Comments Add Comment

नेपाली फिल्ममा के बिक्छः अभिनय कि अनुहार ?

अहिले नेपाली चलचित्र क्षेत्रमा दुई नायकको समानन्तर रेश चलिरहेको छ । यस दौडमा विपिन कार्की र अनमोल केसी छन् । विपिन अभिनयबाट दर्शको मन जितिरहेका छन् भने अनमोल आफ्नो स्टारडम बनाएर चलचित्र क्षेत्रमा लिड गरिरहेका छन् । थिएटरबाट भित्रिएका विपिन कुशल अभिनय क्षमताका कारण चलचित्रमा व्यस्त बनिरहेका छन् भने अनमोल आफ्नो स्टारडमले बिकिरहेका छन् ।

यी दुई कलाकारमा केही समानता पनि छ । अनमोल र विपिनले सिमित चलचित्रमा मात्र काम गर्छन् । चलचित्रको लागि जोडतोड मिहिनेत पनि गर्छन् । विपिनले लुक्स र अभिनयमा पनि परिवर्तन गर्छन्, अनमोलले पनि लुक्स परिवर्तन गरिरहेका हुन्छन् । तर, दर्शकले विपिनको अभिनय मन पराउँछन् भने अनमोलको अनुहार । विपिन दर्शकको नजरमा परेका छन् भने अनमोल निर्माता–निर्देशकका लागि आकाशको फल बनेका छन् ।

विपिन र अनमोलको चलचित्रको पृष्ठभूमि फरक छ । विपिन थिएटरमा नाटक सिकेर संघर्ष गरेर चलचित्रमा प्रवेश गरे । अनमोललाई भने चलचित्रमा प्रवेश गर्न सजिलो भयो । उनको परिवार नै यो क्षेत्रमा लामो समयदेखि सक्रिय थियो ।
अहिले अभिनय र चकलेटी लुक्सको लडाई छ । कोही चकलेटी अनुहारमा आँखा लगाइरहेका छन् भने केही जमात अभिनय विनाको कलाकार के कलाकार भन्ने तर्क गर्छन् । तर, चलचित्र क्षेत्रले वा दर्शकले कुन कुरालाई लामो समयसम्म रुचाउने हुन् त्यो भने प्रश्नमा नै सिमित छ । अनमोल र विपिन दुबैका लागि लामो रेशको घोडा बन्नका लागि अझै मिहिनेत गर्न आवश्यक छ ।
****
आज भन्दा ५ वर्ष पहिला निर्माण भएको चलचित्र ’लुट’ पश्चात नेपाली चलचित्र जगतमा थिएटरबाट आएका कलाकारले प्रभुत्व जमाए । दयाहाङ राई, सौगात मल्ल लगायतका कलाकारहरु नेपाली चलचित्र क्षेत्रले पायो । उसो त उनीहरु यो चलचित्र भन्दा अगाडि नै यो क्षेत्रमा सक्रिय थिए । तर, दुबैलाई स्टार बनाउने काम ‘लुट’ले गरिरहेको थियो ।

चलचित्र ‘छड्के’बाट विपन कार्कीको हाइप बन्यो । ‘छड्के’ पश्चात् उनले अभिनय गरेको चलचित्र ‘पशुपति प्रसाद’ले उनलाई चर्चामा राखिदियो । विपिन ‘पशुपति प्रसाद’बाट युवा पुस्तामा निकै लोकप्रिय बने । ‘जात्रा’मा विपिनले निर्वाह गरेको भूमिकाले सबै पुस्ताका दर्शकको मन जित्यो । थिएटर बेस भएका विपिनको अभिनय क्षमता र उनको फरकपन दर्शकले रुचाए । उनी पनि चलचित्रमा निकै व्यस्त बनिरहेका छन् ।

थिएटरबाट आएका यी तीन कलाकारले चलचित्रमा केही वर्ष राज गर्दै गर्दा अघिल्लो पुस्ताका कलाकारहरुलाई रिप्लेस गरिदिए । निखिल उप्रेतीदेखि आर्यन सिग्देल र जीवन लुइटेलसम्मका चकलेटी कलाकारलाई थिएटरले उछिन्यो । आर्यन र जीवनको यूगको अन्त्य हुँदै गर्दा नेपाली चलचित्र संकटकाल लगाउनुपर्ने अवस्थामा पुगेको थियो । तर, त्यो बेलामा यी कलाकारले चलचित्र क्षेत्रलाई जोगाएको कुरा विर्सन मिल्दैन ।

अहिले दया, सौगात जस्ता कलाकारको क्रेज निकै कम छ । उनीहरु पनि पैसा कमाउने धुनमा लाग्दा आर्यन, जीवनकै जस्तै कमजोर बन्ने अवस्थामा पुगेका छन् । आज दयाहाङ, आर्यनको चलचित्र पहिलेको जस्तो चल्दैन । र यो विचमा फेरि एकपटक चकलेटी अनुहारहरुको क्रेज देखिदैछ । अनमोल केसी, प्रदिप खड्का जस्ता चकलेटी अनुहारमा दर्शक भुल्न थालेका छन् । पछिल्लो समयको चलचित्र आकडा हेर्दा दयाहाङ, सैगातको भन्दा अनमोल र प्रदीपकै चलचित्रको बढी हाइप बन्ने गरेको पाइन्छ । अनमोल र प्रदिपको पारिश्रमिकको चर्चा पनि निकै उच्च छ ।

यसरी हेर्दा नेपाली चलचित्रमा अभिनय भर्सेस स्टारडमको आलोपालो छ । अनमोल, प्रदिप अझै पनि आफ्नो अभिनयबाट दर्शक रिझाउन सकिरहेका छैनन्, तर उनीहरुको चकलेटी अनुहारले यूवालाई लोभ्याएको छ र एकपटक भएपनि हलसम्म तानेको छ । कुनै समय आर्यन, जीवनको अवस्था पनि यस्तै थियो ।
****
आज भन्दा ५ दशक पहिलेबाट नेपालमा चलचित्र निर्माणको कर्म सुरु भएको हो । नेपालमा निर्माण भएको पहिलो चलचित्र ’आमा’ हो । आमा चलचित्रमा थिएटरका कलाकारहरुको बाहुल्यता थियो । कलाकारहरु नपाइरहेको उक्त समयमा थिएटरमा काम गरिरहेका कलाकारहरुलाई नै चलचित्रमा अवसर दिइएको थियो । केही समय चलचित्र क्षेत्रमा थिएटरका कलाकारको वर्चस्व देखिएको थियो ।

चलचित्र क्षेत्रको विकास र चलचित्र निर्माणको क्रम बढेसँगै नयाँ पुस्ताका कलाकाहरु चलचित्र क्षेत्रमा प्रवेश पाए । त्यो समय चलचित्रमा थिएटरका कलाकार पर्याप्त नभएपछि बाहिरी व्यक्तीहरु चलचित्रमा भित्रिए । उक्त समय प्रवेश पाएका भुवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, राजेश हमाल जस्ता कलाकारहरुले थिएटरबाट प्रवेश पाएका कलाकारहरुलाई विस्थापित गरे र लामो समयसम्म स्टारडम बनाउन सफल भए ।

उक्त समयपश्चात् चकलेटी अनुहार नै दबदबा बन्यो । राम्रो अभिनय भन्दा पनि राम्रो फाइट खेल्ने कलाकार दर्शकको नजरमा परे । त्यो समय नै त्यस्तै थियो । दिलिप रायमाझी, निखिल उप्रेती, विराज भट्ट पनि चकलेटी अनुहार, लामो कपाल र दमादार फाइट चलिरहेकै समय चलचित्रमा भित्रिएका थिए ।

चलचित्र क्षेत्रमा जो जसरी आएपनि अभिनयमा विविधता ल्याउन सकिएन भने लामो समयसम्म टिक्न सकिदैन । चलचित्रमा चल्ने अन्त्यमा कथा र त्यो कथामा कलाकारको जीवन्त अभिनय नै हो । तर, नेपाली चलचित्रमा अभिनय भर्सेस स्टारडमको आलोपालो भने लामो समयदेखि चल्दै आएको छ । कुनै कलाकार अभिनय र स्टारडम दुबै भएको खण्डमा त्यो सुनमा सुगन्ध नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment