२६ पुस, विराटनगर । विराटनगर महानगपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा पूर्वाधार निर्माणको जम्मा १४ प्रतिशत रकममात्र खर्च गरेको छ ।
यो शीर्षकको पूँजीगततर्फको ३ अर्ब २५ करोड ३ लाख ३३ हजार र चालुतर्फको ३३ करोड ६८ लाख ५२ रुपैयाँमध्ये १४ प्रतिशत मात्रै खर्च भएको हो ।
महानगरले अहिलेसम्म ३९ वटा विकास पूर्वाधारको योजनाहरु सम्झौता गरेको छ । जसमध्ये ११ वटा मात्र पूरा भएको सूचना अधिकृत नन्दीकेशर भण्डारीले बताए । अझै ७१ प्रतिशत योजना सम्झौता हुन बाँकी रहेको छ । पूरा भएका भनिएका योजना पनि साना खालका मात्र छन् । हरुपनि साना र टुक्रे खालका रहेका छन।
सम्पन्न भएका ११ योजनाको लागि ५ करोड २९ लाख ३७ हजार ६३९ रुपैयाँ निकासा गरेको छ । यी योजना सबैजसो १० लाख रुपैयाँसम्मका छन् ।
महानगरले ३९ वटा योजना सम्पन्न गर्नका लागि ३ करोड ७४ लाख २० हजार रुपैयामा सम्झौता गरेको छ । यी योजना सबै सडक ग्राभेल गर्ने, नाला सफा गर्ने लगायतका साना र टुक्रे योजना समावेश छन् । त्यसैगरी गत बर्षको दायित्व सरेर आएका २०३ वटा योजनामध्ये १ सय २४ वटा योजनाको काम पनि सकिएको महानगर कार्यालयले जनाएको छ ।
योजनाको चाङ
विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा २ सय ७१ वटा नगरस्तरीय र ४ सय ४५ वडा स्तरका योजना समावेश गरेको थियो । मेयर भीम पुराजुलीले महानगरले समावेश गरेका योजनाहरु समयमै पूरा गर्न अहिले धमाधम रुपमा सम्झौता भईरहेको दाबी गरे ।
‘वैशाख मसान्तभित्र सबै योजना सम्भौता भई निर्माणको चरणमा प्रवेश गर्नेछ’ उनले भने ।
महानगरपालिकामा १ अर्ब ९४ करोड २५ लाख रुपैयाको लागतमा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रिय शहरी विकास परियोजनाले छुट्टाछुट्टै रुपमा सडक निर्माण, ढल निर्माणका साथै फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम गरिरहेका छन् ।
प्रतिक्रिया 4