+
+

नब्युँझिएका नागरिक

प्रकाश विकल्प प्रकाश विकल्प
२०७५ माघ १२ गते १२:१७

सन्दर्भ २०७२ माघको हो । अफिसको कामले मलगायत अन्य दुईजना साथी पोखरा गएका थियौं । झण्डै चार दिनको पोखरा बसाइका लागि ‘लेकसाइड’मा होटल ‘बुक’ थियो । म जहिले पनि पोखरा जाँदा लेकसाइडको सफा र स्वच्छता देखेर सोच्ने गथेर्ं- ‘काठमाडौं त्यति धेरै फोहोर छ तर लेकसाइडचाहिँ कसरी यति धेरै सफा ?’

पोखरा बसाइको तेस्रो दिन गार्डेनमा बसेर कफी पिउँदै गर्दा होटलका साहुसँग कुराकानी भयो । कुराकानीको सुरूवातमै मैले मेरो पहिलेदेखिको चासो व्यक्त गरेँ- ‘यो लेकसाइड कसरी यति धेरै सफा भयो ? के नगरपालिका निकै सक्रिय छ यहाँ ?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काइहाले- ‘कहाँको नगरपालिका नि हजुर, यहाँ त हामी आ-आफ्नो होटलअगाडि आफैं सफा गर्छाैं । फोहोर भयो भने त खैरेहरु कहाँ छिर्छन् र ?’

लेकसाइडका बासिन्दा मात्र होइन, डा. गोविन्द केसी र अधिवक्ता ओमप्रकाश अर्याल चुप लागेर बसेका भए आफूलाई शताब्दीकै बलवान् ठान्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की पदमुक्त हुन्थे ? पोखराको लेकसाइडका बासिन्दाले नगरपालिकाको मुख ताकेर बसेका भए लेकसाइड लोभलाग्दो गरी सफा र स्वच्छ हुन्थ्यो ?

सबैका अगाडि छर्लङ्ग छ- नागरिक नजागेका भए कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटना के हुन्थ्यो भन्ने । जबकि, निर्दोष दीलिपसिंह विष्टलाई झण्डै अपराधी करार गरी आजीवन जेल कोच्न लागिएको थियो । दर्जनौंलाई पक्राउ गरेर चरम यातना दिइएको थियो । नागरिक जागेपछि अन्ततः राज्य छानबिन समित गठन गर्न बाध्य भयो । नागरिक आन्दोलन सशक्त नहुँदासम्म छानबिन समिति बनाउने वा अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कुनै कारबाही गरेको थिएन । तर, नागरिक आन्दोलित भएपछि राज्य बल्ल ब्युँझियो ।

यो भन्दा पनि अझ दर्दनाक घटना भोजपुरमा पनि भएको थियो । ०७४ असार १२ गते भोजपुरको अरुण गाउँपालिका वडा नम्बर १ प्याउलीमा १६ वर्षका रञ्जित सापकोटा, १४ वर्षकी सुस्मा फुयाल र ८ वर्षका प्रदीप फुयाल गाउँकै माछापोखरीमा मृत फेला परे । विभिन्न समिति बनाएर अनुसन्धान गरियो । विभिन्न तह-तप्कामाथि अशङ्का सोझिएको थियो तर नागरिक नजाग्दा घटना त्यत्तिकै सेलाएर गयो । कञ्चनपुरबासी जाग्दा अपराधी हालसम्म पक्राउ नपरे पनि कम्तीमा निर्दोषलाई जोगाउन  सफल भए ।

हामीले आफ्नो महत्व नबुझ्दा आफूलाई केवल मतदाता, उपभोक्ता, गृहिणी, मजदूर, किसान, गोठालो, सुकुम्बासी, विद्यार्थी, श्रीमान्-श्रीमती र पेशा-व्यवसायीमा मात्रै सीमित गर्‍यौं । कसैले आफ्नो भाग्यलाई दोष दिएर बस्यौ, कसैले कर्मै खोटी भनेर चित बुझायौं । यो नै हो हाम्रो असफलताको मूल कारण । यो दुनियाँमा न त भाग्यको कुनै अर्थ छ, न त कसैको कर्म नै खोटो हुन्छ । आफूलाई बुझ्न धार्मिक ग्रन्थ र रूढीवादको सापट लिँदा सबै चिज बिगि्रयो । किनकि, हरेक मान्छेले चाहन्छ- सफल हौं, ठूलो मान्छे बनांै । यो धु्रवसत्य हो । तर, सफल र ठूलो मान्छे बन्न निश्चित मापदण्ड पूरा गर्नै पर्दछ । त्यसमध्येको एक हो, जीवनलाई महान् लक्ष्यसँग जोड्ने कुरा । यो पहिलो सर्त हो ।

तर, गलत धारणा तोड्न नसक्दा अधिकांश नेपालीको लक्ष्य राम्रो श्रीमान् र श्रीमती पाउनुमा सीमित भयो । अझ यसले नेपाली महिलामा बढी स्थान लिएको छ । त्यही भएर युवतीहरु प्रायः व्रत बस्छन्, राम्रो पति पाऊँ भनेर ।

जुन कुरा प्रयासै नगरी पाइन्छ, त्यही कुरामा मरिहत्ते गछौर्ं हामी । यो /mढीवादी समाजको विकृत रुप हो । गजब त के छ भने विज्ञानको चामत्कारिक विकास बुझेका मान्छे पनि त्यही गछौर्ं । अनि समाज कसरी अगाडि बढ्छ ? समाज अगाडि नबढेपछि देश कसरी समृद्ध हुन्छ ? नागरिक शिथिल हुँदा स्वाभाविक रुपमा शासक वनघोडाजस्तै हुन्छन्, उनीहरुलाई कज्याउन नागरिक नै सक्षम हुनुपर्छ । यो दुनियाँको मात्र होइन, नेपालकै विगतका व्यवस्थाले पुष्टि गरेको तथ्य हो ।

यसरी हेर्दा, नेपालले गरीब देश हुन चाहिने नागरिक मात्र पायो, धनी बन्न चाहिने खालका नागरिक नै पाएन ।

नागरिकले देशको भविष्यको हेक्का नराख्दा भ्रष्टाचारी र अपराधी कहलिएकालाई सयौं किलोको माला लगाउन उद्यत भयौं । एक छाक मासु-चिउरा वा छोराछोरीले जागिर पाउने आशमा आफ्नो अभिमत बेच्दा नेतालाई चुनाव जित्न राम्रो काम नै गरिरहनुपर्छ भने बाध्यता रहेन । नागरिककै कमजोरीले ६९ वर्षदेखिकको अराजक राजनीतिको अन्त्य भई विकास र समृद्धिको जग बस्न सकेको छैन ।

अभिमतको महफ्व नबुझी आफ्नो मत बेच्दा राजनीतिमा असल पात्र उदाउन कठिन हुँदै गइरहेको छ । नागरिककै कारण नेपालमा राजनीति पैसा र पावरवालाले मात्र गर्ने हो भन्ने मान्यता लगभग स्थापित भयो । उमेदवारको कार्यक्रम, इमानदारिता र प्रतिबद्धताभन्दा पैसा चुनाव जित्ने वा हार्ने निणर्ायक कारण बन्यो । एउटा उम्मेदवारले चुनाव जित्न करोडौं खर्च गर्नुपर्दा कालान्तरमा त्यसले देशको भविष्यमा नकारात्मक असर गर्‍यो । दलको इतिहास र घोषणापत्र अध्ययन गरी सचेततापूर्वक अभिमत प्रकट गर्ने र आफ्नो मतको निरन्तर पछि लाग्ने स्तरको ‘क्रिटिकल मास’ नेपालमा भएनौं । यदि हुँदो हो त चरम भ्रष्टाचार र अनियमितता भइरहेको टुलुटुलु हेरेर बस्न सक्ने थिएनौं । अतः देश बन्न नसकेको होइन, नागरिकको मानसिकता बन्न नसकेको हो भन्दा फरक पर्दैन ।

अर्कोतर्फ, नागरिकले सुल्टो काम गर्न सकेनौं । आफूले चाहेको मुद्दा र अधिकारको पक्षधरलाई होइन, विरोधीलाई भोट दिन्छौं । किनकि, जित्नेलाई भोट दिनुपर्छ भन्ने समाजमा मान्यता छ, देशलाई जिताउनका लागि भोट दिनुपर्छ भन्ने छैन । नागरिक गतिशील नहुँदा देशमा आवश्यकीय र अपरिहार्य परिवर्तनसमेत असम्भव भयो । नागरिक अभिमतले राम्रो र नराम्रो, असल र खराब नै छुट्याउन सकेन

नागरिक फगत पार्टीको कार्यकर्तामा सीमित हुँदा देशको उज्ज्वल भविष्यको सङ्केतसम्म देखिँदैन । नागरिक यस्ता भयौं कि आफूले देश बनाउन निर्वाचनमार्फत् ‘गोल’ हान्ने अवसर पाउँदा ‘म्याच फिक्सिङ’ गर्ने अनि राजनीतिक दल, नेता र कर्मचारीले देश डुबाए भनी तथानाम गाली गर्ने । यो भन्दा हास्यास्पद अरु के हुन्छ ?

चिनियाँ दार्शनिक कन्फुयुसियस भन्छन्- कुनै पनि घटनामा दुवै पक्षको दोष हुन्छ । उनको तर्क छ- ‘लामखुट्टेले टोक्नु उसको दोष हो भने झुल नलगाउनु मानिसको पनि उत्तिकै दोष हो ।’ नागरिक नब्युँझिँदा देश पनि सुतेको सुत्यै भयो । समस्यामा आफ्नो कमजोरी देख्ने स्तरको दृष्टि नहुँदा समस्या जहाँको त्यही रहृयो ।

हामीले ‘आफ्नो’बाहेक देशको समृद्धिको सपनै देखेनौं । नागरिकले आफ्नो कर्तव्य र जवाफदेहिता भुली नेता र कर्मचारीको मात्र जवाफदेहिता खोज्दा देश ‘गैरजवाफदेही’हरुको  वासस्थान बन्यो ।

मुलुकको समृद्धिका लागि तटस्थ र यथार्थवादी जनमत पनि उत्तिकै आवश्यक हुन्छ । तर, नेपालमा तटस्थ मानिस पाउनु झण्डै आश्चर्यको विषय हो । ‘नागरिक’ भने कोही छैनन्, सबै राजनीतिक दलका कार्यकर्ता मात्र । नेपालको विडम्बना नै यहीँनेर हो । नेपालको विडम्बना भनेकै गुजाराको मानसिकताबाट माथि उठ्न नचाहनु हो । हिजोका पुस्ताले नलड्दा उनीहरुको जीवन बनीबुतो र विभेदमै बित्यो । आजको पुस्तासमेत सुतेर बस्ने हो भने भोलिको पुस्ताले पनि उही दुर्गति व्यहोर्नुपर्ने निश्चितप्रायः छ ।

(हालै प्रकाशित पुस्तक ‘देश किन बनेन’को एक अंश)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?