Comments Add Comment

नारायणी उपक्षेत्रीय अस्पतालको स्तरोन्नती गरिने

२२ पुस, वीरगञ्ज । संघ र प्रदेश सरकारले नारायणी उपक्षेत्रीय अस्पतललाई स्तरोन्नती गर्ने घोषणा गरेका छन् ।

संघ सरकारले केन्द्रीय स्तरको अस्पताल बनाउने घोषणा गर्दै प्रक्रिया अघि बढाएको छ भने प्रदेश सरकारले पनि प्रदेशकै शिक्षण अस्पताल बनाउने घोषणा गरेको छ ।

मधेस आन्दोलनको बलमा सरकारमा पुगेका मधेसी दलबाट वीरगञ्जले उपलब्धी खोजिरहेको अवस्था छ । प्रदेश २ को राजधानी र रंगशालाबारे भएको निर्णयबाट वीरगञ्ज असन्तुष्ट छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले त्यसलाई सम्बोधन गर्ने प्रयास गरेका छन् ।

पछिल्लो पटक वीरगञ्ज आउँदा दुवैले अस्पताललाई स्तरोन्नती गर्ने घोषणा गरेका हुन् ।

नारायणी उपक्षेत्रीय अस्पताललाई क्षेत्रीय स्तरको बनाउनुपर्ने माग लामो समयदेखि हुँदै आएको थियो । ३ सय शैय्याको अस्पतालमा विरामीको चाप अत्याधिक छ ।

विशेषज्ञसहित अस्पतालका लागि प्रक्रिया अघि बढ्यो

पुस १४ गते वीरगञ्ज आएका उपप्रधानमन्त्री यादवले नारायणीलाई केन्द्रीय अस्पताल बनाउने घोषणा गरे । उनले केन्द्रीय अस्पतालका लागि आवश्यक जग्गा खोज्न भनेका थिए । उनले भनेका थिए, ‘विशेषज्ञ सहितको सेवा दिन केन्द्रिय अस्पताल बनाउने प्रस्ताव अघि बढेको छ सकेको छ । छिटो भन्दा छिटो जग्गा खोजेर राख्नुस् ।’

उनको घोषणाअनुसार सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक सहमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं प्रमुख जनस्वास्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठले कैन्द्र सरकारको मातहतमा रहने गरि विशेषज्ञ सेवा सहितको अस्पताल बन्ने जानकारी दिए ।

‘देशका ७ वटै प्रदेशमा विशेषज्ञ सेवासहितको अति विशिष्ट अस्पताल बनाउन लागिएको छ, सोही अनुसार प्रदेश नं २ का लागि वीरगञ्ज परेको छ । वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल संघ सरकारकै मातहतमा रहन्छ ।’

त्यसलगत्तै अस्पताल निरीक्षणमा पुगेका प्रदेश २ का मुख्यमन्त्री राउतले शिक्षण अस्पताल बनाउने घोषणा गरेका छन् । ‘अहिले अस्पतालको अवस्था के छ, तपाईहरुलाई थाहा नै छ । संघ सरकारले सेन्ट्रल हस्पिटलमा स्तरोन्नती गर्ने कुरा छ’ उनले भने, ‘त्यसैमा मेडिकल कलेज सञ्चालनका लागि पहल गर्छु भनेको छु, त्यसका लागि मेरो तर्फबाट सबैखाले प्रयास रहन्छ ।’

मन्त्रिपरिषदले ५०० शैय्याको केन्द्रीय अस्पताल र प्रदेश सरकारले शिक्षण अस्पताल बनाउने घोषणा गरेको चर्चा चले पनि औपचारिक जानकारी नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकले जानकारी दिएका छन्

१२९ वर्ष लामो ईतिहास बोकेको नारायणीले सामान्य अस्पतालबाट उपचार सेवा शुरु गरेको थियो । अञ्चल हुँदै अहिले उपक्षेत्रीय अस्पतालको रुपमा सेवा प्रदान गर्दै आएको छ ।

वि.सं २०२२ सालमा जनश्रमदानमा निर्माण भएको महेन्द्र आरोग्य भवनमा अस्पताल सञ्चालन गरिएको थियो । ५० शैय्याको अस्पतालको नाम थियो, पृथ्वी नारायणी अस्पताल ।

तत्कालिन समयमा वीर अस्पताल पछिको ठूलो अस्पतालको रुपमा यसको स्थापना भएको थियो । केही समयपछि अञ्चल र वि.स. २०४२ सालमा उप–क्षेत्रिय अस्पतालको रुपमा स्तरोन्नती गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment