Comments Add Comment

डुंगामा सवार नेकपाका सम्भावना र चुनौती

नेपाली राजनीतिक वृत्तमा नेतृत्वको दक्षता, क्षमता, कार्यशैली र आचरणलाई विकाससँग जोडेर बहस चल्न थालेको छ, यो खुसीको कुरा हो । राजनीतिक परिवर्तन मूलतः संस्थागत भइसकेपछि विकास र समृद्धि राजनीतिक पार्टीको प्रमुख कार्यभार बन्नु आवश्यक र स्वाभाविक छ ।

तर, विकास कस्तो ? सामाजिक न्याय र राष्ट्रिय अस्मितासहितको भरपर्दो र दिगो विकास कि पराधीनतासहितको औषत आयको उपल्लो आँकडा देखाउने ? समानतामा आधारित पर्यावरण मैत्री विकास कि मानव जातिको अस्तित्व नै खतरामा पार्ने विकास ? कुन दार्शनिक मान्यतामा, द्वन्द्वात्मक भौतिकवादी दार्शनिक मान्यतामा टेकेर विकास कि अधिभूतवादी आदर्शवादमा टेकेर ? समाजवादतिर अग्रसर गराउने राष्ट्रिय पूजीवादको विकास कि साम्राज्यवादतिर अग्रसर गराउने दलाल र आसेपासे पोस्ने पुँजीवादको विकास ? सामान्य सुधार कि रेडिकल सुधार ? यो विषयमा पार्टीमा मात्र होइन, जनस्तरमै बहस जरुरी भइसकेको छ । तर, यस विषयमा पार्टीभित्र पर्याप्त छलफल नहुदा बुझाइमा समानता पाईदैन । एउटै ताल र लयमा नेतृत्व र पार्टी पंक्ति परिचालित नभई संक्रमणकालीन सत्ता सञ्चालन गरेर विकास गर्न सकिन्न ।

विश्वमा दुई दार्शनिक मान्यता (भौतिकवाद र आदर्शवाद) मा आधारित राजनीतिक पार्टीहरु मात्रै अस्तित्वमा छन् । वर्गीय समाजमा वर्ग पक्षधरताबिनाको राजनीतिक पार्टी ‘सोम शर्माको सातु’ को कथा जस्तै हो । वर्गनिरपेक्ष देखिन द्वैतवाद अँगाल्नेहरु सारमा आदर्शवादी नै हुन् । प्रश्न ‘सरभाईवल अफ द विकेस्ट’को मान्यतामा आधारित पार्टी कि ‘सरभाईवल अफ द फिटेस्ट’ को मान्यतामा आधारित पार्टी ? यी दुबै मान्यतालाई मिलाएर नयाँ विचार सहितको पार्टी बनाउन उद्यत कतिपय ‘बौद्धिक’ नेताहरुको सारसंग्रहवादी चिन्तन ‘नयाँ बोतलमा पुरानै रक्सी’ सिवाय केही होइन ।

कम्युनिस्टहरुले मार्क्सवादको विकास गरेर सबै प्रकारका चुनौतिको सामना गर्दै विश्वलाई मार्ग दर्शन गर्दै आएका हुन् । राजनीतिक विचार र संगठनात्मक विधि-पद्यतिको विकास अबरुद्ध भएपछि कम्युनिष्टहरु रक्षात्मक हुन पुगेका हुन् । एकथरिले विचारको रक्षाका नाममा समाज बदल्ने गतिशील कम्युनिष्ट विचारलाई स्थिर धर्म ग्रन्थमा परिणत गरिदिएका र अर्कोथरीले विचारको विकासको बहानामा माक्र्सवादको वर्ग पक्षधरतालाई नै परित्याग गरेर कम्युनिष्ट साइनबोर्ड बोकेर पुँजीवादी बाटो समातेका उदाहरण खोज्न टाढा जानुपर्दैन । यी दुई अतिवादी धारतिर नेपालको कम्युनिष्ट आन्दोलन गइरहेको थियो । तर, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकताले यो संकटबाट कम्युनिष्ट आन्दोलन मुक्त हुने वातावरण तयार गर्दै लगिरहेको छ ।

यतिखेर राष्ट्र र नेपाली जनताको भविश्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भविश्यसँग जोडिएको छ । वर्तमानका चुनौतिभित्र महान सम्भावनाका भ्रुणहरु विद्यमान छन् । दुई पार्टीको एकताले नयाँ ज्ञान र अनुभव सहितका क्षमता र प्रतिभाहरुलाई एक ठाउँमा उभ्याइदिएको छ । यसभित्र चल्ने वहस र छलफलले नेपालको मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमा पैदा भएको संकटको समेत समाधान गर्ने आधार तयार गर्न सक्छ ।

नयाँ संविधानसहित दुईतिहाई बहुमतको सरकार बनेपछि नयाँ शीराबाट विभिन्न बृत्तमा बहस चलिरहेको छ । यतिबेला हाम्रा कमजोरीमाथि टेकेर कम्युनिष्ट र कम्युनिष्ट पार्टीप्रति भ्रम पैदा गर्ने कोसिस भैरहेको छ । बिस्तारै यो भ्रम जनतातिर लैजान खोजिँदैछ । यस सन्दर्भमा, जनस्तरबाट आलोचित भएका आफ्ना कमजोरीलाई सच्याएर उपलब्धिहरुलाई ब्यवस्थितरुपमा प्रस्तुत गर्दै अग्रगामी चेतनाबाट बहसमा सहभागी नहुने हो भने छट्टु स्यालले ‘चिल आयो-चिल आयो’ भनेर कुखुरा चोरेको घटना चरितार्थ नहोला भन्न सकिन्न । जनताको ध्यान अन्यत्र मोडेर आफ्नो पुरातन र यथास्थितिवादी सोच हाबी गराउने यो प्रयासलाई निरर्थक बनाउनु सबै क्रान्तिकारी र प्रगतिशील पक्षको दायित्व हो ।

यो पिढीँले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा तय गर्‍यो । जुन विचारको विकास गरेर मात्र सम्भव भएको हो । जसरी यो नयाँ नेतृत्वको टिम अगाडि आएपछि यी परिवर्तनहरु सम्भव भए, पुरानै नेतृत्वको निरन्तरता भएको भए यो परिवर्तन सम्भव थिएन । राजनीतिक परिवर्तन र संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेको वर्तमान पिँढीले समाजवादी परिवर्तनको कार्यभार पूरा गर्न नयाँ पिँढीमा भर पर्नैपर्छ । नेतृत्वको वर्तमान पिँढीले समाजवादका आधारहरु खडा गर्न नयाँ युवाहरुलाई आकषिर्त गर्न सक्नुपर्छ । इतिहासमा पुष्पलाल, मनमोहन, मोहनविक्रम, निर्मल लामाहरुले नयाँ क्रान्तिकारी युवाहरुलाई परिवर्तनको आन्दोलनमा तान्न भूमिका खेल्नुभयो ।

वर्तमान राजनीतिक नेतृत्वको टिमले यो अभिभारा पूरा गर्न सक्नुपर्छ । हामी आफैंले समाजवादी परिवर्तनको कार्यभार पनि पूरा गछौर्ं भनेर अड्डी लियौं भने जीवनको उत्तरार्द्घमा मोहनविक्रम सिंह र मोहन वैद्य ‘किरण’ को नियति हामीले पनि भोग्नुपर्ने नहोला भन्न सकिन्न । यसका लागि निम्न विषयमा ध्यान दिनु जरुरी छ ।

विकास, समृद्धि र राष्ट्रियताको कुरा चर्कोसँग उठिरहेको छ । यसमा राजनीतिक दलबीच अस्वस्थ्य प्रतिस्पर्धा पनि चलिरहेको छ । तर, हामीले अहिले अभ्यास गरिरहेको विकास सामान्य सुधार र पुरानोकै निरन्तरता हो । जनताले विदेशमा पलायन भएका बुद्धि र पाखुरी देशमा फर्काउने विकासको मोडेल खोजेका छन् । २००७ र ०४६ सालको परिवर्तन मात्रात्मक राजनीतिक परिवर्तन थियो । २००७ सालदेखि चलेको पूँजीवादी आन्दोलनले सामन्तवादको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरेपछि पूँजीवादी क्रान्तिको मूलभूत कार्यभार पूरा भएको छ । यसर्थ, विकासमा रेडिकल परिवर्तन जरुरी छ । विकास, समृद्धि र राष्ट्रियता अभिन्नरुपले जोडिएका छन् ।

राष्ट्रियताबिनाको समृद्धि र विकास तथा विकास र समृद्धिबिनाको राष्ट्रियताको अर्थ छैन । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख कार्यभार पूरा गर्न सामाजिक न्यायसहित दिगो विकासको अवधारणा आवश्यक छ । कृषि, पर्यटन र उर्जा विकासलाई केन्द्रमा राखेर पर्यावरणमैत्री रोजगारीमूलक उत्पादन र जनताको जीवनस्तर माथि उठाउने कुराले सर्वाधिक महत्व राख्दछ । यसका लागि नेकपाले संकल्पसहितको अभियान सञ्चालन गर्नु आवश्यक छ । उत्पादन र रोजगारीको यो अभियानमा सबै नेता कार्यकर्ता सरिक हुनु पर्दछ । यसबाट निस्कने सकारात्मक परिणामले युवाहरुलाई आकषिर्त गर्नेछ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । देशका सर्वाधिक शक्तिशाली कम्युनिष्ट पार्टीहरुबीचको एकता असाधारण परिघटना हो । यो सामान्य सोंचले हुने कुरा थिएन । यसमा प्रम केपी ओली र अध्यक्ष प्रचण्डप्रति आभार ब्यक्त गर्न कञ्जुस्याइँ गर्नु हुन्न । यो कमरेड पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता होइन । यो नयाँ पार्टी हो । नयाँ र ठूलो पार्टी ब्यवहार र भावनाबाट मात्र चल्दैन । यसको लागि नयाँ बिचार, नयाँ नीति, नयाँ विधि र नयाँ संगठनको आवश्यकता पर्दछ । पूँजीवादी परिवेशबाट प्रदुषित यो पार्टीलाई त्यहाँबाट क्रमसः निकाल्न र परिचालन गर्न ठोस् विधि र मान्यता अगाडि सार्नु आवश्यक छ । र, यो संस्थागत ढंगले मात्र चल्न सक्छ । यसका लागि निम्न कुराहरु हुन जरुरी छ ।

१) कार्यविभाजन गर्दा हरेक नेता वा कार्यकर्ताले तीनवटा क्षेत्रको जिम्मेवारी लिनुपर्छ । (क) संगठन (ख) सार्वजनिक काम र (ग) उत्पादन । यी तीन भूमिका पुरा गर्ने स्वस्थ प्रतिश्पर्धाले पार्टी संगठनलाई गतिशिल र जनमुखि मात्र बनाउदैन, रुपान्तरण समेत गर्नेछ । यी तीन काम मध्ये मुख्यतः उत्पादन र रोजगारीका आधारहरुमा टेकेर युवाहरुलाई पार्टीमा आकषिर्त गर्न सकिन्छ । युवाहरुको गुणात्मक सहभागिताले मात्र केपी ओली नेतृत्वको सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियानले सार्थकता पाउन सक्नेछ ।

२) लेनिनवादी संगठनात्मक सिद्धान्तको विकास गर्न नसक्दा विचार र संगठनसम्वन्धी सश्लेषण एकांकी हुने गरेको छ । बहुमत र अल्पमतको लेनिनवादी मान्यताले जनवादी केन्द्रीयता र संश्लेषणलाई कुण्ठित गररिहेको छ । लेनिनवादी संगठनात्मक सिद्धान्तलाई परिमार्जन र विकास गर्नु आवश्यक छ । यथास्थितिमा पार्टीेले नयाँ कार्यभार पूरा गर्न सक्दैन । कम्युनिष्ट पार्टीमा विभिन्न तहका नेतृत्व चयनमा दुई अतिवादी सोंच हाबी हुने गरेको छ । पूर्व एमालेले बिगतमा अभ्यास गरेको केन्दि्रयताबिनाको निर्वाचन प्रणाली र पूर्व माओवादीले अभ्यास गरेको निर्वाचन प्रणलीविनाको केदि्रयताको अभ्यासले दुबै पार्टीभित्र समस्या पैदा गरेको थियो । एउटामा केन्द्रीयता नहुँदा गुटबन्दी र अराजकता र अर्कोमा जनवाद नहुँदा षडयन्त्र र अराजकता हाबी हुने गरेको थियोे । यसर्थ, जनवाद र केन्द्रीयता दुबै क्रियाशील हुने सन्ंतुलित निर्वाचन विधि आवश्यक छ ।

(क) निर्वाचन विधि – यसमा ५० प्रतिशत नम्बर छुट्याईन्छ । निर्वाचित हुनुपर्ने आवश्यकताले नेता र कार्यकर्तालाई जनतासँग जोडिनै पर्ने हुन जान्छ । यसले नेता-कार्यकर्ता र जनताबीचको सम्बन्ध सुदृढ गर्दछ । खल्तीबाट संगठनमा मानिस भर्ती गर्ने परम्पराको अन्त्य गर्दछ । साथै नेतृत्वको वरिपरि गणेशझैं घुमेर पद र जिम्मेवारी लिने गलत प्रवृत्तिलाई समेत नियन्त्रण गर्दछ ।

(ख) मूल्यांकन विधि – यसमा ५० प्रतिशत नम्बर छुट्याईन्छ । हरेक तहको कमिटीले निश्चित अवधि तोकेर मूल्याड्कन समिति निर्माण गर्दछ । निर्धारित मापदण्डका आधारमा समितिले हरेक सदस्यको कामको मूल्याडन गरेर नम्बर प्रदान गर्दछ । मूल्यांकनको यो परिपाटीले इमान्दार र सक्रिय हुन, परिणाममुखी काम गर्न र अनुशासनमा रहन ध्यान दिनै पर्ने स्थिति श्रृजना हुन्छ ।

यी दुबैमा प्राप्त नम्बर जोडर अपनाइने यसप्रकारको मिश्रति विधिले सक्षम, इमानदार, सकृय नेता-कार्यकर्ता अगाडि आउछन् र पार्टी गतिशील बन्छ ।

उपरोक्त तथ्यहरुका आधारमा देखिएका संभावनालाई वास्तविकतामा बदल्न हामी गंभीर हुनै पर्छ । नेकपाको नेतृत्वमा बनेको दुई तिहाईसहितको सरकार परिवर्तन र विकास विरोधीहरुलाई असहृय भईरहेको छ । नेकपाभित्रको एकतालाई कमजोर पार्न र यो सरकारलाई असफल गराउन देशभित्र र बाहिरबाट चौतर्फी घेराबन्दी भइरहेको छ । यस्तो अवस्थामा एक हातले पार्टी र सरकारलाई खबरदारी गर्न र अर्को हातले सघाउन जरुरी छ ।

यतिखेर नेकपा र सरकार कमजोर भयो भने प्रम केपी ओली र अध्यक्ष प्रचण्ड मात्र असफल हुने होइन, आन्दोलनका उपलब्धिसमेत धरापमा पर्नेछन् । हामी सबै एउटै डुंगामा यात्रा गरिरहेका छौं भन्ने कुरा भुल्नुहुदैन । यसतर्फ पार्टीका नेता-कार्यकर्ता र सचेत नागरिकको ध्यान जान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment