Comments Add Comment

रिह्याबमा घिमिरेमाथि कुटपिट भएको पुष्टि, पोष्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

सञ्चालक र वार्डेनमाथि ज्यान मुद्दा, दुई जना फरार

१० माघ, काठमाडौं । ललितपुरको महालक्ष्मी–४ मा रहेको ‘वि केयर’ पुनर्स्थापना केन्द्रमा शंकास्पद मृत्यु भएका व्यक्तिमाथि कुटपिट भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले गरेको अनुसन्धानका क्रममा दोलखाको वैतश्वर–६, नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेमाथि कुटपिट भएको पुष्टि भएको हो ।

यद्यपि, कुटपिटकै कारण उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा निर्क्यौल भइसकेको छैन । जसका लागि प्रहरी अहिले घिमिरेको पोस्टमार्टम रिपोर्टको पर्खाइमा छ ।

महानगरीय प्रहरी परिसर, लतिलपुरका एसपी शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीमाथि कुटपिट भएको पुष्टि भएको छ । मृत्युको कारणबारे भने खुलिसकेको छैन ।’

मृतकको घिमिरेको शरीरमा निल डाम देखिएपछि शंका गर्दै आफन्तले प्रहरीसमक्ष छानबिनका लागि माग गरेका थिए । परिवारको किटानी जोहरी परेपछि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केन्द्रका सञ्चालक सोलुखुम्बुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्मा र वार्डेन झापाको बिर्तामोड–४ का ४८ वर्षीय सुनिल खड्का क्षेत्री छन् । घिमिरे मृत्यु प्रकरणमा केन्द्रमा बसेका थप दुई जना पनि तानिएका छन् । हाल उनीहरु फरार छन् ।

फरार रहने दुई जनामा कीर्तिपुरका सुधिर कार्की र सिन्धुपाल्चोक घर भइ कोटेश्वर बस्दै आएका मुकुन्द केसी छन् । पक्राउ परेकाहरुमाथि भने प्रहरीले कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

के देखियो अनुसन्धानमा ?

अत्यधिक मदिरा सेवन गरेर दुःख दिएका कारण परिवारले ३ माघमा ‘वि केयर’ पुनर्स्थापना केन्द्रमा घिमिरेलाई भर्ना गरेका थिए । तर, ६ माघमा एक्कासि उनी गम्भीर बिरामी भएको खबर सुनेपछि परिवारका सदस्यहरु आत्तिए ।

उनलाई लगिएको स्टार हस्पिटलमा परिवारका सदस्य पुग्दा घिमिरेले प्राण त्यागिसकेका थिए । शरीरको अवस्था हेरेर परिवारले उनको मृत्युलाई प्राकृतिक मान्न सकेन । र, प्रहरीमा किटानी जोहरी दियो ।

महानगरीय प्रहरी वृत्त, सातदोबाटोका एक अधिकारीका अनुसार केन्द्रमा गरिएको सोधपुछका क्रममा घिमिरेमाथि ५ गते राति कुटपिट भएको भेटिएको छ ।

‘रिह्याबमै भएका फरार दुई जनाले उनीमाथि कुटपिट गरेका थिए । यसबारे सञ्चालकलाई पनि थाहा थियो’, केन्द्रमा रहेका एक व्यक्तिको बयानलाई उदृत गर्दै ती अधिकारीले भने ।

स्रोतका अनुसार प्रहरी हिरासतमा रहेका सञ्चालकले पनि सुधार केन्द्रमा राखिएका व्यक्तिहरुमाथि कुटपिट गर्ने गरेको स्वीकारेका छन् । ‘कहिले काहीँ नपिटी हुँदैन । सम्झाउन दुई/चार झापड लाउँथ्यौं’, शेर्पाको बयानलाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, त्यसरी ज्यानै जाने गरी पिटेका छैनौं ।’

घिमिरेलाई केन्द्रमा राखेवापत् प्रतिमहिना १५ हजार रुपैयाँ बुझाइने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment