Comments Add Comment

नक्कली ब्लुबुक देखाएर बैंकबाट पौने ३ करोड ऋण, ८ जना पक्राउ

१४ माघ, काठमाडौं । गाडीको नक्कली ब्लुबुक देखाएर बैंकबाट पौने ३ करोड ऋण लिने गिरोहमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिलिपी ब्लुबुकमा गलत विवरण भरी देव विकास बैंकमा धितो राखेर ११ जना ऋणीहरुको नाममा ऋण निकाल्न संलग्न मुख्य योजनाकार काभ्रेको भुम्लु गाउँपालिका १ का नारायणबहादुर श्रेष्ठसहित ९ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भुम्लुकै बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेशमान सिंह अमात्य र देव विकास बैंकका तत्कालिन शाखा प्रबन्धक सरिन शंकर श्रेष्ठ रहेका छन् । पक्राउ परेका बालकृष्ण श्रेष्ठ भुम्लु गाउँपालिका १ का वडासदस्यसमेत हुन् ।

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंसिर २५ गतेदेखि विभिन्न मितिमा मोरङ, काभ्रे र काठमाडौं जिल्लाबाट पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

सीआईबीका अनुसार उनीहरुले बैंकमा सवारी साधन धितो राखी ऋण लिने क्रममा प्रतिलिपी व्लु बकमा नक्कली डाटा तयार गर्नुका साथै  आफु अनुकुलका विवरणहरु राखेर पेश गरेका थिए । त्यस्तै विभिन्न व्यक्तिहरुलाई ऋणी बनाई १६ वटा कर्जा फाईल तयार गरी उनीहरुले २ करोड ७१ लाख ७६ हजार रुपैयाँ ऋण निकालेका छन् ।

मुख्य योजनाकार नारायण श्रेष्ठ गाडी किनबेचमा आवद्द रही यातयात कार्यालयमा सजिलै प्रबेश पाउने हैसियत बनाएको देखिएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार तत्कालिन शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठले ऋण प्रवाहमा गर्दा आफ्नो कर्जा सीमा नाघी कर्जा स्वीकृत गरेको जनाएको छ ।

उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ तथा मुलुकी ऐनको सरकारी छाप दस्तखत कीर्ते कागजको महल बमोजिमको कसुरमा अनुसन्धान पूरा सीआईबीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment