२२ पुस, काठमाडौं । भनिन्छ, भ्रम तीन प्रकारका हुन्छन् । एउटा, समान्य भ्रम, अर्को सफेद भ्रम र तेस्रो गणितीय भ्रम । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदमा सम्बोधन गरिरहँदा गणितीय भ्रममा परेको झल्को देखियो ।
उनले सरकारका १० महिनाका प्रगति विवरण सुनाउँदै थुप्रै आर्थिक तथ्यांक पेश गरे । तर, प्रधानमन्त्रीले संसदमै पेश गरेको तथ्यांकमा गणतीय त्रुटी रहेको भेटिएको छ ।
सार्वभौम संसदमा आर्थिक वृद्धिद्धदर, मुल्यवृद्धि, विकास खर्च लगायतका विषय पेश गरिरहँदा सत्तारुढ सांसदहरुले जोडले ढ्यापढ्याप पारे । तर, त्यसमा धेरै ‘मिथ्यांक’ भएको चाल पाएनन् ।
प्रधानमन्त्रीले पेश गरेको तथ्यांक गलत हुनुले उनको टिम वा नियतमाथि प्रश्न उठ्ने अर्थविदहरु बताउँछन् ।
कहाँ चिप्लिए प्रधानमन्त्री ?
प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा राजस्व संकलन ३२ प्रतिशत वृद्धि भएको जानकारी दिए । यो गत वर्षको तुलनामा बृद्धि नै हो ।
तर, अरू तथ्य गलत भएको भेटिएको छ । प्रधानमन्त्रीले ५ महिनाकोअवधिमा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत भएको संसदलाई जानकारी दिए ।
तर, महालेखा नियन्त्रकको तथ्यांकले यसलाई गलत सावित गर्छ । कार्यालयकाअनुसार यो वर्ष शनिबारसम्म १५.४३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको देखिन्छ । गत वर्ष यही अवधिमा पूँजीगत खर्च १२.९३ प्रतिशत थियो ।
सरकारले शनिबारसम्म ४८ अर्ब ४५ करोड रुपैयाँ मात्रै विकासमा काममा खर्चिएको छ । गत वर्ष पुस २३ सम्म ४२ अर्ब ८४ करोड खर्च भएको थियो । यसरी हेर्दा गत वर्षको तुलनामा करिव ६ अर्ब बढी विकास बजेट खर्च भएको छ तर, प्रधानमन्त्रीले दाबी गरेको जस्तो २५.३३ प्रतिशत वृद्धिद्धर भने देखिँदैन ।
प्रधानमन्त्री ओलीले सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको बताएका छन् । तर, यो तथ्यांक केका आधार मानेर भनिएको हो भन्ने स्पष्ट छैन ।
महालेखा नियन्त्रककाअनुसार शनिबारसम्म चालु सरकारी खर्च ३२.५९ प्रतिशत पुगेको छ । गतवर्ष यही अवधिमा सरकारी खर्च ४० प्रतिशत थियो ।
प्रधानमन्त्रीको दाबी छ, गतबर्षको तुलनामा मूल्य बृद्धि घटेको छ। ‘गतबर्षको मूल्यवृद्धि ४.२ प्रतिशत थियो, यस बर्ष ३.७ प्रतिशत मात्र छ’ उनले संसदमा भनेका छन् ।
तर, नेपाल राष्ट्रको तथ्यांकले यसलाई पनि झुटो सावित गर्छ । असोजसम्म मुल्यवृद्धि दर बढेर ४.२ प्रतिशत पुगेको छ, जुन गत वर्ष यो अवधिमा ३.९ प्रतिशतमा सीमित थियो ।
प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा समग्र व्यापार घाटा १.५ प्रतिशत अंकले मात्र बढी भएको उल्लेख गरेका छन् ।
तर, भन्सार विभागको तथ्यांकअनुसार पहिलो ३ महिनामा ब्यापार घाटा ४५.९२ प्रतिशतले बढेको छ । मंसिरसम्म यस्तो ब्यापार घाटा ३६.११ प्रतिशतमा छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत यो बर्ष नेपालले ६.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट नेपालमा ५ प्रतिशत भन्दा बढि आर्थिक वृद्धिको अनुमान गरेको इतिहासमै यो पहिलो पटक भएको ओलीको दाबी छ । तर, दुई वर्षअघि पनि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ५ प्रशितभन्दा बढीको आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए ।
प्रतिक्रिया 4