Comments Add Comment

रिह्याबमा शंकास्पद मृत्यु प्रकरण : पोष्टमार्टम रिपोर्टमा खुलेन कारण

१० माघ, काठमाडौं । ललितपुरको महालक्ष्मी–४ मा रहेको ‘वि केयर’ पुनर्स्थापना केन्द्रमा शंकास्पद मृत्यु भएका व्यक्तिको पोस्टमार्टम रिपोर्ट (शव परीक्षण प्रतिवेदन) आएको छ । तर, रिपोर्टले मृत्युको कारण यकिन बताउन सकेको छैन ।

केन्द्रमा भर्ना गरिएका दोलखा वैतेश्वर–६, नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको ६ माघमा शंकास्पद मृत्यु भएको थियो । उनीमाथि कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।

‘पोष्टमार्टम रिपोर्ट आइसकेको छ । यद्यपि, मृत्युको कारण भने खुलेको छैन’, ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले अनलाइनखबरसँग भने, ‘अनुसन्धान जारी छ ।’

अनुसन्धानको दायरामा आएका केन्द्रमा बसेका अन्य व्यक्तिले घटनाको अघिल्लो दिन घिमिरेमाथि कुटपिट भएको बयान दिएका थिए । तर, कुटपिटकै कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा अन्यौलता थियो ।

जसका लागि प्रहरी घिमिरेको पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको भए पनि पाटन अस्पतालले दिएको रिपोर्टमा मृत्युको कारण ‘अन आइडन्टिफाइड’ भनिएको छ । यद्यपि, शरीरमा देखिएका चोटपटक, निलडाम र करङ्ग भाँच्चिएको विषय भने रिपोर्टमा उल्लेख छ ।

फरार दुई जनाको खोजी जारी

परिवारको किटानी जोहरी लिएर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटाले प्रारम्भमै केन्द्रका सञ्चालक र बार्डेनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका केन्द्रका सञ्चालक सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्मा र वार्डेन झापाको बिर्तामोड–४ का ४८ वर्षीय सुनिल खड्का क्षेत्रीमाथि बयान जारी छ ।

वृत्तका प्रमुख डीएसपी गौतम मिश्र भन्छन्, ‘उनीहरुको बयान जारी छ । अन्य व्यक्तिसँग पनि सोधपुछ र कागज गर्ने काम भइरहेको छ ।’ घटनामा संलग्न भएको आरोप लागेका दुई जना अझै फरार छन् ।

केन्द्रमै बसेका कीर्तिपुरका सुधीर कार्की र सिन्धुपाल्चोकका मुकुन्द केसी फरार रहेका हुन् । उनीहरुको खोजीका लागि पनि व्यापक प्रहरी परिचालित भएको डीएसपी मिश्रको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment