Comments Add Comment

चराको खोजमा ६० वर्ष

८९ वर्षको भएँ । यो उमेरमा टाइम पास गर्न गाह्रो हुँदो रहेछ । एक एक गर्दै चराको अनुसन्धानमा बरालिँदाका दिन सम्झन्छु । आफैंले बिताएका क्षण सम्झँदा बडो रोचक लागेर आउँछ ।

कहिले जंगली जनावरसँगको जम्काभेट, कहिले हिमपहिरोको जोखिममा यात्रा, कहिले घना जंगलमा एक्लै भोकभोकै काटेको रात… । चराको खोजमा बिताएको त्यो ६० वर्षको स्मृतिले उर्जा भरिएर आउँछ, सन्तोष लाग्छ । यसरी नै दिन बिताईरहेको छु ।

मेरो दिमागभरि चरा छन् । ६० वर्षको अवधिमा करिव एक हजार चराको नमूना संकलन गरें । ती चराहरु त्रिभुवन विश्वविद्यालय अन्तरगतको नेचुरल हिस्ट्री म्युजियममा छन् । तर, मेरो शरीरलाई भने रोगले घेरेको छ । आर्थराइटिस, मुटु रोग, पाएल्स, साइनोसाइटिस, प्रोस्टेड ग्लान्ड अनेक रोगको औषधि खाइरहेको छु । कोठामै भित्र–बाहिर गर्दा पनि सास फुलेर आउँछ । अहिले पनि जंगलमा जाऔँ र चरा कुरेर नयाँ नमूना तयार पारौँ भन्ने हिम्मत त आउँछ । तर, खुट्टै लाग्दैन ।

मान्छेभन्दा चरा प्यारो

म क्षेत्रपाटीमै जन्मिएको हुँ । मेरो वुवा पियानोबाधक हुनुहुन्थ्यो । मलाई पनि पियानोबाधक नै बनाउन चाहनुहुन्थ्यो । एक वर्ष उहाँसँग सिके पनि । तर, मेरो हातको एउटा औंला सानैमा काटिएको थियो र त्यति राम्रोसँग चल्दैनथ्यो । त्यसैले मैले पियानो बजाउन नसक्ने भएँ ।

छिमेकीहरुले भन्थे, ‘कमाइधमाई गर्न छोडेर के चरा खोजेर हिँडेको पागलजस्तो ?’ यस्ता अनेक डाइलगको सामना गर्नुपर्‍यो । बिस्तारै मैले रिसर्चका कामहरुबाट आम्दानी गर्न थालेँ, प्रदर्शनीहरु भए, प्रशंसा पाउन थालेँ । त्यसैले थुनियो सबैको मुख

पियानोमा खासै रुची पनि थिएन । म त सानैदेखि प्रकृतिलाई प्रेम गर्थेँ । साथीहरु स्कुल जाँदा म जंगलतिर लाग्थेँ । चराको रुखमुनि बस्थेँ, चराको भाषा सुन्थेँ । खै किन हो थाहा छैन, चराहरुको संगतले मलाई औधी आनन्द प्रदान गथ्र्यो । सन् १९५० देखि म चराको नमूना तयार पार्न थालेँ । अहिले सोच्दा लाग्छ, मेरो औँलाले राम्रैसँग काम गरेको भए के हुन्थ्यो होला ?

यसरी मलाई चराले मोहित नै पार्न थाले । कहिले साग्ले खोला, कहिले टोखा, कहिले बाग्मतीको किनार त कहिले बालाजुको जंगलमा गएर घण्टौँ विताउँथेँ । त्यतिबेला काठमाडौंमा बस्तीभन्दा धेरै जंगल थिए । साइबेरियाबाट आउने चराको संकलन त मैले मेरै बारीमा गरेको हुँ । यसरी नै चराको खोजीमा हिँड्न थालेँ । असन, नयाँसडक, पिपलबोट इन्द्रचोकतिर त विरलै जान्थेँ । जानैपर्ने बाध्यता आइपरेमा मात्र महिनाको दुई–तीन पटक ।

मलाई मान्छेहरुसँग भन्दा चरासँग प्रेम थियो । जहिले पनि क्यामेरा, टेपरेकर्डर, दुर्विन र एउटा बन्दुक बोक्थेँ अनि चराको खोजीमा हिँड्थेँ । रुखको भेदमा बसेर दुर्विन हेरिरहेको देख्दा बाटोमा हिँड्नेहरुले सोध्थे, ‘के गरेको ?’ म भन्थेँ, ‘चरा हरिरहेको ।’ अनौठो मान्दै ती बटुवाहरु बाटो लाग्थे ।

हामी त अझ व्यवसाय गर्नुपर्ने समुदायका मानिस । छिमेकीहरुले भन्थे, ‘कमाइधमाई गर्न छोडेर के चरा खोजेर हिँडेको पागलजस्तो ?’ यस्ता अनेक डाइलगको सामना गर्नुपर्‍यो । बिस्तारै मैले रिसर्चका कामहरुबाट आम्दानी गर्न थालेँ, प्रदर्शनीहरु भए, प्रशंसा पाउन थालेँ । त्यसैले थुनियो सबैको मुख । अहिले आएर लाग्छ, ‘मैले देशको निम्ति जुन योगदान पुर्‍याएँ । त्यो कुनै पैसाले किन्न सकिने कुरा होइन ।’

यसरी चरा संकलन गर्न तराईदेखि हिमालसम्म र पूर्वदेखि पश्चिमसम्म पुगेँ । नेपालको सबै नाकासम्म पुगेँ । त्यो दौरानमा अनेक कठिनाइको सामना गर्नुपर्‍यो, जुन धेरैलाई सुन्दा अचम्म पनि लाग्न सक्छ । तर, ती अप्ठ्याराहरु मलाई दुःख नलागेर निकै प्रिय लागे । अहिले सम्झदा त झन्, बहुत आनन्द ।

आकाशमै बेहोस्

सन् १९७३ सालको कुरा हो । जेठको महिना । म तीन महिनाको लागि डोल्पा जाने भएँ ।

दिउँसोको त्यस्तै साढे एक बजेको हुँदो हो । एक जना भरियालाई साथ लिएर डोल्पाका लागि हेलिकोप्टरमा उडेँ ।

सिंगल इन्जिनवाला क्ल्याटोस्कोटर हेलिकप्टर । स्वीस पाइलट हुनुहुन्थ्यो । हेलिकप्टरभित्र क्याप्टेनसहित तीनजना मात्र थियौँ । मौसम ठीक थिएन । झरी परिरहेको थियो । हेलीकप्टर उडेपछि एक मनले लाग्यो, ‘होइन यसरी ज्यान फालेर किन जान लागेको हुँला म, क्यान्सिल गरौँकी क्या हो ?’

पोखरासम्म सुरक्षित अवतरण भयो । त्यहाँ तेल हालेर हामी फेरि ढोरपाटनका लागि उड्यौँ । बेनीको लेक हुँदै, ठूलो भन्ज्याङबाट हेलिकप्टर ढोरपाटन झर्दै थियो । त्यति नै बेला निकै ठूलो कालो बादलको झोक्काले हेलिकोप्टरलाई पुर्‍यो । कता पूर्व, कता पश्चिम केही देखिनै छाड्यो– कुहिरीमण्डल । क्याप्टेनले हिम्मतसाथ हेलिकप्टर घुमाइ नै रहेका थिए ।

कति–कतिबेला अलिअलि चौरजस्तो देखा पर्थ्यो । कतिबेला रुख देखिन्थे । हात निकालेपछि रुखको हाँगा समाउन सकिएलाजस्तो । मेरो होस हवास नै उड्यो । जिन्दगी यत्ति रहेछ भन्नेमा पुगेँ ।

आधा घण्टा घुमाएपछि क्याप्टेनले भने, ‘अव हामी दक्षिणतर्फ लाग्दै छौँ ।’ मलाई अलिकति राहत अनुभव भयो कि फेरि पोखरा नै फर्कने भयौँ । तर, उनले त दक्षिणतर्फ मोडेर पनि ढोरपाटनमै ल्याण्ड गर्न थालेछन् । त्यहाँ पाइलटले निकै ठूलो जोखिम उठाएका थिए ।

अकस्मात कसैले मलाई झक्झक्यायो । म झल्यास्स भएँ, ‘उसले भन्दै थियो, ‘काजी उठ्, मैले कफी लिदिएको छु ।’ म त बेहोस् नै पो भएछु । उसलाई भने, ‘मैले त नयाँ जीवन पाएँ । तपाईले त सगुन पो लिएर आउनुपर्ने ।’

हेलिकोप्टर ल्याण्ड गर्न पनि निकै सकस भएको रहेछ । चौरमा गधा, खच्चड, याकहरु रहेछन् । करिव १०–१५ मिनेट सम्म उनीहरुलाई धपाएर मात्र ल्याण्ड भएको रहेछ । यो सुनेर फेरि एकपटक भगवानलाई ढोग गरेँ ।

ढोरपाटनमा करिव दुई हप्ता बसेँ । किनकी मलाई त्यहाँ चीर संकलन गर्नु थियो । तर, त्यसमा म असफल भएँ ।

त्यसपछि भरियाको पछि–पछि लागेर क्यामरा, दुर्विन र बन्दुक भिरेर भिरडोल्पातर्फ हिडेँ । त्यहाँबाट ताराकोट पुग्नको लागि पाँच दिन लाग्यो । डोल्पा पुग्दा दुनैमा भर्खर जहाज ग्राउण्ड बन्दै थियो । डोल्पामा चार महिनासम्म चराको खोजी गरेर काठमाडौं फर्किएँ ।

गैंडा मसँग डरायो

मलाई बन्दुकको लाइसेन्स बनाउनु थियो । त्यसैले गृह मन्त्रालय गैरहन्थे । जेबी कुकमेनसँग त्यहीँ चिनजान भएको हो ।

उनी चितवनमा ‘टाइगर टप्स’ होटल खोल्न चाहन्थे । त्यसैको अनुमति लिनका लागि मन्त्रालय धाइरहन्थे । उनले जग्गा प्लटिङ गरेर सौराहामा पहिलोपटक होटल स्थापना गरे ।

होटेलको उद्घाटनमा मलाई पनि निमन्त्रणा आयो । मैले भनें, ‘बाहिर निस्केपछि त मलाई चरा खोज्नुपर्छ । त्यहाँ बन्दुक लिएर आउन पाइन्छ कि पाइँदैन ?’ उहाँले त्यसको व्यवस्था मिलाउने आश्वासन दिनुभयो । मलाई चित्तल र बँदेलबाहेक अन्य जन्तु मार्न नपाउने लाइसेन्स दिइएको थियो ।

सन् १९६३ मा म चितवन गएँ । केही दिन त्यहीँ बसेर चराको खोजीमा लागेँ । जंगलमा खोज्दै जाँदा रानी चरा भेटियो । बन्दुकले ड्याङ्ग हानेर खसाएँ ।

त्यहाँ पानीको भंगुर र पर्खाल थियो । चरा भाग्ला कि भनेर हतारिँदै समाउन दौडिएँ । यसो पारिपट्टि हेरेको, गैंडा पो आउँदै रहेछ । मेरो सातोपुत्लो उड्यो । हतार–हतार रुखमा चढेँ र लामो समयसम्म बसेँ । गैंडा त मलाई रुखमा देखेर उल्टै डराएर भाग्यो । पछि त्यो चरा टिपेर दौडँदै होटेल आइपुगेँ ।

लोमान्थाङको ‘मरुभूमि’ मा एक्लै

सन् १९७७ मा म मुस्ताङ पुगेको थिएँ । त्यतिबेला उपल्लो मुस्ताङको लोमान्थाङ दरवारमा बसेका थियौँ । त्यहाँबाट तिब्बतको नाकासम्म जाने योजना बन्यो ।

मेरो जेठो छोरा पनि सँगै गएको थियो । साथमा अरु तीनजना वनस्पतीविज्ञ हुनुहुन्थ्यो । त्यहाँबाट माइला युवराजलाई पनि लिएर हामी नाकातर्फ लाग्यौँ । ६ घण्टाको घोडादौडपछि हामी तिब्बत र नेपालको नाकामा पुग्यौँ ।

हामीसँग युवराजलाई सँगै लैजानुका दुईवटा कारण थिए । पहिलो त गाइड नै चाहियो । यो त्यही क्षेत्र थियो, जहाँ १९१६ मा एक जना नेपाली सैनिकलाई चिनियाँ सेनाले हत्या गरेका थिए । त्यतिबेला पञ्जाबी ड्रेसमा रहेका ती सैनिक पिसाब फेर्दै रहेछन् । सीमामा तैनाथ चिनियाँ सेनाले भारतीय ठानेछ । अनि गोली ठोकिदिएछ । त्यतिबेला भारत र चीनको सम्बन्ध राम्रो थिएन । यो घटनाले नेपाल र चीनमा ठूलो हंगामा मच्चिएको थियो । चीनले माफी मागेपछि मात्र अवस्था सामान्य भएको थियो ।

हामी त्यो नाकामा पुग्दा पुग्दा बिहानको त्यस्तै १० बजेको थियो । मैले उनीहरुलाई भनेँ, ‘म अहिले फर्किन्नँ । यहीँ बस्छु । भोलि चार बजेसम्म मलाई लिन आउनू ।’ उनीहरु घोडा लिएर फर्किए ।

मैले बन्दुक भुईंमा बिसाएँ । ठाउँ पुरै सुख्खा, मरुभूमिजस्तै थियो । एउटा पनि रुख थिएन । एउटा पनि घर थिएन । मानिसहरु त कहाँबाट हुनु त्यहाँ, पुरै शून्य । मैले त्यहीँ चराको खोजमा रात बिताएँ ।

त्यो रात केही पनि भेटिनँ । अर्को दिन तीनवटा चरा भेट्टाएँ । एकै दिनमा तीनवटा चरा पाउनु मेरा लागि निकै ठूलो कुरा थियो । तर, साँझको पाँच बजिसक्यो, मलाई लिन कोही पनि आएन । अनि तीनवटा चरा बोकेर एक्लै लोमान्थाङ दरबारतर्फ लागेँ ।

पर्खालले घेरिएको मुस्ताङे राजाको दरबार निकै ठूलो थियो । त्यहाँको सबैभन्दा ठूलो बजार भनेकै दरबार थियो । जे पनि पाइने । म रातको एक बजेमात्र दरबार पुगेँ ।

त्यसपछि मैले ती चराको डीएनए निकाल्नेदेखि चराका नाम, डेट, अल्टीच्युट, ग्रास्सल्याण्ड सबै छुट्याएँ । म सुत्दा बिहानको तीन बजेको थियो ।

बैतडीको जंगलमा हराउँदा

कोठामा बसेर चरा भेटिँदैन थियो । त्यसका लागि बाहिर निस्कन जरुरी थियो । म चरा खोज्नका लागि सन् १९६३ मा सुदुरपश्चिमको यात्रामा निस्किएको थिएँ ।

चरा खोज्दै जाँदा बैतडीको एउटा जंगलमा छिरियो । त्यहाँ एउटा चरा देखेँ र त्यसको पछि लाग्न थालेँ । मेरो पछि–पछि भरिया थिए । मैले भरियालाई भनेँ कि तिमीहरु चिनो लगाउँदै जाउ, म एकछिनपछि चरा संकलन गरेर आउँछु । भरिया फर्किए ।

केही समयपछि मैले त्यो चरालाई मारेँ । जुन भट्राई चरा थियो । त्यसपछि फर्किएँ ।

जंगलमा धागोको डोरोजस्तो बाटो थियो । त्यही बाटोलाई पच्छ्याउँदै फर्किएँ । चार–पाँच किलोमिटर हिँडेपछि चौबाटो भेटियो । घना जंगल थियो । चकमन्न अध्यारो भैसकेको थियो । भरियाहरुले चिनो पनि लगाउन बिर्सेछन् । मलाई चिट्चिट् पसिना आयो । अब कहाँ जाने ? अर्को बाटो गएपछि त झन् अलपत्रमा परिनेवाला छ । सोचेँ, ‘अब यहीँ बस्नुको विकल्प छैन ।’

केही अगाडि खाल्डो रहेछ । जताततै सल्लाका रुख थिए । त्यही सल्लाको पीरल (पात) सोरेर त्यो खाल्डोमा थुपारेँ । अनि त्यही सुतेँ । मसँग एक पुरिया बिस्कुट बाहेक खानेकुरा केही थिएन । खानेकुरा भएका भरिया त भेटाउनै मुस्किल पर्‍यो । रातभर भोकै ।

म भोकै बसेको दुई दिन भइसकेको थियो । बाहुन भने न्यास्रो मुख लगाउँदै आइपुग्यो । म खुशीले उफ्रिएँ । उसको अनुहारको निराशा देखेपछि आश्चार्य मान्दै सोधेँ, ‘किन निराश ?’ उसले रुन्चे स्वरमा भन्यो, ‘टाँर्किझ्याङ आइपुगेपछि भरियाहरु त चामलको बोरासहितको रासन बोकेर भागेछन् ।’ म हताश भएँ

सुत्न त खोजेँ । कहाँबाट निद्रा लाग्नु । बैशाखको महिना थियो । जाडोले सतायो । केहीछिन सुतेजस्तो गर्थेँ, फेरि उठेर बन्दुक समाएर बस्थेँ । रुखका चेपबाट अलिकति उज्यालो प्रकाश छिरेपछि थाहा भयो, विहान भएछ । त्यो एक रात मलाई एक वर्षजस्तो लाग्यो ।

बाटो लागेँ । आधा किलोमिटर के हिँडेको थिएँ, भरियाहरुलाई भेट्टाइहाँले । उनीहरुले त पाल टाँगेर खाना तयार पारी बसेका रहेछन् । ‘आँट गरेर हिजो किन हिँडिनँ ?’ थकथक लागेर आयो ।

ताराकोट जंगलमा पनि त्यस्तै नियति भोग्नु परेको थियो । त्यतिबेला मैले बाईफोकल चस्मा लगाएर हिड्थेँ । दुर्विन क्यामेरा र बन्दुक त मेरा साथीजस्ता । जंगलमा हिँड्दा हिँड्दै रात पर्‍यो । भीरको बाटो ओर्लिएर तल पुग्नुपर्ने थियो । खुट्टा चिप्लियो कि खोँचमा पुगेर जंगली जनावरको आहारा भइन्थ्यो । यसो तल हेरेको निकै डर लागेर अयो । त्यहाँबाट झर्नै सकिनँ ।

चार–पाँच जना भरिया थिए । अब उनीहरुलाई पनि सँगै राखेपछि सबै भोकभोकै मरिन्थ्यो । त्यसैले उनीहरुलाई पठाएँ । एक्लै बस्ने निर्णय गरेँ ।

म पहराको बीच भागमा थिएँ । रातका बेला माथि उक्लन पनि मुस्किल थियो । उनीहरुले छोडेको केही पुरिया बिस्कुट र फिस क्यान खाएँ । पहरामै च्यापिएर रात बिताएँ । भाग्यवस कुनै जंगली जनावरबाट आक्रमणको सामना गर्नुपरेन ।

जब भरिया नै भए फरार

सन् १९७५ मा लामटाङका लागि निस्किएको थिएँ । वर्खाको मौसम भएकाले त्याहँ आगो बाल्न सक्ने अवस्था हुन्थेन । स्टोभ, मट्टीतेल र चार जना भरियासहित म घरबाट निस्किएँ ।

तीन महिनाको योजना बनाएर निस्किएको थिएँ । हामी टार्किझ्याङबाट उक्लीसकेका थियौँ । थ्रोङला पार गरेर लाङटाङ पुग्ने योजना थियो । तर, चराको खोजीमा बाटोमै लामो समय अल्मलियौँ । जहाँ चरा पाइने सम्भावना हुन्छ, त्यहीँ पाल टाँग्यो, बस्यो । लामटाङसम्म पुग्ने खर्च बाटोमै सकियो । अब भएन बर्वाद ?

चराविद हरिशरण नेपाली अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरसँग ।

खाना पकाउने एकजना बाहुन पनि लगेको थिएँ । चार जना भरिया र बाहुनलाई रासन लिन घर पठाएँ । उनीहरु काठमाडौं पुगेर साँखुबाट हिँड्दै चार दिन लगाएर आउनुपर्थ्यो । मसँग कोदोको पिठो मात्र बाँकी थियो । शुरुमा त चाँडै आउँलान् भनेर बाक्लो–बाक्लो पान रोटीजस्तो पकाएर खाएँ । पछि पीठो सकियो । अहँ ! रासन लिन पठाएकाहरु आउँदैनन् ।

म भोकै बसेको दुई दिन भइसकेको थियो । बाहुन भने न्यास्रो मुख लगाउँदै आइपुग्यो । म खुशीले उफ्रिएँ । उसको अनुहारको निराशा देखेपछि आश्चार्य मान्दै सोधेँ, ‘किन निराश ?’ उसले रुन्चे स्वरमा भन्यो, ‘टाँर्किझ्याङ आइपुगेपछि भरियाहरु त चामलको बोरासहितको रासन बोकेर भागेछन् ।’ म हताश भएँ ।

बाहुनले केही खाना लिएर आएका रहेछन् । श्रीमतीले बर्थ डे केक पनि पठाइदिएकी रहिछन् । त्यही केकले पेट भरेर जंगलमा जन्मदिन मनाएँ । जहानले ८–१० रुपैयाँ पठाएकी रहिछ । फेरि हामी रासन लिनको लागि टार्किझ्याङ फर्कियौँ । तर, ठगियौँ । एक हजारको खर्चलाई पाँच हजार रुपैयाँ तिर्नुपर्‍यो । फेरि भरिया खोजेर चरा खोजीमा लामटाङतिरै लाग्यौँ ।

मकालु बरुणको हिमपहिरो

मकालु बरुणलाई हामीले नै स्थापित गरेका हौँ । अमेरिकाको माउन्टेन उर्लान इन्स्टीच्युटबाट ट्रि–वियर कन्जरभेशन भन्ने प्रोजेक्ट आएको थियो । त्यो प्रोजेक्ट ल्याउने डाइन टेलोराइट राजा विरेन्द्रको साथी रहेछन् । हार्वर्ड युनिभर्सिटीमा सँगै पढेका ।

टेलराइटले राष्ट्रिय निकुञ्ज स्थापनाको लागि प्रस्ताव गरे । अनि उनकै लगानीमा स्थापना भयो, मकालु–बरुण राष्ट्रिय निकुञ्ज ।

हामीले त्यहाँ स्थानीय मानिसलाई तालिम दिएर सुरक्षा गार्डको व्यवस्था गर्‍यौं । पछि त त्यहाँ उद्योग नै स्थापना भयो । सिस्नो अल्लोबाट कपडाहरु निर्माण हुन थाले ।

त्यहाँ पनि मलाई चराकै अनुसन्धानको लागि लगिएको थियो । सेन्सेला वरपरको ठाउँ थियो त्यो । मकालु बरुणको १५ हजार फिट माथिबाट घरजत्रा ढुंगासहितको हिम पहिरो खस्दो रहेछ । वर्खाभन्दा हिउँदमा आउँदो रहेछ पहिरो । त्यस्तो ठाउँमा पनि मानिसहरु हिँडिरहेका हुन्थे, मैले पर बसेर दुर्विनले हेरिरहन्थेँ ।

त्यो ढुंगा आएपछि कुनामा ओट लाग्नुपर्दो रहेछ । मलाई त त्यो जोखिमपूर्ण बाटो क्रस गर्ने आँट नै आउँथेन । त्यतिबेला साथी पाएको भएँ फर्किन्थेँ पनि हुँला । जे होस, बाँचेर फर्किएँ । त्यहाँबाट केही हिमाली चराको स्पेसमेन्ट तयार पारेर ल्याउँदा चाहीँ निकै आनन्दको महसुस भयो ।

नेपालको सम्पत्ति काँडेभ्याकुर

म चराको खोजी गर्दै लेले पुगेको थिएँ । त्यहाँ एउटा चराको स्पेसमेन्ट पनि तयार पारेँ । त्यसको नाम थियो – काँडे भ्याकुर । तर, त्यस्तो चरा त विश्वको कुनै पनि ठाउँमा नपाइदो रहेछ । अहिलेसम्म पनि काँडे भ्याकुर नेपालमा मात्र पाइने प्रजातिको चराका रुपमा नै चिनिन्छ । त्यसलाई बीबीसी र डिस्कभरी च्यानलले ‘अननोन इन साइन्स’ भनेर विश्वभरी प्रचार गर्‍यो ।

अनि नेचुरल हिस्ट्री म्युजियम

मैले आनन्दकुटी साइन्स सेन्टरमा ‘वान म्यान’ शो गरेको थिएँ । त्यो हेरेपछि राजा वीरेन्द्रले प्रस्ताव गर्नुभयो कि सरकारलाई योगदान दिनुपर्‍यो, एउटा संग्रहालय बनाएर राखौँ । मैले त्यसलाई सहजै स्वीकारेँ । किनकि मेरो काम देशकै निमित्त थियो । त्यसपछि मेरो एक हजार चराहरुको प्रजातीय नमूनाले १९७७ मा त्रिभुवन नेचुरल हिस्ट्री म्युजियम बन्यो ।

मभन्दा पहिले बेलायतका हडसनले नेपालमा चराको स्पेसमेन्ट तयार परेका थिए । सन् १८२०–१८४४ सम्म यहाँ बसेका हडसनले १० हजारभन्दा बढी नमूना तयार पारेर गए । तर, उनले त्यसबारे न नेपाल सरकारलाई जानकारी दिए, न कसैलाई सिकाए । यतिसम्म कि ब्रिटिश म्युजियमले प्रकाशन गरेको हडसनको कितावमा सहयोगी नेपालीको नामसमेत उल्लेख गरेनन्, राजमानसिंह बाहेक । त्यसको उपलब्धीबारे थाहा भएको भए नेपालीले उहिले नै यस्तो काम गर्थे नि । उक्त कितावमा मलाई सोधेर नेपाली अर्निथोलोजिस्टको रुपमा मलाई भने कोड गरिएको छ ।

हडसनको त्यो व्यवहारले मलाई रीस उठ्यो । इख पनि पलायो । ‘उनले गर्न सक्छन् भने मैले किन नसक्ने ?’ त्यसपछि यस क्षेत्रमा अझ बढी लागेँ । हामी वाइल्ड लाइफमा यति धनी छौँ । तर, नेपालीहरु गैडा, बाघ मारेर खानेमा मात्र लागे, संकलन गर्न त कोही लागेन । यसमा दुःख लाग्छ ।

मलाई यत्तिमा खुशी लाग्छ कि आगामी पुस्ताले लोप भएका चराको पनि इतिहास थाहा पाउँछ । म त चराविनाको संसारको कल्पना गर्न सक्दिनँ । संसारमा चराले नै रुखका बिउ एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याए र जंगल फैलियो । रुख नभए चरा बाँच्दैन र चरा नभए रुख । योविना मानव जीवनको त कल्पना नै कसरी गर्न सकिन्छ र ?

प्रस्तुति: विश्वास खड्काथोकी 

तस्वीर: चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment