Comments Add Comment

छिमेकीको मलामी जाँदा अदालतमा १५ हजार धरौटी

२४ पुस, विराटनगर । नेपालीमा एउटा उखान छ ‘छिमेकी जिउँदाको जन्ती मर्दाको मलामी’ । तर, छिमेकीको मृत्युमा मलामी गएका एक गाउँका १२ जनाले भने मलामी गएकै कारण अदालतमा १५ हजार धरौटी बुझाउनु परेको छ ।

मोरङको धनपालथान ७ की ८० बर्षीया रुब्दो राजवंशीको मलामी गएका १२ जनाले जिल्ला अदालत मोरङमा जनही १५ हजार धरौटी बुझाउनु परेको हो ।

कात्तिक २२ गते राति खाटबाट लडेर रुब्दोको मृत्यु भएको खबर पाएपछि भाइटीकाकै दिन १२ जना छिमेकी मलामी गएका थिए ।

तर, अनुसन्धानका क्रममा रुब्दोको छोराले हत्या गरेको खुल्यो । जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले हत्यामा संलग्न भएको अभियोगमा छोरा भेटलु र बुहारी रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मलामी गएकाहरुसँग भने धरौटी मागिएको छ ।

भेटलु रुब्दोका एक्ला छोरा हुन् । छोरा बुहारीसँग छुट्टिए पनि बिहान बेलुकाको खाना भने सँगै खाँदै आएका थिए ।

सामान्य विवादमा कोदालो प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । ‘अन्त्येष्टि गरेपछि हामीलाई खबर आयो’ प्रहरी निरीक्षक कार्कीले भने, ‘घटनास्थलको सबुत प्रमाण नष्ट गरिएको थियो ।’

प्रहरीका अनुसार रुब्दोको नाममा ८ बिघा जमिन थियो तर, छोरालाई एक विगाह मात्र दिएकी थिइन् । जग्गाको बिषयमा विवाद हुँदा छोराले कोदालो प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment