Comments Add Comment

किन चुक्यो थ्रीस्टार ? प्रशिक्षक भन्छन्ः टिम बनाउँदा गल्ती भयो

२७ पुस, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले सोचेको नतिजा ल्याउन सकेन । उपाधिको अपेक्षा गर्दै प्रतिस्पर्धामा होमिएको थ्रीस्टारले तेस्रो स्थानमै चित्त बुझाउनुपर्‍यो ।

मुख्य प्रशिक्षक मेघराज केसी नतिजो नराम्रो नभए पनि उपाधि जित्न नसक्दा निराश बनेको बताउँछन् । टिम बनाउनमै केही गल्ति भएको उनको भनाइ छ । केसी भन्छन्, ‘हामीले मोफसलमा खेलेकै खेलाडीलाई समेटेर हामीले लिग खेल्ने तयारी गर्‍यौं । अन्य टिमले मोफसलमा खेलेको टिममा अन्य खेलाडीलाई पनि समेटे । राम्रा खेलाडी भित्र्याए । हामीले चाहिँ त्यही टिमलाई विश्वास गर्‍यौं । यही मूख्य कमजोरी भयो जस्तो लाग्छ ।’

त्यसो त थ्रीस्टारले सुरुवाती समयदेखि नै भरोसा गरेका खेलाडीबाट राम्रो प्रतिफल पाउन सकेन । अनन्त तामाङ मनाङ मर्स्याङ्दीसँग पनि सम्झौता गरेका कारण मैदान बाहिरै रहँदा थ्रीस्टारको डिफेन्स लाइन निकै फितलो देखियो । विशेषगरी मनाङ, संकटा र पुलिसको खेलमा अनन्तको अभाव खट्किएको थियो ।

टिम सेटमा रहेका खेलाडीले पनि यो पटक आफ्नो भूमिकामा न्याय गर्न सकेनन् । ‘खेल्दै जाँदा हाम्रा खेलाडीहरु निकै घाइते भए । मार्टिन्सलाई हामीले राम्रोसँग खेलाउन सकेनौं । त्यही कारण हामी मुख्य प्रतिद्वन्द्वी टिमविरुद्ध कमजोर देखियौं,’ प्रशिक्षक केसीको तर्क छ, ‘महत्वपूर्ण खेलमा आत्मघाती गोल, अनावश्यक पेनाल्टीले गर्दा पनि अघि बढ्न सकेनौं ।’

मनाङसँग हार टर्निङ प्वाइन्ट

थ्रीस्टारले आफ्नो पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ गोलको फराकिलो गोलअन्तरले पराजित गर्दा उपाधिको दाबेदार टिमको रुपमा हेरियो पनि ।

तर, थ्रीस्टारको विजयी यात्रा यसपछिको खेलमा जारी रहन सकेन । तेस्रो खेलमा उसले मनाङसँग प्रतिस्पर्धा गर्दै थियो । दुबै टिम जितको खोजीमा थिए । यदि एक–अर्कालाई पराजित गर्न सके उपाधि जितिन्छ भन्ने दुबै टिमलाई थियो ।

आफ्नै कमजोरीका कारण थ्रीस्टार मनाङ मर्स्याङ्दीसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो ।

थ्रीस्टारले आत्मघाती गोल गर्दा मनाङले जित निकालेको थियो । प्रशिक्षक केसी भन्छन्, ‘हाम्रो टर्निङ प्वाइन्ट चाहिँ मनाङ मर्स्याङ्दी क्लबसँगको खेल नै हो । हामीलाई पराजित गरेपछि मनाङले करिब–करिब ५० प्रतिशत लिग जितिसकेका थियो ।’

त्यसपछिका केही खेलमा थ्रीस्टारले साना टिमलाई पराजित गरे पनि सोचे अनुरुपको नतिजा ल्याउन सकेन । ‘खेलाडीको प्रदर्शन जुनसुकै खेलमा पनि एउटै हुन्छ भन्ने त हुँदैन । पाँचवटा खेलमा एउटा खेल बिग्रिनु अलग कुरा होला तर, थ्रीस्टारको पाँच वटा खेलमा चार वटा खेल विग्रिनु भनेको टिमको लागि निकै घाटा हो,’ केसी थप्छन्, ‘खेलाडीले अलिक गम्भिर नभइको जस्तो महशुस गर्‍यौं । लिगमा हामी किन चुक्यौं भन्ने अध्ययन गरिरहेका छौ ।’

पुलिसविरुद्ध ३–१ को हार

युवा खेलाडीले भरिभराउ विभागीय टिम नेपाल पुलिस क्लबसँग हार्नु थ्रीस्टारको लागि उपाधि होडबाट बाहिरिनु जस्तै बन्यो । थ्रीस्टारले खेलअवधि भर बल नियन्त्रणमा पनि राख्यो तर, आफ्नै कमजोरीको कारण हार्न पुगयो ।

प्रशिक्षक केसी भन्छन्, ‘पुलिसले थ्रीस्टारलाई दबाएर गोल गरेको होइन । हाम्रै डिफेन्डरहरुको गल्तीका कारण तीन गोल खान पुग्यौं । सबै गोलमा डिफेन्डरको गल्ती देखिन्छ ।’

च्यासलसँग बराबरी

थ्रीस्टारको उपाधि होडमा अर्को टिम बाधकको रुपमा देखापर्‍यो, च्यासल । च्यासलले थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । यो च्यासलको लागि ठूलो सफलता थियो तर, थ्रीस्टारको लागि उपाधिमै धक्का ।

पहिलो पटक ए डिभिजन लिगमा डेब्यु गर्दै गरेको टिमसँग स्टार खेलाडीले भरिभराउ थ्रीस्टार बराबरीमा रोकिदा यसको प्रत्यक्ष फाइदा भने मनाङ र संकटालाई पुग्यो ।

बराबरी रोकिनुको कारण राम्रा खेलाडी घाइते हुनु भएको प्रशिक्षक केसीको जिकिर छ । भन्छन्, ‘खेलाडीको समस्या हुन थाल्यो । मार्टिन्स र सुनिल बल घाइते भए । निराजन खड्का कार्डको कारण खेल्न नपाउनु जस्ता कुराले हामी च्यासलसँग रोकियौं ।’

आर्मीसँग जित्दा जित्दै रोकियो

लिगको चौथो स्थानमा ए डिभिजन लिग टुंग्याएको आर्मीसँग थ्रीस्टारले खेलअवधि भर उत्कृष्ट प्रदर्शन गर्‍यो । तर, अन्तिम समयमा गल्ती गर्दा बराबरीमा रोकिन पुग्यो ।

पहिलो हाफमा आर्मीमाथि थ्रीस्टार हावी थियो । ७० औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निर्धारित ९० मिनेटसम्म एक गोलले अगाडि रहेको थ्रीस्टारले खेल सकिन करिब ३० सेकेन्ड बाँकी छँदा गोल खायो । आर्मीले जसप्रिन्स कार्कीको फ्रिकिक गोलबाट बराबरी खेलेको थियो ।

यो खेलमा आफ्नो टिम अभागी रहेको केसीको बुझाइ छ । उनी भन्छन्, ‘हामी एक गोलको अग्रतामै खेलिरहेका थियौं । आर्मीमाथि दबाब पनि दिइरहेका थियौं । तर, आर्मीले अन्तिम समयमा राम्रो स्थानमा फ्रिकिक पायो । त्यही फ्रिकिकमा गोल भयो । हामीले कमब्याक गर्न मौका पनि पाएनौं ।’

त्यसो त, संकटा क्लबसँग २–१ गोलले पराजित हुँदै थ्रीस्टार तेस्रो स्थानतिर धकेलिएको थियो । यो थ्रीस्टारको लागि निकै निराशाजनक नतिजा थियो ।

खेलाडीमाथि ‘छानविन’

थ्रीस्टारले ए डिभिजन लिगमा सोचेको नतिजा नआएको विषयमा अनुसन्धान गर्ने भएको छ । एकपछि अर्को खेलमा खेलाडीले खराब प्रदर्शन गर्नुपछाडिको कुरा पत्ता लगाउन क्लबले अनुसन्धान सुरु गरेको प्रशिक्षक केसी बताउछन् ।

‘छानविन गरेर वास्तविक कुरा ल्याउन खोजिरहेका छौं । यो विषयमा मैले तपाईलाई भनिहाल्नु पर्ने त्यस्तो केही पनि छैन । सत्य तथ्य पत्ता लाग्ला,’ प्रशिक्षक केसीले भने ।

खेलाडीमाथि नै छानविन हुँदैछ ? भन्ने प्रश्नमा प्रशिक्षक केसी भन्छन्, ‘गर्नैपर्ने अवस्था छ नि, होइन र ? छानविन गर्न सकेनौं भने समस्या फेरि दोहोरिनसक्छ ।’

‘तपाईले म्याच फिक्सिङ (खेल मिलेमतो) को आशय त व्यक्त गर्नुभएको होइन ?’ भन्ने प्रश्नमा थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘अहिलेको लागि हाम्रो टिमको समस्या बुझ्नलाई छानविन गरिरहेका छौं । त्यसको परिणाम जे पनि आउन सक्छ । अहिले नै मैले प्वाइन्टआउट गरेर भन्न सक्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment