Comments Add Comment

ठूलो आयोजनामा एडीबीको सहयोग खोज्दै गण्डकी प्रदेश

मुख्यमन्त्री भन्छन्ः प्रदेशलाई ठूलै लगानी चाहिन्छ

१३ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले मुग्लिन– पोखरा सडक खण्डको विस्तार सहित ठूला आयोजनामा लगानी गर्न एसियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेको छ ।

एडीबीले प्रदेश र स्थानीय सरकारका विकासका प्राथमिकतालाई समेत समोवेश गर्ने गरी पञ्चवर्षीय योजना बनाएँदैछ । त्यसक्रममा एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर हामुद खानोभको नेतृत्वको एक टोलीले गण्डकी प्रदेश र स्थानीय सरकारका प्रतिनिधिलाई राखेर विकासका प्राथमिकताबारे छलफल गरेको छ ।

‘पहिला नेपाल सरकारका प्राथमिकतामा लगानी केन्द्रित गर्थ्यौं,’ निर्देशक खानोभले भने, ‘अब प्रदेश र स्थानीय सरकारका विकास प्राथमिकताका क्षेत्र हेरेर लगानी गर्नेछौं ।’

गण्डकी प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकताको आधार मानेको छ । त्यसपछि ऊर्जा, कृषि, उद्योग र पूर्वाधारलाई प्रदेश सरकारले समृद्धिको आधार मानेर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । प्रदेश अर्थ तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्माले विकासका प्राथमिकता र त्यसका क्षेत्रको जानकारी गराउँदै एडीबीका प्रतिनिधिलाई लगानी केन्द्रित गर्न आग्रह गरे ।

गण्डकी प्रदेश सरकारले पोखरा–मुग्लिन र पोखरा–बुटवल सडकलाई ४ लेनको बनाइदिन आग्रह गरेको छ । ‘प्रदेश राजधानीसँग आउ–जाउ गर्ने मुख्य सडक नै राम्रो भएन भने राम्रो सन्देश जाँदैन,’ प्रदेश अर्थ तथा योजना आयोगका उपाध्यक्ष शर्माले भने, ‘दुबै सडकमा एडीबीले लगानी गरोस् भन्न चाहन्छौं ।’

प्रदेश सरकारले प्रत्येक वर्ष ८ प्रतिशतका दरले प्रदेशको वार्षिक आय वृद्धि गर्ने, ५ बर्षभित्र प्रतिब्यक्ति आय २५ सय अमेरिकी डलर पुर्‍याउने, गरिवी ७ प्रतिशतमा झार्ने योजना अघि सारेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । यसका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेका ठूला योजनामा लगानी गर्न आग्रह गरे ।

प्रदेश सरकारले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लगानी गर्न आग्रह गरेको छ । सन् २०२२ सम्म २० लाख पर्यटक भित्राउने लक्ष्य पुरा गर्न अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र अनिवार्य रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

जलविद्युतमा पनि लगानी गर्न सक्ने भन्दे उनले भने, ‘गण्डकी प्रदेशमा ११ हजार मेगावाट बिजुली उत्पादन हुन क्छ । हामीले ५ वर्षमा बढीमा ५ नत्र ३ हजार मेगावाट बिजुली निकालौं वा निकाल्ने प्रक्रिया अगाडि बढाउनु पर्छ भनेर लागेका छौं ।’

मुख्य तीन वटा करिडोरमा प्रशारण लाइन राख्नु पर्ने भएकाले पञ्चवर्षीय योजनामा राख्न एडीबीलाई सरकारले आग्रह गरेको छ । कालीगण्डकी, मस्र्याङ्दी र बुढीगण्डकी करिडोरमा विद्युतको प्रसारण लाइन बनाउन सरकारको अनुरोध थियो ।

गण्डकी प्रदेशले कृषिमा उत्पादकत्व वृद्धि गर्न प्राविधिक सहयोगको अपिल गरेको छ । पूर्वाधार निर्माणतर्फ जिल्ला सदरमुकामदेखि पालिको केन्द्रसम्म पुग्ने सडक निर्माणमा एबीबीको सहयोग चाहिएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

प्रदेशका योजनालाई कार्यान्वयन गर्न र लक्ष्य प्राप्ति गर्न दक्ष र सक्षम प्राविधिक चाहिने भएकाले प्राविधिक विश्वविद्यालय खोल्न लागेको भन्दै उनले भने, ‘प्राविधिक तथा व्यावायिक क्षेत्रमा यहाँहरुको लगानी भयो भने हामीलाई सहयोग पुग्छ ।’

एडीबीले पञ्चवर्षीय योजना बनाउँदै गर्दा प्रदेश र स्थानीय सरकारको प्राथमिकताका क्षेत्र केके छन् र कुन क्षेत्रमा लगानी गर्न ठाउँ छन् भन्ने बुझ्नका लागि एठीबीले छलफल गरेको एडीबीका प्रिन्सिपल इकोनोमिक्स शरद भण्डारीले जानकारी दिए ।

‘अहिले स्थानीय तहसहित प्रदेशको प्राथमिकताका क्षेत्रबारे छलफल गर्‍यौं । पछि फेरि कुन क्षेत्रमा एठीबीले लगानी गर्ने आयोजनाबारे छलफल हुन्छ,’ भण्डारीले भने, ‘एडीबीले सहुलियतमा अनुदान दिने तथा साझेदारी गर्ने हो ।’

एडीबीलाई प्रदेशको प्रस्ताव

–पोखरा–मुग्लिन र पोखरा–बुटवल सडकलाई ४ लेन बनाउने

–जिल्ला सदरमुकामसँग पालिका जोड्ने सडक निर्माण

–पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

–कालीगण्डकी, मस्र्याङ्दी र बुढीगण्डकीमा प्रशारण लाइन

–एउटा ठूलो जलविद्युत

–विषादी जाँच गर्ने ल्याब

–उत्पादकत्व वृद्धि गर्न प्राविधिक सहयोग

– प्राविधिक विश्वविद्यालयमा प्राविधिक तथा व्यावसायिक सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment