
हामी एउटा राष्ट्रका रुपमा कुन तहमा, कहाँ पुग्ने हो, त्यो लक्ष्य नै भएन भन्ने सुनिन्छ । एउटा महत्वकांक्षा र लक्ष्य नै भएन भनिन्छ । सन् २०३० मा हामी यहाँ पुग्ने, यसका लागि यि-यि माध्यम हुन् भन्ने स्पष्टता भएन । केही नीति निर्माता र नेताले बोले पनि यो विश्लेषणमा आधारित देखिँदैनन् ।
केही मोडलिङ हुन सक्छन्, प्रोजेक्सनमा कुरा हुन सक्छन् । क्षेत्रीय र अन्तर्राष्ट्रिय ट्रेन्डहरुलाई विश्लेषण गरेर यी-यी सम्भाब्य क्षेत्रको जगमा हामी यहाँ पुग्नो, यसरी फड्को मार्ने हो भन्ने विकासको भिजन स्पष्ट भएन भन्ने बारम्बार सुनिन्छ । त्यो नभएको पनि हैन होला, तर त्यो सम्प्रेशण नभएको हुन सक्छ ।
निर्वाचनपछि आएको दुई तिहाई बहुमतको सरकार छ, यसले केही कुरामा गृहकार्य गरिरहेको हामीले देखेका छौं । जुन पुरानै सरकारले गरिरहेका कामलाई निरन्तरता दिइँदैछ, अहिले पन्ध्रौं आवधिक योजनालाई पुरा रुप दिने काममा याजना आयोग लागिरहेको छ ।
त्यस्तै सन् २०३० सम्मको जुन दिगो विकास लक्ष्यलाई पनि विस्तृतमा हेरेर खर्च कति लाग्छ भनेर हेर्दै हुनुहुन्छ । जसको रोड म्याप म योजना आयोगको उपाध्यक्ष हुँदा ल्याइएको थियो । यस्तै विसं २१००मा नेपाल काहाँ पुग्छ र कस्तो भन्ने रणनीति बनाउयने काम पनि भइरहेको छ ।
तर हाम्रो साझा लक्ष्य भने तीनवटा छन् । एउटा अतिकम विकासित राष्ट्रको दर्जाबाट स्तरोन्नति हुने, २०३० सम्म दिगो विकासको लक्ष्य हात पार्ने, त्यसको सबै इन्डिकेटरहरु हात पार्नु छ, तेस्रो चाँही हामी २०३०सम्म मध्यम आय भएको राष्ट्रमा रुपान्तर हुने हो । यो कुरालाई नेताहरुले दोहोर्यान थाल्नुभएको छ ।
तर, यसभित्रको प्राविधिक बाटोबारे केही अस्पष्टता छ, कन्फ्युजनहरु छन् । यो विस्तारै हट्दै जानुपर्छ । अतिकम विकसित राष्ट्रको सूचीबाट हट्न चाँही नेपालले सबै प्राविधिक योग्यताहरु पास गरिसकेको छ, आज हामीले चाहेको भए हामी अधितकम विकसित राष्ट्र (एलडीसी) हैनौं भनेर परिचय दिन सक्ने अवस्थामा थियौं ।
नेपाल लामो संक्रमणबाट गुजि्रएकाले आर्थिक वृद्धि चलायमान हुन सकेको छैन, अब स्थिर सरकार पनि आएको छ, अब आर्थिक ‘मोमेन्टम’ हामीले हासिल गर्न सक्यौ र आर्थिक वृद्धिदर ७/८ प्रतिशत होल्ड गर्न र आर्थिक जोखिम सम्हाल्न सक्यौं भने मानव सूचकांकसहित सबै पक्षमा कम्फर्टेबल जोनमा पुग्छौं भनेर गत वर्ष ‘रिभ्यु’ गर्ने समयममा हामीले तीन वर्षपछिलाई सारेर राखेका छौं । सायद हामी सन् २०२१मा बंगलादेशसँगै माथि जान्छौं ।
तर, फरक के छ भने अतिकम विकसितबाट स्तरोन्नति हुन तीनवटा कुरा हेरिन्छ, आर्थिक जोखिम, मान विकस सूचकांक र प्रतिव्यक्ति आय । यी तीनवटामध्ये दुईवटामा उनीहरुले तोकेको सूचकांकभन्दा नाघेको हुनुपर्छ ।
अरु जुन स्तरोन्नती भएका र हुन लागेका मुलुककको के छ भने उनीहरु आय र अन्य कुनै कुरामा टेकेर जाँदैछन् । नेपालमा चाँही आयमा प्रगति भएको छैन, हामी आयबाहेकका शर्तहरु आर्थिक जोखिम र मानव विकास सूचकांकमा राम्रो गर्दैछौं । त्यसैले हामी युनिक भयौं । केही वर्षअघिसम्म बंगलादेश पनि हुन्छ कि भन्ने थियो । तर अहिले बंगलादेशले आर्थिक पक्षमा निकै राम्रो गर्दै गयो । नेपाल बिशिष्ट अवस्थामा छ ।
त्यसैले गतसाल हामीले जानी-जानी अतिकम विकासितबाट स्तारोन्नति हुने कुरा सारेका थियौं । आय नै दरो नभई केको फूर्ति गर्ने ? पछि फेरि रिग्रेश भएर अविकसितमा झर्यो भने त मजा आएन । त्यसैले हामी यस्तो मोमेन्टम हासिल गरौं कि यो पछि ‘रिभर्सेबल’ नहोस् ।
एकपटक स्तरोन्नति भएपछि फेरि त्यही फस्नु नपरोस् र अर्थतन्त्रमै फोकस गरौं भन्ने हिसावले त्ो निर्णय गरिएको हो । त्यो हिसावले जुन मध्यम आयको जुन लक्ष्य छ, त्या चाँही त्यहाँ नै गासिन्छ ।
मध्यम आय चाँही एउटा ‘इलास्टिक कन्सेप्ट’ हो । विश्व बैंकले अतिकम विकसित देशलाई निकै सहयुलियत पूर्ण सुविधा दिन्छ, नेपालले त्यही लिइरहेको छ । त्यसको लागि उनीहरुले प्रतिव्यक्ति आय कति छ भनेर हेर्छन्, तल्लो स्तरको आयचाँही १ हजार ९५ डलरसम्म छ । मध्यम आय ११ सय डलरदेखि १२ हजार डलरसम्म छ ।
त्यसैले मध्यम आयमा पुग्ने भन्दा पनि नेताहरुले छल गरेको होकि जस्तो देखिन्छ । त्यसैले सोध्नुपर्छ, मध्यम आय त १ हजारदेखि १२ हजारसम्म छ भने कुन विन्दुको मध्यम आय खोजेको हो हामीले ? तल्लो स्तरको मध्यम आय चाँही १ हजारदेखि ४ हजार डलरसम्म छ । माथिल्लो मध्यम आय चाँही ४ हजारदेखि १२ हजारसम्म छ ।
नेपालमा आज प्रतिव्यक्ति आय हजार डलरको हाराहारीमा छ । ८/१० प्रतिशतको वास्तविक आर्थिक वृद्धि गर्न सक्यौं भने पनि अबको १३ वर्षमा हामी पुग्ने भनेको हामी पुग्ने भनेको हालको श्रीलंकाको स्तरमा हो ।
७ प्रतिशका दरले निरन्तर दरमा वृद्धि हुँदा अहिलेको लाओसको लेभलमा पुग्छौं भने अहिलेकै जस्तो ६ प्रतिशत मुनिको आर्थिक वृद्धिले हामी हालको भारतको स्तरमा पुग्छौं । भारतमा २०० डलर प्रतिव्यक्ति आय पुगेको छ, लाओसको २५ सय छ भने श्रीलंकाको ४ हजार डलरको हाराहारीमा पुगेको छ ।
चामत्किारिक रुपमा १० प्रतिशत आर्थिक वृद्धि गर्दा हामी पुग्ने भनेको आजको श्रीलंकाको स्तरमा नै हो । अहिलेसम्म हामीले ७ प्रतिशसम्म आएको आर्थिक वृद्धिदरलाई त्यही स्तरमा टिकाउनै सकेका छैनौं ।
त्यसैले हामीले हाम्रा राजनेताहरुलाई राम्रोसँग शिक्षित पनि गर्नुपर्छ, ‘स्वीट्जरल्याण्ड र सिंगापुरको कुरा छाडिदेउ, अलिकति यथार्थपरक हौ’ भनौं । तर, अलिहेकै जगमा पनि हामीले धेरै फड्को मार्न भने सक्छौं ।
किनभने हालको अवस्थामा हामीलाई सन् २०३०सम्म लाओसको स्तरमा पुग्नु भनेको पनि ठूलै कुरा हुन्छ । यो यथार्थ हामीसामु छ ।
र, हाम्रो आर्थिक क्षेत्रमा चाँही सन्तोष गर्न नसकिने खालको प्रगति नभएको हुनाले हामीले एलडीसी पनि थाँति राख्नुपरेको हो । मानव विकास सूचकांकमा हामीले राम्रो गरेका छौं । अब हामीले पहिलो पुस्ताको सूचकांकबाट दोस्रो पुस्ताकोमा जानुुपर्छ । अब हामी दोस्रो पुस्ताको चुनौतीहरु पुरा गरौं ।
स्वास्थमा पहुँच त पुगेको छ, तर गुणस्तर के छ ? बच्चा स्कुल त गएका छन्, तर सिकिरहेका छन कि छैनन् ? अहिले आवद्धता भन्दा पनि गुणस्तर र सिकाइको चुनौती छ । अब त्यता हेर्नुपर्छ ।
हामी काहाँ जाने भन्नेमा स्पष्ट नै छौं तर, भित्रका केही कुरामा अललल छ । एलडीसी स्तरोन्नति त हामी प्राविधिक रुपले भइसक्यौ । २०२४ मा हामी विकासील मुलुक भनेर जान सकिने कुरा आजै हासिल भइसक्यो ।
दिगो विकासका लक्ष्यहरु पनि हामी अधिकांश भेट्टाउँछौं । र, मध्यम आयमा पनि तल्लो मध्ध्यम आयोको बीचको विन्दुमा हामी पुग्छौं । अतिरञ्जनाबाट यथार्थमा आयौं भने वास्तविकतामा आधारित लक्ष्य हामी तय गर्न सक्छौं ।
अब कसरी जाने त ?
हाइड्रोको कुरा गर्छौं, टुरिजमको कुरा गर्छौं, उत्पादनमुलक क्षत्रेका उद्योगका कुरा गर्छौं, केही नयाँ आधुनिक सेवा क्षेत्रका कुरा गर्छौं, त्यो ठीक छ । तर, त्यहाँभित्र पनि हामीले हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ । एउटा ‘कम्पोजिट पिक्चर’ चाँही हुनुपर्यो ।
आज नेपाली अर्थतनत्रमा गइरहेका ठूला कम्पनहरु के-के हुन् ? त्यो पहिला बुझ्नुपर्यो । त्यसपछि मानौं विकासे यात्रामा उडान भर्यौं हामीले । जहाजमा चढ्दा टेल विन्ड र हेड विन्डका कुरा आउँछन्, कहिले काँही तपाइँ त्यसैकारण निर्धारित समयभन्दा छिटो वा ढिलो पुग्नुहुन्छ । नेपाली अर्थतन्त्रका लागि हामी यो जुन समृद्धिको उडान भर्दैछौं भने हामीलाई पछिबाट घँचेट्ने ‘टेल विन्ड’ के-के हुन् ? त्यो पत्ता लगाएर काम हुनुपर्यो ।
हामीले समृद्धि सिर्जना गर्नुपर्यो, बाँड्नु पर्यो र त्यसलाई टिकाइ राख्नुपर्यो । यो साध्य भयो, तर, साधन के-के हुन् ? के-केमा टेकेर हामी त्यहाँ पुग्ने हो, त्यसका जोखिमहरु के-के हुन्, त्यसलाई कसरी समाना गर्ने भन्नेसहित एउटा ठूलो तस्वीर बनौं भने त्यो एकाङ्की हुँदैन ।
(सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वाग्लेले राखेको विचारको सम्पादित अंश)
प्रतिक्रिया 4