Comments Add Comment

सपिङ मलले मनोमानी भाडा असुलेको भन्दै व्यवसायी आन्दोलित

८ माघ, बुटवल । बुटवलको सबैभन्दा ठूलो सपिङ मल सिंह कम्प्लेक्समा घरधनीले मनोमानी भाडा बढाएको भन्दै भाडामा व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलित भएका छन् ।

घरधनीले कानुन अनुसार भाडा सम्झौता गर्न नमानेको र अघिल्लो वर्ष भन्दा १ सय ३० प्रतिशतले वृद्धि गरी भाडा बढाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । २२ दिनदेखि पसल बन्द गरेर उनीहरुले न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका छन् ।

बुटवल अमरपथस्थित कम्प्लेक्समा ५८ वटा व्यवसायिक सटर रहेकामा २९ वटा पसलका व्यवसायी घरधनीको मनोमानी विरुद्ध उभिएका हुन् । अघिल्लो वर्ष प्रति स्क्वायर फुट ७५ रुपैयाँ भाडा रहेकोमा यो वर्ष १ सय ७० रुपैयाँ पु¥याएपछि उपमहानगरपालिका, घर बहाल सरोकार संघ, व्यवसायिक संघसंस्थाहरु समक्ष कानुन अनुसार भाडा दर कायम गरिदन आग्रह गरेको संघर्ष समितिका संयोजक शुभप्रताप राणाले बताए ।

कानुनमा सम्झौता नगरी घर भाडामा लगाउन नपाइने र वर्षमा ५ प्रतिशतका दरले भाडा बढाउन पाइने उल्लेख छ । तर सिंह कम्प्लेक्सले कानुनलाई बेवास्ता गर्दै व्यवसायीमाथि अन्यायपूर्वक मनोमानी ढंगले भाडा वृद्धि गरेको संयोजक राणाले गुनासो गरे । यो कम्प्लेक्स बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंह, उनका दाजु डा. रमेशमान सिंह र उनकी दिदीको स्वामित्वमा छ । व्यवसायी नेताले व्यवसायीमाथि नै अन्याय र कानुनविपरीत चर्को भाडा वृद्धि गरेको भन्दै पटकपटक व्यवसायीहरु आन्दोलित हुँदै आइरहेका छन् । अघिल्लो वर्ष पनि व्यवसायीहरु भाडा वृद्धिलगायतका विषयमा आन्दोलित बनेपछि प्रदेशसभा चुनावका बेला कांग्रेस उम्मेदवार समेत रहेका घरधनी महेशमान सिंहले भाडा सम्झौता गरेर बस्न दिने आश्वासन दिएका थिए । तर चुनावपछि सहमतिविपरीत आफूले तोकेको दरमा सम्झौता गर्न आउन दबाव दिएको व्यवसायीहरु बताउँछन् ।

कम्प्लेक्सकी व्यवसायी गंगादेवी पोखरेलले चर्को भाडा मात्र होइन, विद्युत महसुल प्रति युनिट ३२ रुपैयाँ ५० पैसा प्रति युनिट असुलेर घरधनीले मनोमानी गरेको गुनासो गरिन् ।

डेढ लाखदेखि सात लाख रुपैयाँसम्म धरौटी रकम जम्मा गरेको भए पनि भाडा बुझाउन ढिला भएमा विद्युत् काटिदिएर ज्यादति गरेको उनको गुनासो छ । घरधनीले अहिले आठवटा पसलको विद्युत आपुर्ति काटिदिएका छन् । घरधनीले सबै पसलमा आफूले भनेको कम्पनीको एसी जडान गर्न, हरेक वर्ष डेकोरेसन परिवर्तन गर्न समेत दबाव दिएको व्यवसायीको गुनासो छ ।

घरधनीको मनोमानीले करोडौं लगानी जोखिममा परेको व्यवसायीले बताएका छन् । व्यवसायी असुरक्षित भएकाले तत्काल सरोकारवालाले समस्या समाधान गर्नुपर्ने मत व्यवसायीको छ ।

कम्प्लेक्सका व्यवसायीले न्यूनतम ३५ हजारदेखि सवा लाख रुपैयाँसम्म मासिक सटर भाडा बुझाउँदै आएका छन् । तर घरधनीले कानुन अनुसार लिखितरुपमा घर बहाल सम्झौता नगर्दा राज्यले पाउनुपर्ने ठूलो परिमाणमा कर गुमेको छ । भाडा सम्झौता नगर्नुको मुख्य कारण राज्यलाई कर छली गरी आफू मोटाउने नियत नै भएको व्यवसायीको तर्क छ । घरधनीले कानुन विपरित चर्को भाडा असुल्ने तर राज्यलाई कर छली गर्दा समेत सरकारले आफूहरुका समस्याप्रति बेवास्ता गरेको व्यवसायीका गुनासो छ ।

बुटवलमा साना ठूला गरी दर्जन बढी सपिङ कप्लेक्स छन् । तर, अन्यमा भने यस्तो समस्या देखिएको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले आफ्नो स्वामित्वको सपिङ कम्प्लेक्स सिर्जना स्ट्रिटमा अन्यत्र जस्तो समस्या नआओस् भनेर कानून अनुसार भाडा सम्झौता गरेको बताए । कुनै समस्या आए त्यसको समाधान गर्न घरधनी र व्यवसायीका प्रतिनिधि सम्मिलित संयुक्त समिति बनाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment