Comments Add Comment

दलाल पुँजीवाद र भ्रष्टाचारः विश्वका १७ ठूला केस

हरेक नेता वा कर्मचारीको आदर्शवादी वाक्य बनेको छ भ्रष्टाचार नियन्त्रण शब्द नसुन्ने वा नबुझ्ने सायद कोही छैन होला । देशमा विकास भएन, घुस कमिशन बढ्यो, कालोबजारी बढ्यो, सिन्डिकेट व्याप्त छ,  नेताहरु भ्रष्ट भए, कर्मचारीहरु घुस नलिई काम गर्दैनन् जस्तै अन्य नैराश्यताका वाक्यहरु आम जनताबाट सधैं सुनिने गर्दछन् ।

वास्तवमा भ्रष्टाचार कुनै एक अमूक समाज वा मूलुकको रोग नभई विश्वव्यापी भयावह क्यान्सर रोग हो । बिकसित देशमा जनता टाठाबाठाँ हुने र सरकार संचालनको उपयुक्त प्रणाली हुने हुँदा विकसित देशको तुलनामा बिकासोन्मुख र अविकसित देशमा बढी भ्रष्टाचार हुन्छ । अझ दलाल पुँजीवादी अर्थव्यवस्था भएका मुलुकमा भ्रष्टाचार नै हुँदैन भन्दा पत्याउन गाह्रै हुन्छ ।

विकासोन्मख मुलुक राज्यको ढुकुटीको नियन्त्रण दलाल कमिशन एजेन्टको हातमा रहने हुँदा भ्रष्टाचारको स्वरूप फरक र अदृष्य हुन्छ । नीतिगत, विधिगत र मिलिभग रुपमा राज्यको ढुकुटी स्वाहा हुँदै गइरहेको आम नागरिकलाई पत्तोसमेत हुँदैन । विश्वका विभिन्न मुलुकका राष्ट्रपति, प्रधानमन्त्री लगायत मन्त्रीहरु र उच्चपदस्थ कर्मचारीहरुलाई सत्ता पदमुक्तपश्चात लाग्ने अभियोगबाट यस कुराको पुष्टी गर्न सकिन्छ ।

अर्जुन भण्डारी

भ्रष्टाचार एक भयानक र डरलाग्दो स्वेत: अपराध हो । भ्रष्टाचार, सत्ता र कानूनी शक्ति सम्पन्न पदाधिकारीसँगको मिलेमतोमा हुने गर्दछ । सानातिना बील मिलाउने, सानातिना घुस लिने दिने जस्ता पेटी करप्सन सानो सानो एकाइ वा व्यक्तीगत रुपमा हुन्छ भने ठूला ठूला ग्रान्ड पोलिसी करप्सन एक्लै हुन सक्तैन र यसमा राज्यका कानुनी वैधताप्राप्त शक्ति सम्पन्न सार्वजनिक पदाधिकारी, निकाय वा कुनै अमुक समूह र दलाल एजेन्टको प्रत्यक्ष सलंग्नता रहने गर्दछ ।

निजी क्षेत्र बजारमा हुने भ्रष्टाचार फरक प्रकृतिको हुन्छ । निजी बजारमा विचौलिया समेतको मिलेमतोमा कर छली, कालोबजारी, मानव बेचबिखन, तस्करी, सिन्डिकेट, कार्टेलिङ, अधिक मूल्यवृद्धि जस्ता माध्ययमबाट अनौपचारिक बजारिया छायाँ अर्थतन्त्र खडा गरी राज्यको औपचारिक अर्थतन्त्र कमजोर भई मूलत: सरकार कमजोर बन्दै जान्छ ।

त्यस्तै सरकारी क्षेत्रमा राज्यका पदासिन सार्वजनिक लाभको पदमा रहेका पदाधिकारीकै हातमै राज्यको अर्थव्यवस्था संचालन गर्ने कानूनी बैधता साँचो प्राप्त हुँदा बिचौलिया समेतको सलंग्नतामा खरिद बिक्री, टेन्डर, पूर्वाधार निर्माण संचालन, कन्सल्टेन्सी आदि माध्ययमद्वारा मनोमानी रुपमा ठूलो रकम राज्यकोषबाट दुरूपयोग भई अर्थतन्त्रमा नकारात्मक असर परिरहेको हुन्छ ।

पछिल्लो समयमा क्राइसिस स्टेट्स रिसर्च सेन्टरले प्रकाशित गरेको असफल राष्ट्रको सूचीमा नेपाललाई सावधानी अपनाउनुपर्ने वर्गमा राखेको छ । यी तथ्यहरूले नेपालको गिर्दो अवस्थाको संकेत गरिरहेका छन् तर, विडम्बना हाम्रा नीति निर्माताहरू र कानुन कार्यान्वयनको वैधता प्राप्त गरेका कर्मचारी तथा पदाधिकारीहरु गम्भीर भएको अवस्था देखिँदैन । नेपालमा भ्रष्टाचार मौलाउदै जानुको मुल कारणमा घूसलाई न्यून पारिश्रमिकको बोनसका रूपमा लिने कर्मचारीको गलत प्रवृत्ति, बजार व्यापारीका लागि कर छल्ने, कालो बजार कार्टेलिङ्ग र सिन्डिकेटसहित बजार कब्जा गरी रातारात धनी बन्ने अस्त्र र राजनीतिक दल र नेताका लागि ‘पार्टी कफर’ भर्ने बहाना भएको छ ।

मानिसको मुख्य उत्प्रेरक भनेकै व्यक्तिगत स्वार्थ र लोभ हुन् । नैतिक मूल्यलाई कम महत्त्व दिने हाम्रो जस्तो समाजको संस्कृति पनि भ्रष्टाचार बढाउनमा प्रमुख भुमिका खेलिरहेका छन् । पदमा हुँदा राम्रो बन्दोबस्त गर्न नसक्नेलाई ‘हुतिहारा’ को संज्ञा दिने हाम्रा समाजका छिमेकीहरु भ्रष्टाचारका लागि त्यतिकै बढी जिम्मेवार रहनुपर्छ । पछिल्लो समयमा नेता र उच्च पदस्थ कर्मचारीहरुमा बिचौलिया भ्रष्टलाई काखी च्याप्ने र राजनीतिक पेशालाई कमाउ पेसाको रूपमा उपयोग गर्ने गलत प्रवृत्ति बढ्दै गएको छ  ।

ठूला भ्रष्टाचारहरु माथिल्ला तहका राजनीतिक नेतृत्व र उच्च तहका कर्मचारीहरूबाट नै हुन्छ । नीतिमा सानोसानो परिवर्तन गरेर यिनीहरू अमूक वर्गका हितमा काम गर्न सक्ने सामर्थ्य राख्छन् ।

दलका नेताका लागि भ्रष्टाचार एक उपयोग फण्ड नाम दिएर स्वेत: भ्रष्टाचार गर्ने राम्रो र अति उत्तम बहाना त छँदै छ त्यस्तै कर्मचारीका लागि पनि घर चलाउने र छोराछोरीलाई उच्च शिक्षा पढाउने राम्रो बहाना हुने गर्दछ । उदाहरणका लागि पदमा पुगेका सबैको  जीवनस्तर हेर्दा छर्लङ्गै हुन्छ ।

राजनीति गर्न घरखेत गर्ने नेताहरू कति छन् र बाउबाजेको सम्पत्ती नबेची काठमाडौंमा घर ठड्याउने कर्मचारी कति छन् नेपालमा ? यसलाई सहजै हिसाबको आकार निर्माण गर्न सकिन्छ किनभने नेपाल सानो छ । बरु अबको डर भनेको ‘क्लिप्टोक्रेसी’ तिर देश जाने हो कि भन्ने पनि छ । यसले यस्तो शासनलाई अर्थ्याउँछ, जहाँ शासक र उच्च पदाधिकारीहरूको पहिलो लक्ष्य पदीय सत्ता र शक्ति व्यक्तिगत लाभका लागि धन आर्जनमा लगाउनु भन्ने हुन्छ ।

विश्वका १७ ठूला र चर्चित भ्रष्टाचार केसहरु

विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा देखिएको छ जसलाई त्यहाँ पनि राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाइँदैन । क्लिप्टोक्रेसीसँग जोडिएका विश्वका ठूला भ्रष्टाचार काण्डबाट हामी नेपालीले पक्कै भ्रष्टाचार कसरी हुँदो रहेछ भन्ने विषय राम्ररी बुझ्न सक्छौं ।

१‍. निकागुराका राष्ट्रपति आर्नल्डो आलेमनलाई ५ वर्षको सत्ता अवधिमा सरकारी कार्ड व्यक्तिगत खर्च प्रयोजनमा प्रयोग गरेको, इटली हनिमुनमा रहँदा प्रतिदिन २६ हजार डलर राज्यकोषको रकम खर्च गरेको, विदा लिई पत्नीसँग भारत भ्रमणमा रहदा प्रतिदिन ६९ हजार डलर खर्च गरेको र राज्यकोषबाट रकम दुरूपयोग गरी व्यक्तिगत कम्पनीमा लगानी गरी १ अर्ब डलर हिनामिना गरेको आरोपमा सन् २००९ मा अदालतद्वारा २० वर्षको जेल सजाय सुनाईयो ।

२. युक्रेनका प्रधानमन्त्री पाब्लो लजर्नेलाई १ वर्षको सत्ता अवधिमा राज्यकोषको दुरूपयोग गरी अमेरिकाको सेल कम्पनी मार्फत पोल्यान्ड, स्वीजरल्यान्ड, अन्टेगुवाका विभिन्न कम्पनीमा लगानी गरेको, स्वीस बैकमा रकम जम्मा गरेको लगायत २ अर्ब डलर हिनामिना आरोपमा सम्पती शुद्वीकरण र वायर फ्रड केशमा सन् २००९ मा ८ वर्ष जेल सजाय सुनाईयो ।

३. पेरूका आदर्शवादी राष्ट्रपति अल्वर्टो फुजीमोरीलाई १० वर्षको सत्ता अवधिमा सार्वजनिक कोषबाट ६ अर्व डलर रकम हिनामिना गरेको आरोपमा सन् २००९ मा ७ वर्ष जेल सजाय सुनाइयो ।

४. हैटीका युवा राष्ट्रपति जीन क्लाउडलाई स्वीस बैकमा व्यक्तिगत जम्मा गरेको, नार्कोटिक व्यापारमा लगानी गरेको लगायत राज्यकोषबाट ८ अर्ब डलर हिनामिनाको आरोपमा सन् २०११ मा ८ वर्षको जेल सजाय सुनाईयो ।

५. सर्वियाका राष्ट्रपति स्लोबाडेन मिलासेविकलाई ११ वर्ष सत्ताको अवधिमा युद्वताका सत्ता र शक्तिको दुरूपयोग गरी राज्यकोष हिनामिना गरी क्रिप्टो कम्पनी मार्फत स्वीजरल्यान्ड, जर्मनी, फ्रान्स, रूस, चीन जस्ता देशमा १ अर्ब डलर लगानीको आरोपमा सन् २००६ मा भ्रष्टाचार अभियोग लगाइयो ।

६. ट्यूनिसियाका राष्ट्रपति जीन अल अविदिनलाई २३ वर्ष सार्वजनिक पदमा रहदा सत्ता र शक्तिको दुरूपयोग गरी राज्यकोषको रकम व्यक्तिगत ५५० निजी सम्पत्ती, ४८ डुङ्गा, ४० शेयर कम्पनी, ४०० उधोगमा लगानी र ४६७ वटा बैक खातामा रकम जम्मा लगायत ३ अर्ब डलर हिनामिनाको आरोपमा भ्रष्टाचार अभियोग लगाईयो ।

७. नाइजेरियाका राष्ट्रपति सैनिक शासक सानी अवाचालाई सत्तावधि ५ वर्षको अवधिमा राज्यकोषको ५ अर्ब डलर रकम दुरुपयोग हिनामिना गरी विदेशी कम्पनीहरुमा लगानी गरेको भनी सन् १९९८ मा भ्रष्टाचारको अभियोग लगाइयो ।

नेपालमा  भ्रष्टाचारको अर्को विशेषता के देखिन्छ भने यो तहगत सोपानमा तलदेखि माथिसम्म अर्थात पेलिकन डक प्रणालीमा बाँधिएको देखिन्छ । संकलन केन्द्रहरूबाट संकलित रकम तहगत रूपमा वितरण हुने कुशल संयन्त्र मिलाइएको देखिन्छ

८. अफ्रिकाका विग म्यान भनेर चिनिने कंगोका राष्ट्रपति मोबोटु सेसे सेकोलाई कार्यरत ३२ वर्ष सत्तावधिमा राज्यकोषको रकम ५ अर्ब डलर रकम हिनामिना गरेको आरोपमा सन् १९९७ मा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

९. फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसलाई २१ वर्षे शासनवधिमा राज्यकोषबाट १० अर्ब डलर अपचलन गरी व्यक्तिगत लाभका लागि निजी कम्पनीहरुमा लगानी गरेको आरोपमा सन् १९९० मा १२ वर्षको जेल सजाय सुनाइयो ।

१०. इन्डोनेसियाका राष्ट्रपति मोहम्मद सुहार्तोलाई कुल सत्तासिन अवधि ३१ वर्षमा राज्यका ७ वटा च्यारिटी कोषबाट ३५ अर्ब डलर रकम दुरुपयोग गरी निजी लाभका लागि प्रयोग गरेको आरोपमा सन् २००७ मा भ्रष्टाचारको मुद्दा लगाइयो ।

१२. निकागुराका पूर्ब राष्ट्रपति आर्नेडो आलेमनलाई सन् २०१२ मा १ अर्ब डलर रकम राज्यकोषबाट हिनामिना दुरुपयोग गरेको आरोमा भ्रष्टाचार मुद्दा लागेको थियो ।११. दक्षिण कोरियाका राष्ट्रपति लिम्यूङ्ग ज्याकोव जुमालाई सन् १९९९ मा उप राष्ट्रपतिको प्रदेशमन्त्री हुँदाको कार्यकालमा हातहतियार खरिद सम्झौतामा २ अर्ब डलर घोटाला भ्रष्टाचारको अभियोगमा १५ वर्ष जेल सजाय सुनाइएको थियो ।

१३. दक्षिण कोरियन नेता तथा पूर्व पहिलो कोरियन महिला राष्ट्रपति पार्क गिउन हेइलाई सत्तासिन समयमा पदीय दुरुपयोग गरी १८ वटा विभिन्न कम्पनी स्थापनाको डिलहरुमा छोरीलाई समेत उपयोग गरी १७ लाख अमेरिकी डलर घुस लिएको आरोपमा  २०१८ अप्रिलमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

१४.  मलेसियाका पूर्व उपप्रधानमन्त्री अहमद जाहिद हमिदीलाई ४५ वटा केशमा राज्यकोषबाट २७.५ लाख डलर दुरुपयोग हिनामिना गरेको आरोपमा २०१८ अक्टोबरमा भ्रष्टाचार मुद्दा लगाइएको छ ।

१५. मलेसियाका पूर्ब प्रधानमन्त्री नाजिब रजाककी पत्नी  रोसमा मन्सुरलाई मलेसियमा विधालय लगायत विभिन्न परियोजना मिलाउन र विभिन्न कम्पनीहरु स्थापना गर्दा १ अर्ब २५ करोड रिङरेट अर्थात २ लाख ९८ करोड डलर घुस लिएको आरोपमा २०१८ नोभेम्वरमा भ्रष्टाचार अभियोगमा मुद्दादायर गरिएको छ ।

१७. पाकिस्तान विपक्षी पार्टीका नेता शेहवाज सरिफलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री हुँदा आशियना नामको हाउजिङ् प्रोजेक्टलाई कम मुल्य लागतमा पास गरी भ्रष्टाचार गरेको आरोपमा २०१८ अप्रिलमा पक्राउ गरी मुद्दा अभियोजन गरिएको छ । उनका दाजु पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाफ सरिफलाई सन् २०१७ मा भ्रष्टाचार मुद्दामा पाकिस्तान उच्च अदालतले १० वर्षको जेल सजाय सुनाइसकेको छ ।१६. चिनियाँ कम्युनिष्ट पार्टीका सी जिनपिङ् पछिका प्रभावशाली उच्च नेता सन जेङ्काइलाई सन् २००२ देखि सन् २०१७ सम्म १७ लाख अमेरिकी डलर विभिन्न कम्पनी स्थापना गर्ने क्रममा घुस लिई उक्त रकम चीन वाहिरका विभिन्न देशका बैकमा जम्मा गरेको आरोपमा २०१८ अप्रिल १२ मा जन्मकैदको सजाय सुनाइयो ।

भ्रष्टाचारको स्वरुप र भ्रष्टाचारीका प्रकार

ठूला भ्रष्टाचारहरु माथिल्ला तहका राजनीतिक नेतृत्व र उच्च तहका कर्मचारीहरूबाट नै हुन्छ । नीतिमा सानो सानो परिवर्तन गरेर यिनीहरू अमूक वर्गका हितमा काम गर्न सक्ने सामर्थ्य राख्छन् । नीति निर्माण तहमा रहेकाबाट नै भ्रष्टाचार हुने र अदृष्य भ्रष्टाचार हुने हुँदा यसको अनुसन्धान प्रकृयामा बढी जटिलता नै हुन्छ । तर खुला र  सानो स्केलको भ्रष्टाचार प्रायः जनतालाई प्रत्यक्ष रुपमा सेवा दिने कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरूबाट हुने गर्छ । यस्तो प्रकारको घुस तथा भ्रष्टाचारमा डिस्काउन्ट रेटको बढी प्रयोग हुन्छ । यस्तोमा घूसको रकम ठूलो नभए पनि सीधै जनताको खल्तीबाट अतिरिक्त रकम जाने हुँदा आम नागरिकको चर्को आलोचना हुन्छ  र भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूको कारबाहीमा पनि यिनै पर्छन् ।

नेपालमा  भ्रष्टाचारको अर्को विशेषता के देखिन्छ भने यो तहगत सोपानमा तलदेखि माथिसम्म अर्थात पेलिकन डक प्रणालीमा बाँधिएको देखिन्छ । पेलिकन डकले दिउँसोभरि साना माछाहरू आफ्नो घाँटीमा जम्मा गर्छ र बेलुका मालिकले माछा ओकल्न लगाउँछ । त्यस्तै संकलन केन्द्रहरूबाट संकलित रकम तहगत रूपमा वितरण हुने कुशल संयन्त्र मिलाइएको देखिन्छ ।

अर्थतन्त्रलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने आधारसित जोडेर हेर्ने हो भने राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ । त्यसैले मुलक बिकास गर्ने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन

भ्रष्टाचार गर्ने भ्रष्टाचारीहरु पनि विभिन्न चरित्र प्रकारका हुन्छन् । पहिलो प्रकारका जुवाडे खालका हुन्छन् । यस्ता भ्रष्टाचारीहरु अवैधरूपमा धन कमाउन जस्तोसुकै जोखिम लिन तयार हुन्छन्  र बजारीया दलालहरुसँग साथ हुन्छ । दोस्रो प्रकारका भ्रष्टाचारीहरू बढी जोखिम लिन चाहँदैनन्  र जे जति हुन्छ चित्त बुझाउँछन् । यिनीहरु प्रत्यक्ष देखिन चाहँदैनन् र सञ्जालमा केही मात्रामा जोडिन रुचाउँछन् ।  तेस्रो प्रकारका भ्रष्टाचारीहरू बढी निपुण खेलाडी हुन्छन् । यिनीहरू बजार कार्यालय कतै देखिँदैनन् र बार्गेनिङ्गको लागि विश्वासिलो संयन्त्रको प्रयोग गर्दछन्  ।

स्पष्ट रुपमा भन्ने हो भने नेपाल भ्रष्टाचारको गहिरो भासमा परिसकेको छ । नेता, कर्मचारी मात्र होइन निजी क्षेत्र र गैरसरकारी क्षेत्र सबै यसको चक्रब्युहमा फसिसकेका देखिन्छन् । भ्रष्टाचार नियन्त्रण विना वा सुशासन कायम विना देशले काँचुली फेर्ला भन्ने आशा गर्न सकिँदैन । यो क्यान्सरजस्तै फैलिएकाले समयमै निराकरण नगर्ने हो भने देश असफल राष्ट्रमा भासिने सम्भावना रहन्छ ।

भ्रष्टाचार नियन्त्रणमा सराहनीय काम गरेका मलेसिया, सिंगापुर र हङकङजस्ता मुलकबाट शिक्षा लिनु आवश्यक छ ।  सन् १९६० सम्म भ्रष्ट देशको सूचीमा रहेको हङकङले भ्रष्टाचार नियन्त्रण गर्ने निकाय आईसीएसीको गठनपछि शुन्य सहनशिलतामा आधारित तीन रणनीति- ‘दण्ड, निरुत्साहन र शिक्षा’ अवलम्बन गरी ठूलो उपलब्धि हासिल गर्न सक्यो । उसले साना भ्रष्टाचारमा भन्दा ‘ठूला बाघ’हरूलाई कारबाही गर्नेमा जोड दियो । त्यस्तै सिंगापुरको सीपाआईबीले तलब वृद्धिका साथै निगरानी, जिम्मेवारी हेरफेर, हटलाइन आदिमा जोड दिने रणनीति अवलम्बन गरेर सफलता हात लगायो ।

भ्रष्टाचार नियन्त्रण नगरी मुलुक उन्नति नै सम्भव छैन

नेपालको सन्दर्भमा भ्रष्टाचार नियन्त्रणको उपयुक्त पहल  लिने बेला भइसक्यो । ठूला माछालाई कार्वाही नहुने व्यङ्ग्यका रुपमा आम नागरिकबाट समय समयमा आक्रोश आउने पनि गर्दछ । देश विकासको मुल बाधकको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणलाई सरकारले मूल मुद्दा बनाउनु आवश्यक छ । पारदर्शी,उत्तरदायी, जनमुखी एवम् कानूनसम्मत शासन प्रणालीको स्थापना गरी शासन सञ्चालन गर्नु जनउत्तरदायी सरकारको प्रमुख दायित्व हो ।

जबसम्म जनताले हिजोसम्म भोगी आएका भ्रष्टाचारका समस्या जस्ताको तस्तै रहन्छ, जवसम्म सरकारी संयन्त्रको मनोवृत्तिमा परिवर्तन भएको महसूस जनताले गर्न पाउँदैनन्, जबसम्म हिजोभन्दा आज छिटो र कम लागतमा काम भएको बोध हुँदैन र दलाली कमिशनतन्त्रको अन्त्य हुँदैन,  तबसम्म युगान्तकारी परिवर्तन जनताको निम्ति सार्थक परिवर्तन हो भन्ने आभास हुन सक्दैन । यसले गर्दा जनताको मनमा बिगतमा बिकसित सरकार र शासकीय प्रणाली प्रतिको नकारात्मक सोचमा कुनै तात्विक भिन्नता आउन सक्दैन ।

अर्थतन्त्रलाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने आधारसित जोडेर हेर्ने हो भने राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ । त्यसैले मुलक बिकास गर्ने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन ।

यसबारेमा गहन सोच राखी भ्रष्टाचार नियन्त्रणमा आफ्नो र अर्को पार्टी नभनी भ्रष्टाचारको दृष्टिकोणले अत्यन्त संवेदनशील क्षेत्रका रुपमा पहिचान भएका क्षेत्रहरुलाई सदाचारको टापूको रुपमा विकास गरी भ्रष्टाचार नियन्त्रणको विकल्प छैन ।  जनतालाई सरकारले केही गर्छ है भनेर देखाउन ढीला गर्न हुँदैन ।

(भण्डारी नेपाल सरकारका उपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment