Comments Add Comment

जहाँ मरेका मान्छेले सहकारीबाट ५० हजार निकाले !

बुबाको निक्षेप फिर्ता माग्न सिंहदरबार धाउँदैछन् रवि

१३ माघ, काठमाडौं । गाउँ गाउँमा सिंहदरबार पुग्यो भनेर के गर्नु ? काठमाडौंको जिल्लाको साविक स्युचाटार–७ (हाल नागार्जुन नगरपालिका) निवासी रवि क्षेत्रीले आफ्ना पिताको निधनपछि सहकारीको रकम फिर्ता माग्न थालेको ६ वर्ष बितिसकेको छ । यसका लागि उनी सिंहदरबार धाएका धायै छन् ।

रविका पिता दिलिपबहादुरको मृत्यु भएको भोलिपल्ट मृतककै नाममा सहकारीबाट ५० हजार रुपैयाँ निकालेको कागजातमा देखिएको छ ।

रविले अनलाइनखबरसँग भने, ‘म वर्षौंदेखि न्यायका लागि भौंतारिरहेको छु, ‘स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाले निक्षेप तथा सेयरको रकम फिर्ता नदिएर ममाथि अन्याय गरिरहेको छ ।’

आफ्ना बुबाले सहकारीमा जम्मा गरेको निक्षेप फिर्ता माग्न रविले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि राष्ट्रिय सूचना आयोग, सहकारी मन्त्रालय, सहकारी विभाग हुँदै डिभिजन सहकारी कार्यालयसम्म पुग्दा पनि न्याय नपाएको गुनासो सुनाए ।

रविले भने, ‘सिंहदरबारस्थित हेल्लो सरकारमा पुगेको थिएँ, अनलाइनखबरमा जानोस् भनेर एकजना कर्मचारीले यता पठाइदिनुभयो ।’

जहाँ न पहुँचे रवि !

रविका बुवा दिलिपबहादुर गौतम क्षेत्रीले नागार्जुन नगरपालिकामा रहेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेर खाता नं. ०००१२१ मा ३ लाख ६२ हजार रुपैयाँ जम्मा गरेका थिए ।

उक्त सहकारीमा एकल खाता खोलेर शेयरधनीसमेत रहेका क्षेत्री (रविका बुवा) को ०६९ साल २ महिना ३ गते निधन भयो । क्षेत्रीका दुई सन्तान छन् । रवि र उनकी एकजना दिदी छिन् ।

रोजगारीको सिलसिलामा भारतको मुम्बईमा बसिरहेका रवि पिताको निधनपछि स्वदेश फर्किए । काजकिरिया गरेर सकिएपछि उनी उक्त सहकारी संस्थामा पुगे ।

रवि आफ्ना पिताले सहकारीमा रकम जम्मा गरेको विषयमा जानकार थिए । उनले सहकारी संस्थामा खाता खोल्दा रविलाई नै इच्छाइएको व्यक्ति रोजेका थिए । त्यसैले बुवाको निधनपछि उनी रकम लिन सहकारी संस्थामा पुगे ।

सहकारीका अध्यक्षले अहिले तत्कालै मिल्दैन, एक महिनापछि आउनुस् भने । तर, एक महिनापछि सहकारी संस्थामा पुग्दा उनी छाँगाबाट खसेजस्तै भए । सहकारी संस्थाले उनलाई रकम दिन नमिल्ने बतायो । सहकारीले तेरो बाबुले इच्छाएको व्यक्ति नै तँ होइनस् भनेपछि उनी अचम्ममा परे ।

‘दिदीको नाम पो होला कि’ भन्ने पनि सोचें,’ रवि भन्छन्, ‘सुरुमा, बुवाको इच्छाइएको व्यक्तिमा मेरै नाम रहेछ, तर, मेरो नाम केरमेट गरेर अर्कैको लेखिएछ ।’

सहकारी संस्थाले उपलब्ध गराएको कागजात देखाउँदै रविले अनलाइनखबरसँग भने, ‘पछि मलाई रमा क्षेत्री भन्ने महिलालाई लिएर आइज भने ।’

कागजातमा रविको नाम केरमेट गरेर ‘रमा क्षेत्री’ लेखिएको रहेछ ।

यस्तो केरमेटपछि आफूलाई सहकारी संस्थाले पैसा सजिलै नदिने रविले पत्तो पाए । उनले बुवाले गरेको कारोबारको स्टेमेन्ट मागे । तर, सहकारीले दिन मागेन । त्यसपछि उनले उनले राष्ट्रिय सूचना आयोजमा उजुरी हाले ।

उजुरीपछि सहकारीले उनलाई कारोबार विवरण र रविको नाम काटेर इच्छाइएको व्यक्ति बनाइएकी महिलाको नागरिकताको प्रतिलिपिसमेत उपलब्ध गरायो । रवि भन्छन्, ‘तर, ती दुबै झुठामात्रै थिएनन्, किर्ते गरिएको छ भन्ने थप प्रमाण ठहरिए ।’

रविको भनाइ अनुसार सहकारीले उपलब्ध गराएको कारोबारको विवरणमा रविका बुवाको निधन भएको भोलिपल्ट मृतक बुवाले नै ५० हजार रुपैयाँ निकालेको देखियो ।

रविले ०६९ सालयता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि राष्ट्रिय सूचना आयोग, सहकारी मन्त्रालय, सहकारी विभाग हुँदै डिभिजन सहकारी कार्यालयसम्म धेरैपटक धाए । रविको गुनासो गृह मन्त्रालयदेखि रक्षा मन्त्रालयसम्म पुगिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पटक–पटक (ताकेता समेत) गरी आवश्यक कारवाही गर्न भन्दै पत्र पठाएको छ । गृह मन्त्रालयले प्रहरी हेर्डक्वाटरलाई अनुसन्धान गरी कारवाही गर्न पत्र काटेको देखिन्छ ।

सहकारी विभागले त रवि अन्यायमा परेको र न्याय पाउनुपर्ने भनेर टिप्पणी नै उठाइदिएको छ । विभागले ०७३ साउन ६ गते टिप्पणी उठाएको देखिन्छ । विभागका कानून अधिकृत टोपबहादुर विष्टले उठाएको टिप्पणीपछि भएको आदेशमा पनि रवि अन्यायमा परेको देखाइएको छ ।

विभागको टिप्पणी र आदेशमा भनिएको छ, ‘दिलिपबहादुर गौतम क्षेत्रीको खातामा बिनाआधार र कुनै प्रमाणबिना नै उनका छोरा (रवि) को नाम काटेर अर्को राखेको, साथै मृतकको नाममा रहेको रकम मृत्यु भइसकेका व्यक्तिले निकालेर खर्च गरिएको समेत देखिएकाले डिभिजन कार्यालयलाई लेखी पठाउन मनासिव छ ।’

यसवीचमा विभागले मृत्यु भइसकेका व्यक्तिको खाताबाट निकालिएको रकम र त्यसको ब्याज सञ्चालक समितिले तत्कालै खातामा जम्मा गर्नु भनी आदेशसमेत दिएको छ । तैपनि सहकारी संस्थाले कुनै टेरपुच्छर लगाएको छैन ।

सहकारी संस्था भन्छ– ५० प्रतिशत दिन सकिन्छ

हामीले रविको विषयमा सम्बन्धित सहकारी संस्थाका अध्यक्ष साधुराम गौतमलाई सोध्यौं । उनले रविलाई निक्षेप फिर्ता नदिएको स्वीकार गरे ।

उनले पैसा फिर्ता नै नदिने आफ्नो व्यक्तिगत वा संस्थाको नियत नभएको दाबी गरे । तर, नियमनकारी निकायले रविलाई पैसा दिनु भनेर किटानी लिखत नदिएसम्म रकम दिन नसक्ने बताए ।

तपाईले निक्षेप नै फिर्ता दिन्न भनेर धर पाउनुहोला त ? भन्ने प्रश्न गर्दा गौतमले अनलाइनखबरसँग भने, ‘रवि मेरो पनि नाताको मान्छे हो । ५० प्रतिशत लिन मान्छ भने म मिलाउँछु, तपाईले पनि सहयोगी भूमिका खेलिदिनुस् ।’

अध्यक्ष गौतमले ५० प्रतिशत रमालाई र ५० प्रतिशत रविलाई दिने संकेत गरे ।

सहकारी विभाग भन्छ– कान्छी श्रीमती ठहरिए रमाले अंश पाउँछिन्

रमा क्षेत्री भनिएकी महिला रविकी कान्छीआमा भएको सहकारीको दाबी छ । तर, रवि भने रमालाई कान्छी आमा मान्न तयार छैनन् ।

त्यसो त सहकारी विभागको टिप्पणी आदेशमा पनि रमा क्षेत्रीका बारेमा बोलिएको छ ।

रमा क्षेत्री यदि स्व. दिलिपबहादुर गौतमकी कान्छी पत्नी ठहरिएमा रमाले रवि क्षेत्री लगायत एकाघरका परिवारउपर चल अचल सम्पत्ति माग गर्ने र हक स्थापित गर्ने अधिकार सुरक्षित नै रहेको सहकारी विभागको टिप्पणी आदेशमा स्पष्ट लेखिएको छ ।

तर, अहिलेको हकमा दिलिपको हकवाला रवि नै देखिएकाले सहकारीमा रहेको रकमको सावाँ ब्याजसहित रविलाई १५ दिन भित्र फिर्ता गर्नुपर्ने अन्यथा सहकारी सञ्चालकलाई कीर्ते कागज र ठगीको महल अनुसार कारवाही हुनुपर्ने ०७३ साल साउन १६ को टिप्पणी आदेशमा लेखिएको छ ।

हेर्नुहोस् टिप्पणी आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment