Comments Add Comment

रुपन्देही गोली प्रकरण : कुख्यात अपराधीसँग वास्तविक मुठभेड !

२९ पुस, काठमाडौं । थुप्रै कुख्यात अपराधीहरु प्रहरीसँग भएको मुठभेडमा मारिएका छन् । तर, हरेक घटनामा सानो वा ठूलो स्वरमा प्रश्न उठ्छ कतै फर्जी मुठभेड त होइन ?

शनिबार साँझ भैरहवामा पनि मुठभेड भयो । तर, झण्डै २४ घन्टासम्म प्रहरीले मुठभेडमा मारिएका व्यक्तिको पहिचान नै गर्न सकेन । सिद्धार्थ नगरपालिका–१०, शंकरापुरमा भएको झडपमा केदार सहानी मारिएका थिए, जो रुपन्देही, कपिलवस्तु र भैरहवा क्षेत्रमा आतंकको पर्याय बनेको प्रहरीको दाबी छ ।

आइतबार साँझ करिब ५ बजेतिर मृतक ‘मोस्ट वान्टेड’ अपराधी सहानी भएको पुष्टि हुँदा अनुसन्धान अधिकारी आश्चर्यमा परे । एक अनुसन्धान अधिकारीले भने, ‘धेरै पहिलेदेखि हामीले खोजी गरिरहेका थियौं । एक्कासी मारिएको खबर आयो ।’

दिउँसोसम्म रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले मुठभेडमा एक तस्करको मृत्यु भएको बताउँदै आएका थिए । तर, साँझ सहानीका भाइ गोविन्द आएर सनाखत गरेपछि कुख्यात अपराधी मारिएको पुष्टि भएको छ ।

घटनामा एक प्रहरी जवानसमेत घाइते भएका छन् । घाइते जवान कृष्ण श्रेष्ठको हातको दायाँ पट्टी गोली लागेको छ । ‘अलिकति पनि दायाँबायाँ भएको भए मुटुमै गोली लाग्नेरहेछ’, अनुसन्धान अधिकारीहरु भन्छन्, ‘हाल उनी खतरामुक्त छन् ।’

सहनीमाथि ३ राउण्ड गोली लागेको छ । उनको साथबाट ४ वटा गोली बरामद भएको छ ।

कसरी भयो घटना ?

पछिल्लो समय प्रदेश ५ का जिल्लाहरुमा तस्करी बढेको खबरहरु आइरहेको थियो । प्रहरीले चोर–तस्करमाथि निगरानी बढायो, गस्ती टोलीहरु व्यापक परिचालन भएका थिए ।

शनिबार राति सिद्धार्थनगर–१०, शंकरापुरमा पनि गस्ती टोलीले आउने जाने सम्पूर्ण सवारी साधानलाई चेकजाँच गरिरहेको थियो । यूपी ५३ एच २०२८ नम्बरको प्लेट भएको मोटरसाइकल उनीहरु छेउ आयो, जसको गतिविधि अन्य सवारी साधानभन्दा भिन्न थियो । प्रहरी देखेपछि मोटरसाइकलको गति बढेको थियो ।

त्यहाँ खटिएका प्रहरीले रोक्न खोज्यो तर, आफूमाथि गोली प्रहार भएपछि जवाफ कारबाही गरिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका सहनीलाई अस्पताल लैजाने कोसिस गरिएको भएपनि बाटैमा मृत्यु भएको प्रहरीको दाबी छ ।

यो पनि पढ्नुहोस प्रहरीको गोली प्रहारबाट रुपन्देहीमा एक व्यक्तिको मृत्यु

सहानीको अपराध यात्रा

अनुसन्धान अधिकारीहरु सहानीलाई प्रहरी मुठभेडमा मारिएका मनोज पुनभन्दा गम्भीर प्रकृतिको अपराधी मान्छन् । एक अनुसन्धान अधिकारी भन्छन्, ‘उनी कुख्यात अपराधी थिए ।’

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा भएको अभिलेख अनुसार २३ असार ०६५ मा उनी कपिलवस्तुमा अटोमेटिक पेस्तोल र गोलीसहित समातिएका थिए । जिल्ला प्रशासन कार्यालयले १५ भदौमा थुनामा राख्न कपिलवस्तु कारागार पठायो ।

तर, उनीसहित अपराधीहरुको एउटा समूह २ माघ ०६६ मा कारागारबाट सुरुङ खनेर भाग्न सफल भयो । त्यसयता प्रहरीले उनलाई खोजी रहेको थियो तर, उनी पक्राउ परको थिएनन् । उल्टै अपराधिक गतिविधि बढाउँदै लगिरहेका थिए ।

सशस्त्र समूह सक्रिय रहेका बेला उनी जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध भए । उनले रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रका व्यापारीलाई धम्क्याएर चन्दा असुली गर्न थाले । भारतीय सीमावर्ती क्षेत्रमा बसेर नेपालमा अपराधको रजगज चलाउँदै आएका उनले २८ भदौ ०७१ मा सिद्धार्थनगर–८ का मेनपावर सञ्चालक आकाश गुरुङको अपहरणसमेत गरेका थिए ।

सहानीको समूहले १ करोड फिरौती माग गर्दै चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका दक्षिणी क्षेत्रका घर तथा होटलहरुमा गुरुङलाई लुकाएर राखेको थियो । वैदेशिक रोजगारीका क्रममा कोरिया बसेर फर्किएका गुरुङबाट ठूलो रकम हात पार्न सकिने उनीहरुको आश थियो । तर, प्रहरीले खबर पायो । गुरुङ एक पटक अपहरणकारीको कब्जाबाट उम्कन सफल पनि भएका थिए ।

अपहरणकारीले उनलाई समात्न सफल भए र, गोली हानेर गुरुङको हत्या गरियो । जसको भिडियो समेत बनाइएको थियो र सीडी परिवारलाई पठाइएको थियो । घटनाको ६ दिनपछि ११ भदौमा महेन्द्र राजमार्गको भूताहा बजारदेखि करिब ४ किलोमिटर उत्तरमा रहेको सामुदायिक वनमा नचिनिने अवस्थामा शव भेटियो ।

घटनामा संलग्न ५ जना पक्राउ परेका थिए तर, लामो समयसम्म सहानीको कनेक्सन खुलेको थिएन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट गएको टोलीले घटनामा जेलबाट भागेका सहानीको कनेक्सन भेटेको थियो । त्यसयता उनीमाथि विभिन्न अनुसन्धान अधिकारीहरुले निगरानी राखे पनि ट्रेस भएका थिएनन् ।

केही महिनाअघि गुरुङकी आमाले उनलाई देखेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । तर, प्रहरीले यकिन गर्न सकेको थिएन । अन्ततः उनी शनिबार राति प्रहरीसँगको झडपमा मारिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment