थियो ।

बीमा समितिले सञ्चालन अनुमति नदिए पछि महालक्ष्मी सर्वोच्च अदालतसम्म पुगेको थियो । सर्वोच्चले अनुमति नरोक्नु भन्ने आदेश दिएपछि बीमा समितिले बाध्य भएर केही दिन अघिमात्रै स्वीकृति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment