Comments Add Comment

सन् २०१९ मा नेपथ्यको पहिलो कार्यक्रम फिदिममा

२६ पुस, काठमाडौं । मेचीदेखि महाकालीसम्मको ‘नेपाल यात्रा’ सम्पन्न गरेपछि चर्चित सांगीतिक ब्याण्ड नेपथ्य फेरि पूर्वतिरै जाने भएको छ । नेपथ्यले माघे संक्रान्तिको भोलिपल्ट पाँचथरको फिदिममा प्रस्तुति दिँदैछ ।

माघ २ गते फिदिम उच्च माविको खेल मैदानमा ब्याण्डले लोकरक तथा अन्य सिर्जनाहरु सुनाउनेछ । दशैं लगत्तै सिक्किमको राबाङ र त्यसपछि देशका प्रमुख चारवटा सहरको ‘नेपाल यात्रा’ गरेपछि नेपथ्यलाई अन्य पनि विभिन्न सहरहरुबाट कन्सर्टको निम्ति प्रस्ताव आएको थियो । त्यसमध्ये हालसम्म नेपथ्यले प्रस्तुत गर्न नपाएको नयाँ सहर भएकै कारण फिदिमलाई प्राथमिकतामा राखिएको हो ।

नेपथ्यलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले अंग्रेजी नयाँ वर्षसँगै नेपथ्यलाई नयाँ स्थानमा प्रस्तुत गर्ने इच्छाअनुसार फिदिममा सन् २०१९ को पहिलो कन्सर्ट हुने बताए ।

‘केहि वर्षअघि इलामको फिक्कल पुग्दा त्यहाँका दर्शकले देखाएको आत्मीयता मैले अझै भुल्नसकेको छैन,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘ठूला व्यावसायिक आयोजनाहरुको आफ्नै महत्व छन् । मलाइ भने साना सहरका प्रिय श्रोताहरुको घेरामा पुग्दा अझ आनन्द लाग्छ ।’

स्थानीय आयोजकका अनुसार बुधबारको कन्सर्टका निम्ति पाँचथर बाहेक झापा, इलाम, तेह्रथुम र ताप्लेजुङमा समेत कन्सर्टको प्रचार प्रसार तीब्र पारिएको छ ।

नेपथ्यमा अमृत गुरुङलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment