Comments Add Comment

पहिलो भेटमै यौन सम्पर्क भयो, के गर्ने ?

करुणाजी, नमस्कार

‘पहिलो भेटमा यौन सम्र्पक भयो भने त्यो प्रेम सम्बन्ध अगाडि बढ्दैन । किनभने यस्तो सम्बन्धमा एकअर्कामा शंका बढदै जान्छ ।’ केही बर्षअघि एक तालिममा प्रसंगवस तपाईंले यसै भन्नुभएको थियो । आज तपाईंको त्यो भनाइ मेरो जीवन-भोगाई बनेको छ । केही समय अघि रोजगारीको सिलसिलामा एक युवतीसँग परिचय भयो । फिल्डमा थियौं । उस्तै काम र एकै क्षेत्रमा भएकाले हामी नजिक भयौं । हामीवीच यौन सम्बन्ध पनि रहन गयो । यौन सम्पर्कपछि उनलाई केही पश्चाताप लागेको हुनुपर्छ, मैले यस्तै महसुष गरेको छु ।

उक्त घटनाको एक वर्षपछि अर्थात अहिले उनी मबाट टाढिदै गएकी छिन् । जबकी हामीले एकअर्कासँगै जीवन विताउने योजना बनाएका थियौं । त्यही अनुसार नै पहिलो पटक शारीरिक सम्पर्क भएको थियो । तर, अहिले उनको आनीबानी फेरिएको छ । उनी खिन्न देखिन्छन् । यौन सम्पर्कका लागि पनि राजी छैनन् । उनी टाढाको यात्रामा वा एकान्तमा जान इच्छुक छैनन् ।

म उनीप्रति असाध्यै आकषिर्त छु र जीवनसाथी बनाउन चाहन्छु । तर, उनी क्रमस टाढिदैछिन् । मलाई लाग्छ, पहिलो भेटमै यौन सम्पर्क राखेकाले उनले मेरो आनीबानीमाथि शंका गरेकी छिन् । हुन त मलाई पनि उनीमाथि त्यस्तै शंका लागेको थियो । एकै भेटमा यौन सम्पर्कका लागि राजी हुने कस्ती केटी होलान् भनेर सोचेको थिएँ । तर, अहिले त्यस्तो लाग्दैन । मैले त्यो घटनालाई एउटा संयोग मानेको छु ।

तर, उनीभने के मलाई शंकाकै नजरले हेरिरहेकी छिन् ? के ममाथि उनको विश्वास टुटेको छ ? पहिलो भेटमै यौन सम्पर्क गरेपछि मित्रता वा सम्बन्ध टुट्छ ? प्रेम सम्बन्ध राख्ने मनासयमा पुगिसकेको बेला यौन सम्पर्क राख्नु ठिक थिएन ? -रमेश

रमेशजी, तपाईले आफ्नो उमेर खुलाउनु भएको छैन । तालिमका क्रममा मैंले यो कुरा धेरै स्थानमा भनेका कारण तपाईं कुन तालिममा सहभागी हुनुहुन्थ्यो थाहा हुन सकेन ।  यद्यपी तपाईं अविवाहित भएको र कलेजहरुका कार्यक्रममा भेट भएको हुनसक्छ भन्ने अनुमान गर्न सक्छु । त्यही आधारमा उत्तर दिने प्रयास गरेकी छु ।

अनुमान गर्दा तपाईहरु दुवैजना युवा अवस्थामा हुनुहुन्छ । यस्तो उमेरमा विपरीत लिङ्गीप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । मुख्य कुरा यही बेला प्रेममा फस्ने उमेर पनि हो । शरीरमा एकप्रकारको ज्वर प्रशारित भएको हुन्छ । त्यसैले पहिलो भेटमै केही समय व्यथित गर्दा यौन सम्पर्क हुनुलाई मैले आश्चर्य मानेकी छैन । किनभने यो स्वभाविक प्रक्रियाभित्रै पर्छ ।

यौन सम्पर्कपछि तपाईंले त्यो घटनालाई जीव्ानभर सधैं रहने प्रेमपूर्ण काम मान्नु भएको छ कि तत्कालको आवेग, त्यो कुरा छुट्याउनु पर्ने हुन्छ । जीवनभर रहने घटना मान्नु भएको छ भने त्यसलाई अघि बढाउन केही सम्झौता गर्नुपर्ने हुन्छ ।

तपाईंहरु यौनमा मात्रै हुनुहुन्छ कि प्रेममा पनि अगाडि बढि सक्नुभएको यो कुरा बुझ्न आवश्यक छ । एक पल्ट अचानक यौन सम्पर्क भएको हो भने त्यो कुरा त्यहीँ सकिनु पर्छ । तर प्रेम सम्बन्ध पनि छैन र प्रत्येक भेटमा यौनसम्पर्क हुन्छ भने चाहीँ यो चिन्ताको विषय हो ।

तपाईंको प्रश्नबाट तपाईंहरुलाई नजिक हुनासाथ यौन सम्पर्कमै पुग्ने गरेको कारणले चिन्ता बढ्न थालेको देखिन्छ । साथै निजी जीवनमा वा प्रेममा अप्ठेरो स्थिति आउला कि भन्ने चिन्ता पनि उत्तिकै देखिन्छ । भेट हुनासाथ यौन सम्पर्कमा पुगिहालेकोले प्रेमीलाई केही आत्मग्लानी भएको हुनसक्छ । त्यो कुरा तपाईले संकेतको रुपमा पाउनुभएको छ र त्यसले तपाईलाई छटपटी गराएको छ । हुनत यो उमेर यसरी छटपटाउने खालको पनि हो । तुरुन्तै यौन सम्पर्क भैहालेकोले पनि छटपटाहट बढेको हुनसक्छ । युवतीलाई आफूले बचाएर राखेको भर्जिननेस तोडिएकोमा केही पश्चाताप पनि हुनसक्छ । तपाईहरुको छटपटाहटमा यस्ता थुप्रै पक्षहरुको भूमिका रहेको छ ।

पहिलाका अध्ययनहरुले देखाए अनुसार पहिलो डेटिङ्गमै पनि यौन सम्पर्क भैहालेमा यसले जोडीको दीर्घकालिन सम्वन्धमा खासै असर पर्दैन ।

केही अध्ययनले चाही पहिलो डेटिङ्गमानै हुने यौन सम्बन्धले पार्टनर माथि शंका पैदा हुने वताएको छ । विशेष गरेर यौन समबन्ध पहिलो भेटमानै हुने व्यक्तिले सामाजिक वा प्रेम सम्वन्धलाई बलियो बनाउछ त भन्नेमानै दुविधा भएको पाईन्छ । अनुसन्धानकर्ताहरुले पहिलो डेटिङमै यौनसम्पर्क हुनासाथ सम्वन्ध नै बिग्रने भनेका छैनन् । तर उनीहरुको भनाईमा गुणस्तरीय यौन सम्पर्क र गुणस्तरीय जीवनका लागि लामो चिनजान वा पटकपटकका डेटिङपछि मात्र यौन सम्पर्क भए राम्रो हुन्छ ।

मनोबैज्ञानिक हिसावले हेर्दा जसरी तपाईहरु अगाडि बढ्नुभयो, त्यसरी नै तपाईंहरुका बीच केही असहज वातावरण बनेको जस्तो देखिन्छ र त्यसको असरले तनावमा धकेलेको देखिन्छ । यसलाई राम्रो मान्न सकिदैन ।

करुणा कुँवर

एउटा कौतुहल शान्त पार्ने क्रममा अझ थप छटपटी पैदा भएको छ । पढ्नुपर्ने बेलामा अनेक छटपटी भएको छ । हरेक कुरा स्वाभाविक ढंगले अगाडि बढेको खण्डमा त्यसले नतिजा राम्रो दिन्छ । एक अर्कालाई बुझ्न, आफ्नो संस्कृति र नियम कानूनले दिने अनुमति, पारिवारिक स्वीकृति जस्ता पक्षहरुलाई सहज बनाउन केही समय लाग्छ ।

एकअर्कालाई बुझ्ने, यौन सम्पर्कका सकारात्मक नकारात्मक पाटाको अध्ययन विश्लेषण गर्ने, भविष्यको के कस्तो योजना बनाउन लागिएको हो, त्यसबारेमा स्पष्ट हुने, जीवनका उच्च प्राथमिकताहरु र न्युन प्राथमिकताहरुका बारेमा राम्ररी थाहा पाउने र आपसमा सञ्चार गर्ने गर्नाले अझ सामिप्यता बढाउँछ, प्रेम सम्वन्ध घनिभूत हुन्छ ।

यसले बिभिन्न शंका उपशंकाहरु पैदा गर्दैन र मानसिक असर पनि नकारात्मक हुँदैन । यसले पछिको गुणस्तरीय जीवनलाई पनि सहयोग नै गर्छ ।

प्रेमीलाई पहिलो यौन सम्पर्कले कति असर गरेको छ भन्ने थाहै नपाई तपाई बढी छटपटिनु भएको हुन सक्छ । यसका लागि तपाईले उनलाई राम्ररी सोध्ने र पछिका दिनहरुमा सहमतिमा अगाडि बढ्न सकिने कुरा बताउनुपर्छ । अर्थात प्रेमीको प्रतिक्रिया के छ भन्ने स्पष्टरुपमा थाहा पाउनुहोस । समाधान त्यही निस्कन सक्छ । उनलाई नराम्रो असर परेको छ भने पनि आपसमा छलफल गरेर दिल खुलस्त पार्न सकिन्छ । यसले दुबैलाई थप नजिक ल्याउन मद्दत पुर्‍याउँछ ।

(यौन स्वास्थ्य सम्बन्धी तपाईका कुनै समस्या भए पारिवारिक मनोपरामर्शदाता तथा यौन मनोबिज्ञ करुणा कुँवरलाई  [email protected] मार्फत प्रश्न राख्न सक्नुहुनेछ । प्रश्नको जवाफ अनलाइनखबरमा हरेक साता छापिनेछ )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment