Comments Add Comment

चार करोडको पुल नाैं वर्षपछि सञ्चालनमा

१० माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२३ इटियाहीमा पुल निर्माण भएको ९ वर्षपछि सञ्चालनमा आएको छ । करिब ४ करोडको लागतमा सरिसवा (सिर्सिया) नदीमा निर्माण भएको पुल ९ वर्षपछि सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ऐलानी जमिनमा घर टहरा बनाएर बसेका स्थानीय केहिले बाटो नछोड्दा पुल सञ्चालनमा आउन सकेको थिएन ।

वीरगञ्ज महानगरपालिकाले जेसिबी लगाएर ऐलानी जमिनमा बनेको ५ वटा घर टहरा हटाएपछि पुल सञ्चालनमा आएको वडा सदस्य लालबाबु यादवले जानकारी दिए ।

केहि स्थानियले पुलसम्म जानेे बाटोमा घर टहराहरु बनाएर जबरजस्ती बाटो रोक्दै आएकोमा बलपूर्वक हटाएपछि बाटो सञ्चालनमा आएको वडा अध्यक्ष अवधकिशोर कुशवाहाले बताए । ‘वडा कार्यालयबाट पटक पटक घर टहरा हटाउन सूचना जारी गर्‍यौं । तर उनीहरुले अटेर गरे,’ उनले भने, ‘ उनीहरुका कारण करोडौंको लागतमा बनेको पुल पनि सञ्चालनमा आउन सकेको थिएन, त्यसैले बल प्रयोग गरेर घर टहरा हटाइयो ।’

बिहान ११ बजेदेखि नै महानगरपालिकाले घर टहरा हटाउन जेसीबी पठाएको थियो । प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषाल स्वंय घर टहरा हटाउन इटियाही पुगेका थिए ।

ऐलानी जमीनमा वर्षौदेखि घर टहरा बनाएर पुल सञ्चालनमा आउन अवरोध पुर्‍याएको जानकारी पाएपछि त्यसलाई हटाएर पुल सञ्चालनमा ल्याएको उनको भनाई छ । ‘केही व्यक्तिको अवरोधका कारण पुल सञ्चालनमा आउन नसकेको रहेछ,’ उनले भने, ‘जेसीबी लगाएर घर टहरा हटायौं, अनि पुलसम्म पुग्ने बाटो निर्माण गरेर सञ्चालनमा ल्याएका छौं ।’

पुल सञ्चालनमा आएसंगै प्रसौनी बिर्ता, इटियाही, मनियारी, भवानीपुर लगायत एक दर्जन गाँउका हजारौं जनतालाई आवत जावतमा सहज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment