Comments Add Comment

वैदेशिक सहायता १६ प्रतिशतले बढ्याे, आइएनजिओकाे सहायता घट्यो

२ माघ, काठमाडौं । अर्थ मन्त्रालयले गत आर्थिक वर्षको विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

विकास सहायता प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०७४/७५ मा बहुपक्षीय र द्विपक्षीय दातृ निकायबाट १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यो अघिल्लो आर्थिक वर्षभन्दा १६ प्रतिशत बढि हो । आव ०७३/७४ मा यस्तो सहायता १ अर्ब ३९ करोड ४६ थियो ।

कुल सहायतामध्ये ५० दशमलब ५ प्रतिशत ऋण, अनुदान सहायता ३५ दशमलब १ र प्राविधिक सहायता १४ दशमलब ४ प्रतिशत रहेको छ ।

अघिल्लो आवको तुलनामा ऋण सहायता बढेकाे छ भने प्राविधिक सहायतामा केही कमी आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त सहयोगमध्ये ७८ प्रतिशत राष्ट्रिय वजेट प्रणालीमार्फत प्राप्त भएको छ । अघिल्लो आवमा यो प्रतिशत ७३ मात्र थियो । मन्त्रालयका अनुसार अझै २२ प्रतिशत सहायता राशी राष्ट्रिय वजेट प्रणाली बाहिरबाट परिचालन भएको छ ।

नेपाललाई आर्थिक सहायता गर्ने विकास साझेदारमध्ये बहुपक्षीयतर्फ विश्व बैंक र द्विपक्षीयतर्फ संयुक्त राज्य अमेरिका सबैभन्दा ठूला साझेदार हुन् ।

यस अवधिमा बहुपक्षीय साझेदारतर्फ विश्व बैंकका तर्फबाट सबभन्दा धेरै ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै एशियाली विकास बैंकका तर्फबाट २९ करोड १७ लाख, युरोपेली संघ ११ करोड ७८ लाख, संयुक्त राष्ट्र संघ समूह ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको १ करोड ५८ लाख अमेरिकी डलर प्राप्त भएकाे छ ।

बहुपक्षीय विकास साझेदारहरुको सहयोग द्विपक्षीय साझेदारहरुको भन्दा बढी छ । परिचालित कूल सहयोग मध्ये बहुपक्षीय विकास साझेदारको योगदान ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको योगदान ३६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

द्विपक्षीय विकास साझेदारमध्ये सबभन्दा धेरै बेलायत (१२ करोड ३९ लाख अमेरिकी डलर) रहेको छ । त्यसपछि क्रमशः अमेरिका, जापान, चीन र भारत रहेका छन् ।

सबभन्दा धेरै सहयोग प्रदान गर्ने पाँच बहुपक्षीय विकास साझेदारले कूल सहयोगको ६३ प्रतिशत र पाँच ठूला द्विपक्षीय विकास साझेदारले २९ प्रतिशत गरी कूल ९२ प्रतिशत योगदान गरेका छन् ।

यस अवधिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुबाट परिचालन हुने सहायता भने घटेको मन्त्रालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत आव ०७३/७५ मा १८ करोड ६५ लाख ३० हजार अमेरिकी डलर सहायता परिचालन भएकोमा ०७४/७५ मा ११ करोड ३ लाख डलरमा सिमित रहृयो ।

यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि विकास साझेदारले प्रतिबद्धता जनाएको कूल सहायता रकम मध्ये जम्मा २३ प्रतिशत मात्रै प्राप्त भएको छ ।

४ अर्ब १० लाख ९५ लाख अमेरिकी डलरमध्ये गत फागुनसम्ममा ८८ प्रतिशत अर्थात ३ अर्ब ६२ करोड ९२ लाख बराबरको सहयोगको मात्रै सम्झौता भएको मन्त्रालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment