Comments Add Comment

‘कुवेर’ गोपाल खड्का : ५ वर्षमा ५ घर, ५५ बैंकमा नगद

२३ पुस, काठमाडौं । पाँच वर्षमा पाँच वटा घर, उपत्यकाका विभिन्न स्थानमा जग्गै जग्गा । एक करोड भन्दा बढी चन्दा । सुपर मार्केटहरुमा एटीएमबाट मात्रै १ करोड ८० लाख भुक्तानी । श्रीसम्पत्तिले सम्पन्न कुबेर अरु कोही नभएर आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का हुन् ।

तीनै खड्काविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ पैसा बराबर सम्पत्ति अवैध भएको अख्तियारको दाबी छ ।

सडक विभागबाट ५८ वर्षको उमेर हदका कारण अवकास पाए लगत्तै खड्का राजनीतिक नियुक्तिका आधारमा २०७१ माघ १२ गते आयल निगमको प्रमुख बनेका थिए । तत्कालीन आपूर्तिमन्त्री सुनिलबहादुर थापाले ठाडो प्रस्तावबाट उनलाई नियमको कार्यकारी निर्देशक बनेका थिए ।

आयल निगमको भण्डारण स्थल बनाउन विभिन्न ठाउँमा जग्गा खरिद गर्दा अनियमिता गरेको भेटिएपछि खड्कालाई सरकारले २ असोज २०७४ मा बर्खास्त गरेको थियो । तर, आयल निगममा साढे ३ वर्ष कार्यकारी निर्देशक हुँदा खड्काले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

यस्तो छ आम्दानी र खर्चको हिसाब

अख्तियारका अनुसार खड्काले २ चैत २०६९ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार १५५ रुपैयाँ ४७ पैसा आर्जन गरेका छन् । जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, घर भाडाबाट १३ लाख ५६ हजार पाएका उनले ५ करोड ३३ लाख ३६ हजार रुपैयाँ ऋण तथा सापटी पनि लिएका छन् ।

जागिरबाट अवकाश हुँदा २९ लाख २२ हजार ६९८ रुपैयाँ २८ पैसा आर्थिक सुविधा पाएका उनको पेन्सनबाट १४ लाख ७८ हजार ४८२ रुपैयाँ २४ पैसा आएको छ । गाडी बिक्रीबाट ३५ लाख र विप्रेषण आयबाट प्राप्त ८ लाख २६ हजार ९१३ रुपैयाँ ५४ पैसा उनले पाएका छन् ।

छोरा बुहारीको पारिश्रमिक ११ लाख ४ हजार ३ रुपैयाँ समेत जोड्दा उनको आय ७ करोड ४४ लाख ५६ हजार २५२ रुपैयाँ ५३ पैसा देखिएको अख्तियारले जनाएको छ । सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म १ करोड २० लाख १३ हजार ४९९ आन्दानी गरेको पनि देखिएको छ । यो सबै जोड्दा उनको आम्दानी ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँ ५३ पैसा हुन्छ ।

तर, उनले २ चैत २०६९ पछि मात्र पुर्ख्यौली घरबाहेक ३ वटा घर निर्माण तथा खरिद गरेका छन् भने दुई वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको पाइएको छ ।

घरजग्गा खरिदमा मात्र उनले ११ करोड ६१ लाख ४३ हजार २०६ रुपैयाँ ३१ हजार खर्च गरेका छन् । १ करोड ६ लाख ४ हजारको शेयर किनेका उनले ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाअ ९६ हजार २३९ रुपैयाँ ९९ पैसा खर्चिएका छन् । १ करोड २५ लाख ६० हजार सापटी दिएका उनले विभिन्न व्यक्ति तथा संस्थालाई १ करोड १७ लाख ७५ हजार चन्दा दिएका छन् ।

छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा २५ लाख १४ हजार ६९५ र गाडी खरिदमा १ करोड १७ लाख ४२ हजार खर्चिएका उनले एटीएमबाट सुपरमार्केटहरू १ करोड ८० लाख १६ हजार ४४६ रुपैयाँ ८२ पैसा खर्चिएका छन् ।

अख्तियारका अनुसार विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा उनको खाता भेटिएको छ । जसमा अहिले २ करोड ७१ लाख ५३ हजार ४२१ रुपैयाँ ६४ पैसा नगद मौज्दात छ । यो सबै जोड्दा उनले
२५ करोड २८ लाख ५ हजार नौ रुपैयाँ ७६ पैसा लगानी तथा खर्च गरेको भेटिएको छ ।

सार्वजनिक सेवामा प्रवेश गरेदेखि २ चैत २०६९ सम्म गरेको खर्च तथा लगानी २ करोड २ लाख ७० हजार ३७१ रुपैयाँ पनि यसमा जोड्दा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ ७६ पैसा खर्च तथा लगानी भेटिएको देखिएको छ ।

खड्काको १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ २३ बराबरको खर्च तथा लगानीको स्रोत खुल्न नखुलेको ठहर गर्दै अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अरुको नाममा पनि सम्पत्ति लुकाए

अख्तियारको अनुसन्धानका क्रममा खड्काले अरुको नाममा सम्पत्ति राखेको पनि भेटिएको छ । उनले श्रीमती शर्मिला खड्काका साथै तेह्रथुमको जिरीखिम्ती–२ घर भई बूढानीलकण्ठ–४ बस्ने कृष्णबहादुर लामाकी छोरी, दिपक सोदेम्बाकी श्रीमती अमिता लामा सोदेम्बाको नाममा सम्पत्ति राखेको पाइएको छ ।

खड्काले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार ८७५ रुपैयाँ बराबरको सम्पत्ति लुकाएको अख्तियारको दाबी छ । सीजी हिल्स हात्तीगौंडामा ३ करोड २५ लाखमा खरिद गरेको घर किनेर अमिताको नाममा राखेका उनले अर्को घरका लागि ३ करोड ५ लाख रकम दिइसकेका थिए ।

बूढानीलकण्ठमा ४० लाख ११ हजार ८७५ रुपैयाँमा ८ आना जग्गा, ८४ लाख ४६ हजारमा किनेको टक्सन गाडी किनेर अमिताको नाममा राखेको पाइएको छ । अनुसन्धानका क्रममा एनएमबी र सिटिजन बैंकमा रहेका अमिताको नाममा खाताबाट खड्काले नै कारोबार गर्ने गरेको भेटिएको अख्तियारको दाबी छ ।

साबिकको विष्णु बूढानीलकण्ठ ७ ‘ग’ मा रोडसो रियलस्टेट प्रा.लि.ले निर्माण गरेको घर किन्न बैनाका रुपमा ८९ लाख ८९ हजारको गुड फर पेमेन्ट चेक बरामद गर्दै अख्तियारले दसी प्रमाणका रुपमा अदालतमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment