+
+
Shares

चुच्चेपाटीको भाटभटेनीमा जलेका ७ वटा शव छुँदै धुलो हुने अवस्थामा, पहिचानमा सकस

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १६:३९

१२ असोज, काठमाडौं । गत २४ भदौमा चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगजनीमा परेर जलेका शवको पहिचान गर्न कठिनाइ हुने भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, सात वटा शव पूर्णरूपमा जलेर खरानीको अवस्थामा छ ।

ती शवहरू छुँदा धुलो हुने अवस्थामा छन् र हड्डीको आकारमात्र बाँकी छ । ‘छोयो भने धुलो हुन्छ, त्यसैले हाम्रो तर्फबाट डीएनएबाट पहिचान गर्न सम्भव नहोला,’ डा. चौधरीले अनलाइनखबरसँग भने ।

यद्यपि, नुमना संकलन गरेर राखिएको छ ।  नमुना निकालेपछि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगेर नमुनाबाट डीएनए निकालिने छ ।

‘हाम्रो काम गरेको नमुना निकाल्ने हो । हामीले प्रहरीलाई खबर गरेका छौं,’ डा. चौधरीले भने, ‘प्रहरीले थप अनुसन्धान गर्छ ।’

ल्याबको आधिकारिक प्रतिवेदनले डीएनए पहिचान सम्भव छ कि छैन भन्ने पुष्टि गर्नेछ ।

पूर्ण रुपमा जलेको शवले पहिचान गर्न प्रहरी र सम्बन्धित निकायलाई थप चुनौती थपिएको छ । डा. चौधरीले विगतमा पनि यस्ता घटनामा डीएनए पहिचान गर्न कठिन भएको अनुभव सुनाए ।

उनका अनुसार धेरै दिनसम्म जलेको शवमा डीएनको नमुना पनि नष्ट भइसकेको हुन्छ ।

‘लगातार दुई–तीन दिनसम्म आगोको तापमा बसेको शवमा नमुना सबै नष्ट भइसकेको हुन्छ,’ डा. चौधरीले भने ।

उनले शवहरूको पहिचानमा थप जटिलता रहेको र आफन्तहरूबाट कुनै जानकारी नआएको बताए ।

‘मानिस हराएको भन्ने हामीलाई कुनै जानकारी आएको छैन, त्यसबारे प्रहरीमा केही खबर भएको छ कि,’ डा. चौधरी भन्छन् ।

जेनजी प्रर्दशनका क्रममा मृत्यु भएका ४६ वटा शव पोस्टमार्टमका त्रिवि शिक्षण अस्पतालमा पुगेका थिए । जसमध्ये ३९ जनाको पोस्टमार्टम गरेर आफन्तले बुझिसकेका छन् । तर ७ वटा शव भने पूर्ण जलेका अवस्थामा रहेको पहिचान भएको छैन ।

यदि डीएनए परीक्षणबाट पनि पहिचान शवको कसको पत्ता लगाउने कुनै विकल्प रहँदैन । यस्तो अवस्थामा न त पहिचान खुल्छ न त मृत्युको कारण नै खुल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?