Comments Add Comment

विदेशिने र विदेशिएका श्रमिकको गुनासो सुन्न सिंहदरबारमै ‘सहायता केन्द्र’

१९ पुस, काठमाडौं । सरकारले वैदेशिक रोजगार सम्बन्धी सबै गुनासो सुन्न सहायता कक्ष (कल सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । यसअघि स्थापना भएका हेल्प डेस्क प्रभावकारी नभएपछि सिंहदरबारभित्रै आधुनिक प्रविधिसहितको सहायता केन्द्र सञ्चालनमा ल्याउन लागेको हो ।

सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै कामका लागि विदशिने र विदेशिन चाहने नोपाली समस्याको सुनुवाई गर्न डेस्क स्थापना गर्न तयारी अन्तिम चरणमा पुर्‍याइएको हो । यो सहायता कक्षमा फोनबाट मात्रै नभएर फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट पनि उजुरी दर्ता गर्न सकिनेछ ।

श्रम मन्त्री गोकर्ण बिष्टले प्रभावकारी रुपमा हेल्प डेस्क सञ्चालन गर्नुपर्ने निश्कर्ष निकाल्दै मन्त्रालय रहेको भवनमै सहयोग केन्द्र राख्न लागेका हुन् । पछिल्लो समयमा विदेश जाने क्रममा र विदेशमा रोजगारीकै क्रममा अनेक कारण दुःख भोग्ने र अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ ।

सहायता केन्द्र स्थापना भएपछि विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोनमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्नेछन् । यसैका आधारमा सरकारले आवश्यक सहयोगका लागि पहल तथा उद्धारका लागि प्रक्रिया अघि बढाउनेछ ।

सरकारले यसअघि वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगारीमा गएकाहरुले समस्या सुन्न छुट्टै डेस्क स्थापना गरेको पनि त्यो प्रभावकारी रुपमा सञ्चालन भएन । कामदारको सहयोगका लागि स्थापना भएको उजुरी सुन्ने धेरै संयन्त्र अहिले निस्क्रिय छन् ।

नेपाल प्रहरीले हटलाइनमार्फत वैदेशिक रोजगारीका गुनासो र उजुरीको सुनुवाइ गरिरहेको छ । तर, उद्धारका लागि प्रहरीसँग स्रोतको अभाव छ । उसले ठगीका उजुरीमा मात्र पीडितलाई सहयोग गर्न सक्छ ।

उनकाअनुसार अब केही समयभित्र विभागमा स्थापना हुने डेस्कबाट विदेशमा दुःख भोगिरहेकाहरुको गुनासो औपचारिक रुपमा दर्ता गरेर आवश्यक सहयोग गरिने मन्त्री बिष्टले बताए । यस्ता उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गर्नेछ । अनलाइनमार्फत उजुरी दर्ता हुनासाथै सम्बिन्धक अधिकारीलाई इमेल र मोबाइलमा नोटिफिकेशन जाने गरी सफ्टवेयर विकास गरिँदैछ ।

म्यानपावर र दलालहरुले नक्कली भिसामा लगेर छोड्नेदेखि आश्वासनभन्दा फरक र जोखिमयुक्त प्रकृतिको काममा लगाएका कारण धेरै नेपालीहरु विदेशमा समस्यामा पर्ने गरेका छन् । काम छोड्ने, काम गर्न नसक्ने लगायत रोजगारदाताले यातना दिएका कारण कारण अलपत्र पर्नेहरु पनि उल्लेख्य छन् ।’विदेशमा ठगिएर र विभिन्न कारण अलपत्र हुने क्रम निकै बढ्यो । उनीहरुलाई गुनासो कहाँ सुनाउने भन्ने अन्यौल भएपछि हेल्पडेस्क स्थापनाको तयारी गरेका हौं’ बिष्टले भने ।

सहायता केन्द्रमा विदेशबाट फोन गर्दा पैसा नलाग्ने गरी टोल फ्रि नम्बर राखिनेछ । विदेशबाट नेपालीको गुनासो अभिलेखीकरण गरेर आवश्यक उद्धार प्रक्रिया थालिहाल्ने योजना बनाइएको छ ।

यसैगरी सो डेस्कलाई नेपालमा विदेशिने क्रममा युवाहरुले भोग्नु परेका समस्यको पनि सुनुवाई गरिनेछ । अहिले पनि थुप्रै नेपालीले विदशेबाट श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागको र त्यहाँका अधिकारीका मोबाइलमा उद्धारको आग्रह गर्दै फोन गर्ने गरेका छन् । तर, त्यसको सुनुवाई भने राम्रोसँग हुन सकेको छैन ।

श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।

विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनुपर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् । यसैगरी फ्रि भिसा कामदारसँग भनिएपनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ ।

यस्ता समस्यामा पर्नेहरुलाई अब सरकारी तबरबाट सहयोग दिने गरी सहायता केन्द्र स्थापना गर्न लागिएको मन्त्रालय बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment