Comments Add Comment

चितवनमा ६२ करोड लगानीमा कविलास रिसोर्ट सञ्चालन

१ माघ, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा झण्डै ६२ करोड लगानीमा ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ निर्माण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ मा करिब ४२ विगाहा क्षेत्रफलमा रिसोर्ट निर्माण गरिएको हो ।

निर्माणकारी संस्था कविलास रिसोर्ट एण्ड फन पार्क प्रालिको दावी अनुसार यो देशकै ठूलो रिसोर्ट हो । रिसोर्टमा ६२ जनाको लगानी छ ।

फन पार्कको औपचारिक उदघाटन हुन भने बाँकी छ । आगामी वैशाखमा पूर्णक्षमतामा सञ्चालन गर्ने योजना रहेको कबिलास रिसोर्ट प्रा.लि.का अध्यक्ष इन्जिनियर बाबुराम उपाध्यायले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डबाट १.५ किलोमिटर माथि रहेको फन पार्क पुग्न नारायणगढ बजारबाट १२ किलोमिटरको दूरी पार गर्नुपर्दछ । रिसोर्टसम्म जान नारायणगढबाट दुईवटा बस आफैंले सञ्चालन गर्ने योजना रहेको प्रा.लि.का अध्यक्ष उपाध्यायले बताए ।

पिकनिक खाने जानेहरूको भिड

शहरको नजिक रहेका पहाडी भूभागहरूलाई कसरी पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने मोडल देखाउन रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायको भनाई छ । ‘चितवन राष्ट्रिय निकुञ्जका जंगली जनाबर हेरेर मात्रै नभई नेपालको पहाडी भूभागको बसोबास र अवस्थितिबारे जानकारी लिनसमेत रिसोर्ट महत्वपूर्ण हुन्छ,’ अध्यक्ष उपाध्यायले भने, ‘आन्तरीक पर्यटक र बाह्य पर्यटकहरुलाई चितवनमा आकरर्षित गर्न थप एउटा गन्तब्यका रूपमा कविलास रिसोर्ट पनि रहेको छ ।’

चितवनमा वार्षिक तीन लाखभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । हाल दैनिक १२ सय जति पर्यटकहरू यो रिसोर्टमा आउने गरेका छन् । चितवन, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाबाट पर्यटक आउने गरेका छन् । पिकनिक खानेहरूको भिड रिसोर्टमा लाग्ने गर्दछ ।

बास बस्ने पर्यटकहरू अधिकांश भारतीय छन् । परिवार लिएर शान्त र मनोरम स्थानमा रमाउने ठाउँ कतै नभएकाले रिसोर्ट निर्माण गरिएको अध्यक्ष उपाध्यायले बताए ।

५५० मिटर उचाइमा रहेको रिसोर्टमा नारायणगढभन्दा ५ देखि ७ डिग्रीसम्म तापक्रम फरक पर्ने अध्यक्ष उपाध्यायले बताए । गर्मीको समयमा शितल र जाडोको समयमा विहानै पारिलो घाम कविलासको पहाडी भूभागमा अनुभूती गर्न पाइने अध्यक्ष उपाध्यायको दावी छ ।

कविलासको अग्लो पहाड चौकीडाँडासम्म पुग्न सडकपेटी पनि निर्माण गर्ने योजना छ । भरतपुर महानगरले चौकीडाँडामा भ्यूटावर निर्माण गर्ने योजना बनाएको छ । रिसोर्टबाट चितवनको मुख्य–मुख्य बजार तथा देवघाट धाम को मनोरम दृष्य अवलोकन गर्ने सकिन्छ । चौकीडाँडाबाट हिमालयको दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।

के-के छन् रिसोर्टमा ?

रिसोर्ट एवम् पार्कमा अहिले ७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । कविलास रिसोर्टमा १२ रेष्टुरेन्ट छन् । ४ वटा रेष्टुरेन्टमा १५ देखि २० जना र ८ वटा रेष्टुरेन्टमा ४ देखि ६ जनासम्म मानिस अट्छन् । ८० जना क्षमताको बार छ । ४४ वटा सुविधा सम्पन्न कोठाहरु पनि रहेको रिसोर्टका म्यानेजर सुलभ ढकालले बताए । ३४ वटा कोठामा ३ जना र १० वटा कोठामा २ जना अटाउँछन् । एउटा कोठा दुई हजारदेखि तीन हजार रुपैयाँमा उपलब्ध हुनेछन् ।

रिसोर्टमा ७ वटा भिल्ला छन् । तिनमा ६ जना प्रत्येकमा बस्न सकिने व्यवस्था छ । एक रातमा रिसोर्टमा १६० जनासम्म सजिलोसँग बस्न सकिने म्यानेजर ढकालले जानकारी दिए ।

तीनवटा सेमिनार हल छन् । एउटामा ३०० र बाँकी दुई वटा सेमिनार हलमा दुई–दुई सय जना अट्छन् । पिकनिक स्पटहरु सेटसहितका २१ वटा छन् । दाउरा, भाँडाकुँडा, बिजुली पानीसहितको व्यवस्था गरिएको छ । आवश्यकता अनुसार अरु पिकनिक स्पटहरु पनि थप गर्दै लैजाने योजना रहेको रिसोर्ट म्यानेजर ढकालले बताए ।

मन्दिरमा भजनकिर्तन

रिसोर्टको सबैभन्दा माथि मन्दिर निर्माण भैरहेको छ । मन्दिरमा भजनकिर्तन, नाचगान गर्न सकिन्छ । विवाह व्रतवन्धसमेत गर्न मिल्ने गरी संरचनाहरु तयार गरिएका छन् ।

फनपार्कमा तीन सय रुपैयाँको टिकट काटेर मात्रै भित्र प्रवेश गर्न पाइन्छ । तीन सय रुपैयाँको टिकट लिएपछि फनपार्कभित्र भएका सबै खेलहरुमा पर्यटकहरु सहभागी हुन पाउँछन् ।

अहिले वाटर गेम सञ्चालनमा आउन बाँकी छ । केही दिनमा नै यसलाई पनि सञ्चालनमा ल्याइने म्यानेजर ढकालले बताए । बाइक रेस, कम्प्युटर र भिडियो गेम, पुज बल, बुल राइड, फास्ट फुड, ब्रेक डान्स, फ्रिज बी, फेरीस ह्वील, ड्रयागन कोष्टर, बेवी ट्रेन, सन एण्ड मुन, स्ट्रिकिङ कार लगायतमा बालबालिका तथा उनीहरूका अभिभावक रमाउन सक्छन् ।

बाटर गेममा परिवारका सवै सदस्य बसेर खेल्न मिल्ने फेमिली स्लाइड, मल्टिपल स्लाइड, सिंगल स्लाइड, किड्स स्लाइड रहेका छन् । यस्तै वेभ पुल पनि रहेको छ ।

आफ्नै अर्गानिक फर्म

रिसोर्टमा घरपालुवा तथा केही जंगली जनावरहरू राखेर मिनि चिडियाखाना निर्माणको काम पनि अघि बढेको छ ।

पहाडी जनजीवन र बसोबासको अनुभूति दिलाउने गरी रिसोर्टमा आउने पर्यटकहरुलाई आकर्षित गर्न अर्गानिक फर्म सञ्चालन गरिएको छ । स्थानीय जातका कुखुरा, खसी बाख्रा पालिएको छ । हाँस, खरायो, बट्टाई चरा पालन गरिएको छ । तरकारीसमेत अर्गानिक ढंगबाट उत्पादन गरेर खुवाउने योजना छ ।

‘पहाडी क्षेत्रमा निर्माण भएकाले पहाड नै पुगेको अनुभुति छोटो दूरीमा रहेको रिसोर्टबाट पर्यटकहरुलाई होस् भन्ने चाहाना छ,’ म्यानेजर सुलभ ढकालले भने, ‘शैली आधुनिक भएपनि खानपान र बसोबास ग्रामिण परिवेश होस् भन्ने चाहेका छौं ।’

‘ग्रामिण भेगमा समेत रिसोर्टलाई लक्षित गरी स्थानीय जातका कुखुरापालन, खसी बाख्रापालन र तरकारी खेती प्रवद्र्धन हुन्छ भन्ने विश्वास छ,’ ढकालले भने, ‘उहाँहरूले उत्पादन गरेका ति वस्तु वा सेवाको खरिद हामी गर्छौं त्यसले आयआर्जनमा पनि टेवा पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment