+
+

१५ दिने मुगु यात्राको कठिन एकरात

लैलाको अर्को दुःखको कहानी नलेखियोस् !

प्राप्ति खड्का प्राप्ति खड्का
२०७५ माघ १२ गते १३:०८

राराको नीलो पछ्यौरी गम्लङ्ग ओढेर उक्लिँदै छु मुर्माटपको उकालो । कति न्यानो छ यो पछ्यौरी ! लागिरहेछ अझै म रारामै तैरिरहेकी छु । रारामै डुबिरहेकी छु । तर, कुनै प्राकृत जलाशयभित्र होइन, राराको बाक्लो सम्झनाको भुवाभित्र ।

यही पछ्यौरी हल्लाउँदै रारासँग विदा भएकी थिएँ । मुर्माटपको उकालो उक्लँदै गर्दा पछ्यौरीकै लठ्ठी टेकेकी थिएँ । मुर्माटपका घुम्तीहरुमा तिमी घरिघरि ओझेल हुँदा परेलीमा उम्रिएका आँशु यसैले पुछेकी थिएँ । मुर्माटपमा पुग्दा चलेको बतासलाई यसैले छेकेकी थिएँ । बदलामा न्यानो दिइरहेको थियो यसले । सोरुकोटमा पुग्दा निस्किएका पसिना यसैले पुछेकी थिएँ । भी पुगेपछि पछ्याएका अपरिचित नजरहरुबाट बच्न यसैले अनुहार छोपेकी थिएँ ।

हामी केही सरकारी कर्मचारी १५ दिने हुम्लाको यात्रामा थियौं ।

ताजकोट अत्यासलाग्दो उकालो हो नवागन्तुकको लागि । यति ठूलो उकालो दिनभरि उक्लिँदा पनि तर मलाई पटक्कै अत्यास लागेको छैन । अहिले आइपुगेकी छु ताजकोटको मदानामा । शिखरमा अवस्थित गाउँ अत्यन्तै सुन्दर छ । वरिपरिका होचा डाँडाहरु र ती डाँडामा अडिएका गाउँहरु सर्लक्कै देखिएका छन् । धेरै तल कर्णाली नागबेली परेर बगिरहेकी छिन् । चीसो झोँक्का बोकेको हावा घरिघरि मच्चिन खोज्छ ।

दिनभरिको उकालो चढ्दा पनि मनमा कुनै थकान छैन । शरीरलाई भने हिँडाइको भार परेको छ । पाइतालाको दुखाइ ढाडतिर सर्न थालेको छ । शारीरिक थकानको हिसाबले रोशन र विष्णु जत्ति पनि थाकेकी भने छैन म ।

हाम्रो यात्रामा साथ दिइरहेका सूर्जे पश्चिमको डाँडोतिर लम्कँदै ओझेल पर्ने सुरसारमा छन् ।

दिन बुरिसकेका छन् । अत्याससँगै सन्ध्याको प्रवेश भएको छ मदानामा । अहिले हामी एउटा झुप्रो भन्न मिल्ने एउटा होचो घरअगाडि आइपुगेका छौँ ।

मेरा नजर झुप्रोको आँगनमा पुगे । आँगनबाट उक्लिएर कौशीमा पुगे र कौशीमा फनक्कै घुमिसकेपछि एक मनुष्यको आकृतिमा पुगेर अडिएका छन् । त्यो आकृतिका नजर मतिर ओर्लिसकेका रहेछन् । सोलारको धिपधिप बत्ती बलिसकेको छ । हुम्लाको एउटा साधारण घरमा सोलारको बत्ती ? फुरुङ्ग भएको छ मन । मन फुल्न नपाउँदै त्यो सोलार निभ्न पुग्छ । फुल्दै गएको मन पनि हावा निस्किएझैँ फुस्स हुन्छ र खुम्चँदै जान्छ । बत्ती गएपछि मनमा धिपधिप बलेको आश पनि मधुरो हुँदै गएको छ ।

निभ्नुअघिको सोलारबत्तीको उज्यालोले पहिचान गर्छु, यो आकृति बालिकाको हो ।

‘बास पाइएला कि हजुर ?’ भन्दै यस अघिका आठ/दश घरका ढोकाहरु नढक्ढक्याएका होइनौँ । यो घरभन्दा अघिकै घरहरु ठूला र आशलाग्दा थिए । अलि सम्पन्न परिवारकै बसोबास हुनुपर्ने अड्कलेका थियौँ हामीहरुले ती घरहरु । तर, घरवालाको कर्कश स्वरको इन्कारीले गर्दा हामी निराश हुँदै अघि लत्रिरहेका थियौँ ।

‘कतै बास नपाइए चौँरीगोठमा भए पनि गुजारौँला !’ विष्णुजीको विरक्तिएको उच्छवास थियो यो ।

‘घरको स्ट्रक्चर र कन्डिसन देख्दा त बास देलान् जस्तो छैन यो घर पनि ।’ इन्जिनियर हुन् रोशन । जे कुरामा पनि स्ट्रक्चरको कुरा आइहाल्छ ।

हामी बास नपाएर बाटोमै बिचल्ली परेका छौँ भने पटक्कै मतलब छैन सन्ध्यालाई पनि । उनी निस्कन हतार गरिरहेकी छिन् र त्यसको ठाउँमा रातको ड्यूटी शुरु हुने वाला छ केही बेरमै । बासको धिपधिपे आश मर्ला कि भन्ने पिरलो छ । आशको बत्ती जेनतेन बलिरहेको बखत केही छिनअघि निभेको सोलारको बत्ती झुलुक्क बल्छ । त्यो बत्तीले हाम्रो आशमा पनि तेल थपिदिएको छ । हत्तपत्त म सोधिहाल्छु-

‘ए नानी बास पाइन्छ होला ? भोक प्यास जाडो थकानले गलिरहेका छौँ । अँध्यारो पनि हुनथाल्यो । बास दिनुभयो भने तपाईँहरुलाई धर्मै लाग्ला ।’

जवाफ पर्खँदै गर्दा रोशनजी र विष्णु थुचुक्क बसिसकेका छन् । म लठ्ठीले सहाराले झुक्दै अडिन्छु । नानी केही बोल्दिनन् । हाम्रो प्रश्न उनको एक कानबाट पसेर अर्को कानबाट निस्कनै थालेको छ । तर उनी त्यो प्रश्नलाई भित्रतिर पठाइदिन्छिन् जवाफका लागि । निर्णयका लागि । भित्रबाट आएको मधुरो स्वरले हाम्रो आशाको दियोमा अझै घ्यू थपिदिन्छ ।

‘रातिको बेलामा आइपुग्नुभयो । पाइँदैन कसरी भनौँ ? जेनतेन गुजारा भैहाल्ला नि ।’

आहा गरीब घरका मनहरु । सम्पन्न घरका मनहरुभन्दा धेरै ठूला लाग्दछन् । आशातीत जवाफले फुरङ्ग पर्छौँ । त्यसैत्यसै रोमाञ्चित हुन्छौँ र हाम्रै परेलीमा उमि्रएर रारा ओर्लन खोज्छिन् ।

भित्र पस्छौँ । बाहिर जुन गरिबी प्रदर्शित छ, भित्र पनि फरक छैन । कोठाको बीचमा अँगेनो छ । अगेनो वरिपरि झुत्रेझाम्रे लुगाले शरीर छोपेर तीन प्राणीहरु झुम्मिएका छन् । हामी पनि झोला एकातिर थन्क्याएर उनीहरुकै वरिपरि पलेटी कसेर बस्छौँ । सोलार बत्तिको मधुरो उज्यालोमा प्रष्टिएका छन् तीन छोरी र एक आमा ।

‘घरमूली खै त ?’ विष्णुजी यताउता चियाउँछन् ।

‘कालापारतिर. ।’ छोटो जवाफ आउँछ महिलाको । आमाको जवाफले छोरीहरुको शिर निहुरिन्छ । हामीलाई लाग्छः यो प्रश्नले उनीहरुको खाटा बसेको घाउ उप्काइदियो कि ?’

म प्रसङ्ग मोड्न सानीचाँहिलाई आफूतिर सार्दै भन्छुः ‘आऊ नानी, यता आऊ । स्कूल जान्छ्यौ तिमी ?’ ऊ लाजले अझ परपर सर्छे । बरु बीचकी फुस्फुसाउँछे- ‘हामी तीनैजना स्कूल जान्छौँ । बुइनी चार कक्षामा दिदी दश कक्षामा ।’

अनि तिमी अनि अनि । म ऊतिरै सर्छु । आमाको धोतीको फेर समाउँदै भकभकाउँछेः छ कक्षामा । दिदीचाँहिको धक अझै फुटेको छैन । बत्ती बल्दै र निभ्दै गरिरहेको छ । लाग्छ बत्तिको उज्यालोले समेत उनीहरुलाई ठगेको छ ।

म एक तमासले उनीहरुको निन्याउरा अनुहारहरुमा खुल्न खोजेको खुशी खोज्दछु । बिहान बेलुकाको पढाइको भारी र दिउँसो पढाइको भारीले थिचिएका जस्ता लाग्छन् । पढाइको भारीभित्र रहरका थुप्रै झिँजाहरु छन् । यी अवोध छाउरीहरु ती झिँजाहरु सल्काएर मनलाई उज्यालो पार्न उद्यत लाग्दछिन् ।

‘लैला ! ए लैला !! के गर्दैछौ तिमीहरु ?’ बाहिर नारी आवाजले यी तीन प्राणीहरुमध्ये एउटाको जवाफ पर्खि बसेको छ ।

‘हजुर म्याडम् ? भित्रै आउनू ।’ भन्दै खुरुरु जुन केटीको रुपरङमा नाचिरहेका थिए उनै बोल्छिन् ।

‘लैला’ रहेछ ठूलीछोरीको नाम । जसले मेरो झोला समातेर आफ्नो कोठामा राखिदिएकी थिइन् । एक अधबैँसे महिला प्रवेश गर्छिन् । पस्नेबित्तिकै हामीसँग उनको परिचय साटासाट हुन्छ । उनी रहिछन् लैलाले पढ्ने स्कूलकी शिक्षिका । नाम रहेछ ‘जगमाया’ ।

किन किन मलाई उनको नामले नै आकर्षित गरिहाल्यो ।

उनलाई मेरो परिचय दिन्छु, ‘म प्राप्ति । हामी तीनैजना सुर्खेतमा काम गर्ने सरकारी कर्मचारी हौँ । हुम्लाका पहाडहरु घुमेर हेर्ने रहर बोकेर निस्किएका । मैले यो रहरलाई राराको पछ्यौरीको खोल हालेकी छु । खुब आनन्द आइरहेछ । न्यानो लागिरहेछ यो तपाईँहरुसँगको सांयोगिक भेटघाटको मौसम ।’

यो छोटो परिचयले उनीप्रतिको सम्मान अरु थपिन्छ मेरो । कति महान रहिछन् उनी । कर्मले नेपालगञ्जमा पुर्‍याएर पनि दुःखजिलो गरेर परिवारको न्यानो मायाबाट टाढिएर यतै बसेकी छिन् । दूरदराजकै बालबालिकाहरुमा ज्ञानको बीउ छरिरहेकी छिन् । मलाई खुशी लाग्यो उनले शिक्षिकाको सार्थक भूमिका निभाएकोमा । खुशी लाग्यो नानीहरुको सपना पूरा गर्ने महायज्ञमा यसरी होमिएकोमा ।

यसरी प्रत्येकले जरैदेखि आआफ्नो जिम्मेवारी निभाइदिने हो भने नेपाल कहाँ पुगिसक्थ्यो होला ? कति सुन्दर होलान् उनका सलक्क परेका ज्ञानका बेर्नाहरु ! यी बेर्ना नै त हुन् ज्ञानको बगैँचामा फुल्ने बोटहरु ! कति  रङ्गीबिरङ्गी होलान् ज्ञानबाट फुल्ने फूलहरु ! अनकन्टार स्थलमा कति सुन्दर होला त्यो बगैँचा !  म सुन्दर ज्ञान मन्दिरको कल्पना गर्छु ।

हामीहरु गफमै भुलिरहेका छौँ । गफको न्यानोले पनि हुम्लाको बाहिरी जाडोलाई हाम्रो नजिक पर्न दिएको छैन । समय बगिरहेको छ । अगेनामा विभिन्न परिकारहरु पाकिरहेका छन् । मानौँ कुनै विशेष चाडपर्व नै हो आज ।

हामी खानको अगेनाको वरिपरि गोलाकार भएर बस्छौँ र थाली र विभिन्न बटुकाहरुमा पस्किएका खाना खान थाल्छौँ ।

साँच्चिकै त्यो भोजन यति मीठो छ, कसैले आमालाई बिर्सिरहेका छौँ, त कसैले सम्झिरहेका छौँ । कसैलाई होम सिकनेसको ज्वरो चढाइदिएको छ । कसैको होम सिकनेसको चढिरहेको ज्वरो ओरालेको छ । मायाको ममता उर्लिएर पोखिन खोज्छन् परेलीहरुबाट ।

खाना खाइसकेपछि सुत्नुपर्ने नियमित समस्या बल्झिन थाल्छ ।

जगमाया म्याडमले भन्छिन्, “केटाहरु मेरो घरमा जानुहोस् । हामी महिलाहरु यहाँ सुत्छौँ ।’ समस्या बल्झिन्छ कि भनी उठेको चिन्ता एकछिनमै थुचुक्कै बस्न पुग्छ । अर्कोपटक धन्यवाद दिन्छु जगमायालाई ।

म लैलासँगै सुत्ने भएकी छु । माथिल्लो तलामा काठले बारेको जम्माजम्मी दुई कोठा छन् । हामी सुत्ने कोठा अलि सानो छ । भुइँमा गुन्द्री लगाइएको छ । गुन्द्रीमा किताबहरु छरिएका छन् ।छेउमा पुरानो कम्बल छ ।

लैला पढ्न थाली । मैले कम्बल तानेर खुट्टा छोपेँ । लामो हिँडाइले खुट्टा दुखिरहेको महशुस बल्ल हुँदैछ । खाएपछि जाडोको बढी अनुभूति हुँदोरहेछ । थकान र जाडोले गर्दा हो कि निद्रा टाढैबाट भागिरहेको छ मदेखि ।

जगमाया र लैलाको आमा अर्को कोठामा जान्छन् । काठको बारले कोठा छोपिएको छ । तर उनीहरुको सानोसानो स्वर पनि प्रष्ट सुनिन्छ यतापट्ट ि। उनीहरु गफ गर्दैछन् । स्वर चिन्न कुनै गाह्रो छैन मलाई । यो स्वर लैलाकी आमाको होः

‘ठूली छोरीको त उमेर पनि पुगिसक्यो होला । बिहेको कुरा आउन थालेका होलान् ।’

‘कति आउँछन् कति नि । उमेर पुगेकी छोरी । अब ठूलीको बिहे गर्ने सुरसारमा छौँ । उसको मास्टरको पढाइ पनि सकिँदै छ । एउटा राम्रो केटाबाट कुरा आएको छ । महिनाको चालीसहजार कमाउँदो रहेछ ।  नेपालगञ्जको मुख्य बजार नजिकै दुईवटा घडेरी जोडिसकेको छ रे ।’

‘ठूलीले पनि मन पराएकी छे ?’

‘उसले मन नपराएर हुन्छ ? छोरी भएर जन्मिएपछि आमाबालाई सबैभन्दा ठूलो सन्ताप यसैबेला हुने त हो नि ! छोरीको बिहे गर्नु कहाँ सजिलो छ र ? अझ कमाइ नहुने र घडेरी नहुने केटाको कुरै आएन भने त बर्बाद हुन्छ छोरीहरुको जिन्दगी ! त्यस्ता केटाहरु पर्खँदै र खोज्दैमा बित्छ जुनी । त्यो केटा गुमाई भने कहाँ पाउँछे चालीसचालीस हजार पाउने अर्को केटो ? अनि भएन उसको जीवन बर्बाद ? बिहेका लागि नेपालगञ्जको मूलबजारमै रहेको घडेरीको माग थियो केटा पक्षको । मैले हुन्छ भनिसकेकी छु ।’

म यो वार्तालापले झसङ्गै भएँ । म के सुन्दैछु यो ?

मलाई अरु जाडो थपिएको छ । लाग्यो मलाई दिइएको कम्बल भिजिरहेको छ । अघिदेखि कल्पनामा ओढेको पछ्यौरी भिज्न थालेको छ । कहाँबाट आयो पानीको चिसो यहाँ ? म छाम्छु ओढिरहेको कम्बल । बढी त छामिरहेकी छु अघिदेखि मनलाई गम्लङ्ग छोपेको राराको पछ्यौरी ।

जगमायाले भनेको सुइरोजस्तै तीखो वचनले कतै घोच्यो कि लैलाको कमलो मन ? पुलुक्क हेरेँ उसलाई । आह, उसको आँखामै उत्रिसकेको रहेछ राराको विशालता । नअटेर पोखिइरहेको रहेछ परेलीका कोषहरुबाट ।

मेरो दिमागमा एकछिनसम्म एउटा पक्की घरको जग बनेर बसेकी जगमायाँ होचिइरहेकी छिन् । होचिँदै होचिँदै एउटा पानीको जगमा परिवर्तन भैसकेकी छन् । जगबाट उम्लिएर पोखिइरहेको छ चीसो पानी र त्यसले भिजाएको रहेछ मेरो पछ्यौरी ।

यो गफमा लैलाकी आमा गला अवरुद्ध भैसकेकी बुझेकी छु । उनलाई सोध्न जान सक्दिन र सोध्छु लैलालाई नै

“के भयो ? किन रोएकी यसरी ?”

ऊ रारामै के सीमित हुन्थी ? अब कर्णाली भएर उर्लिन थाली । उसलाई सम्हालिनसक्नुभयो ।

‘नरोऊ नानी, नरोऊ, मैले मेरो एउटा हात उसको काँधमा लगेर थमथम्याएँ । अर्को हातले उसको आँशु पुछ्दै गाला मुसारिदिन थालेँ ।

ऊ हिक्लिक् हिक्लिक् हिक्का छोड्दै फुट्न थाली, ‘दिदी ? सम्पत्ति नै नहुने बाबुकी छोरीले केटा नै पाउँदैन हो ? बिहे नै हुन नसकेर थप बोझ भएर बस्नुपर्छ हो ?’

‘कसले भन्यो तिमीलाई नचाहिने कुरा ?’

‘सुन्नुभएन जगमाया म्याडमले भनेको कुरा ? जहिले पनि उनी यहाँ आउँछिन् र मेरो आमासँग यस्तै कुरा गरिरहन्छिन् । उनी यहाँ आएर घोचिरहन्छिन् मेरी आमा र मेरो मन ।’

‘होइन नानी, होइन, तिमी पढीराख । त्यसैले तिम्रो जीवन सुन्दर बन्छ ।’

जब लैला कर्णालीको किनारैकिनार उभोतिर बग्न थाली । बिस्तारै उसको आँशुको कर्णाली पनि सानो हुँदै गयो । ऊ अझै उभो लागिरही ।

‘नरोऊ न त्यसरी । यसरी मन सानो बनाएमा तिम्री आमाको पनि मन सानो हुन्छ । सपना मर्न नदेऊ ।सपनामा मात्र होइन । विपनामा नै होला नि तिम्रो राजकुमार ।’

अबचाँहि ऊ थाम्मिई र मेरो नजिक सर्दै मलाई नै अङ्गालोमा बेरीः ‘कसरी थाहा पाउनुभो दिदी ?’

अचानक उनको मनमा प्रवेश गरेछु । उ एकछिन् लाजले भुतुक्कै भई ।

‘सँगै पढ्थ्यौँ हामीले यही स्कूलमा । पोहोर साल नेपालगञ्ज गयो क्याम्पस पढ्न ।  म जसरी पनि तिमीलाई नै राजकुमारी बनाउँछु भनेर बचन दिएको छ । तर यो म्याडमका कुरा सुन्दा मैले उसलाई पनि गुमाइसकेँ जस्तो लाग्छ ।’

एकछिन थामिएर फेरि बोलीः ‘ऊ पनि यो गाउँको त सम्पन्न नै हो । उसलाई त पैँसावालहरुले उतै किनिदिन सक्छन् ।’

उसले मलाई गरेको बारम्बारको दिदी सम्बोधनले मैले सहोदर बहिनीको रुपमा हेर्न थालिसकेकी थिएँ । म असहृय भई छटपटाउन थालेँ ।

‘ऊसँग सम्पत्ति छ भने यस्ता कुरा सम्पत्तिवालहरुसँगै गरोस् न उसले । किन यस्ता सम्पत्ति नहुनेहरुको मन भत्काउन खोज्छन् ?’ ऊ भेर रुवाइका हिक्का बढाउन थाली । मैले थामथुम पार्न खोजेँ अब के पार्न सक्थेँ ? म आफैं पग्लिन थालिसकेकी थिएँ । ‘भन बुनु, मेरी प्यारी बुनु, भनः निर्धक्क भन । म तिम्रै आफ्नै दिदी हुँ !’

ऊ भन्न थाली- “त्यति मात्र होइन दिदी । उनले मेरी आमालाई उक्साइरहेकी छिन्, ‘अब तिमीले लैलालाई यति पढाए पुगिहाल्छ । पढाउन छाडिदेऊ उसलाई । बरु तिमीहरु जस्तै गरीब केटा खोजिदेऊ र पठाइदिइहाल । कम्तिमा त्यो सित्तैको पढाइ खर्च त जोगिन्छ ।’

म जुरुक्क उठेँ र जगको चीसो पानी घटघटी पिउन थालेँ । मेरो भित्रैदेखि भकभकी उम्लिरहेको रगतलाई चिस्याउनु थियो मैले । शिक्षक ब्रान्ड टाँसिएको प्लाष्टिकको जगलाई कच्याककुचुक पार्न मन थियो ।

तर म केही गर्न सक्दिनँ । यो मेरो ठाउँ होइन । यो मेरो भूगोल होइन ।  को छ र मलाई यहाँ साथ दिने ? म आफैलाई थामथुम पार्छु र लैलालाई भन्छुः ‘लैला म्याडमले भनेको कुरा तिमी सुन्दै नसुन । शिक्षकले त्यस्तो कुरा गर्दैनन् । त्यो त भक्षक हो । जागिरीको नाममा तिमीहरुजस्ता गरीबका सपनाहरु कुपुकुपु खाँदै भोक मेटाइरहेकी छ ऊ ।’

“ऊ भन्दा तिमी धेरै जान्ने भैसक्यौ । किताबमा लेखिएका कुराहरु ध्यान दिएर बुझ ।रेडियो सुन शैक्षिक चेतनाका कुराहरु हुन्छन् । रेडियोमा आउने ठूला मान्छेहरुको अन्तर्वार्ता सुन । ती ठूला मान्छेहरु तिमीजस्तै आर्थिक रुपमा विपन्न तर चेतनाले सम्पन्न भएर नै त्यो ठाउँमा पुगेका हुन् भनी बुझ्नेछ्यौ र तिमीलाई अगाडि बढ्न मद्दत गर्नेछ ।

तिमी कुनै हालतमा पढ्न नछोड नानी । तिमी एउटै लक्ष्यमा अगाडि बढ । त्यो लक्ष्य भनेको तिम्रो सपनासँग जोडिएको अध्ययन हो । जब अध्ययन पूरा हुन्छ सँगसँगै सपना पनि साकार हुन जानेछ ।

उसले बुझी कि बुझिन मैले हेक्का राखिन । तर उसको हिक्का भने शान्त हुँदै गयो । ऊ मेरो काखमै घुस्रुक्क सुती । भित्रैदेखि न्यानो पैदा भयो मलाई । ऊ सायद सुतिहोली । मेरो निद्रा भने भागिसकेको थियो ।

मैले निभिसकेको बत्ति सल्काएँ । आफ्नो ब्यागबाट कलम र कापी झिकेँ । ती जगमाया नामकी शिक्षिकालाई पत्र लेख्न थालेँ ।

जगमायाजी,

तपाईँको आतिथ्यताले म अनुग्रहित छु । तपाईँलाई देख्नेबित्तिकै तपाईँप्रति मेरो अगाध श्रद्धा पलाएको थियो । म शिक्षकहरुलाई मर्यादा गर्छु । यो देशको भविष्यको रेखाङ्कन गर्ने जिम्मा शिक्षकहरुमै छ । देश कता गइरहेको छ ? अलिअलि तपाईँलाई हेक्का पनि होला ।

तर, त्यो श्रद्धा तपाईँ आफैले मेरो हृदयबाट खुर्केर फालिदिनुभयो । पलाउनै दिनुभएन । तपाईँ जुन धरातलमा उभिनुभएको छ एकपटक पुनः हेर्नुहोस् । तपाईँलाई दिइएको जिम्मेवारीलाई हेर्नुहोस् । जिम्मेवारी वापत तपाईँले पाइरहेको पारिश्रमिकलाई हेर्नुहोस् । त्यो पारिश्रमिकले बनेको आफ्नो नेपालगंजको ऐशआराम र छोरीहरुलाई पनि हेर्नुहोस् । छोरीलाई त्यसरी पढाउनुभएकोमा धन्यवाद छ ।

तर, लैलाकी आमासँग यो के कुरा गर्नुभयो तपाईँले ? कतै पहुँच नभएका दुरदराजका बालबच्चाहरुको भविष्य कता लग्ने सोच्दै हुनुहुन्छ ? कस्तो प्रकारको खेलबाड हो यो ? यी कलिला चिचिलाहरुको बालमनोविज्ञान तहसनहस पारेर के जिम्मेवारी पूरा हुन्छ ? के स्वार्थ पूरा हुन्छ तपाइको ?

मलाई लाग्यो तपाईँ शिक्षक नभई बालबालिकाको मृत भविष्यको भक्षक हो । देशकै कलंक हो । देशले विकासको गति पकड्न नसक्नु तपाईँजस्ताले गर्दा नै हो । तपाईँले हजारौँ विद्यार्थी उत्पादन गरिसक्नुभयो होला । मलाई लाग्छ ती विद्यार्थीहरुलाई ज्ञान होइन, अज्ञानताको भारि बोकाएर पठाउनुभयो होला तपाईँले । तिनीहरु त्यो भारीले कहिल्यै उभो लाग्न नसक्ने गरी । जीवन नै तहसनहस पार्ने गरी । यस अर्थमा तपाईँ अपराधी हो । तपाईँले अदृश्य रुपमा सिर्जना गरेको बाल मनोविज्ञानको आतंक कुनै अलकायदाको बर्बरतापूर्ण आतङ्क भन्दा कमको छैन ।

यो हुम्लामा तपाईँको मनमा अँध्यारोको चीसो मात्र नपसोस् । उज्यालोको न्यानो पनि पसोस् । मेरो पत्र पढिसक्नुभयो भने र घैँटामा घाम पस्यो भने तपाईँले यस्ता अपराधहरु गर्दिन भनेर किरिया खानुहुनेछ । पसेन भने तपाईँले नै मलाई अपराधी देख्नुहुनेछ ।

पुनः अनुरोध छ मेरो । लैला तपाईँको छिमेकी कम र मेरी बहिनी बढी हो । तपाईँले आफ्नो मति नसपारी मेरी बहिनीमा आइन्दा यस्तो कालो छाया नपारिदिनुहोला ।

र अर्को कुरा यो पनि सोचिराख्नूः यही कारणले मेरी बहिनीलाई हप्काउनुभयो वा उसको परिवारमा अलिकति पनि तलबितल पार्न खोज्नुभयो भने मैले तपाईँलाई पात्तालै लुके पनि पक्रेर ल्याएर सदाको लागि जेलमा जाकिदिने हैसियतमा छु म । आफ्नो जिम्मेवारीको ख्याल राख्नुहोला । विदा ।

तपाइँकी अपरिचित पाहुना

प्राप्ति खडका ।

यति पत्र लेखिसकेपछि मैले आफ्नो काखबाट उसको टाउको बिस्तारै सिरानीमा राखिदिएँ । पुनः आफैले लेखेको पत्र दोहोर्‍याएर हेरेँ । उसलाई धम्कीपूर्ण पत्र लेखेकोमा पटक्कै पछुतो लागेन । ऊ त्यस्तै थिई त म सम्हालिएर के गरुँ ? ऊ यस्तै धम्कीपूर्ण लवजमा चिठ्ठी लेख्न लायककी थिई त मैले मात्र धैर्य गरेर के गरुँ ?

म जुरुक्क उठेर बाहिर निस्किएँ ।

बाहिर हुम्लाको आकाश हेरेँ ।  तारा चमचम चम्किरहेका थिए । नीलो आकाश कालोमा परिवर्तित थियो । कालो आकाशमा चम्कने ताराहरुले शोभा दिइरहेका थिए । आकाशबाट एउटा तारा झर्दै थियो । मैले झर्दै गरेको तारासँग हतारहतार आशिष मागेँ ।

तारा झर्दै गर्दा मागेको आशिष पूरा हुन्छ भन्ने सुनेकी थिएँ ।

म पनि त ऊजस्तै अविवाहित केटी थिएँ । मेरो मनको एक कुनामा पनि त कुनै राजकुमार मलाई पर्खि बसेको थियो । मेरा पनि रहरहरु थिए । सपनाहरुलाई विपनामा परिवर्तित गर्ने प्रतिज्ञाहरु थिए ।

तर ?

मैले त्यो आशिष आफ्नो लागि मागिन । लैलाजस्ती असहायका लागि थाप्नु थियो आशिष । मैले मागेँ, ‘लैलाको सपनाको राजकुमारसँग भेट होस् । उसको ज्ञानको धोक्रो चेतनाले भरिएको होस् । लैलाको जीवनमा खुशीको बहार ल्याएर प्रवेश गरोस् । लैलाले आफ्नी र बहिनीहरुलाई समेत सुखी र शिक्षित तुल्याउने सपना पनि पूरा होस् ।’

लैलाको अर्को दुःखको कहानी नलेखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?