Comments Add Comment

गोविन्ददास श्रेष्ठको मृत्यु बन्यो उनको ‘जीवनको उत्सव’

१४ माघ,काठमाडौं । सामान्यतःमान्छेको मृत्युपछि शोकसभा गरिन्छ । तर सोमवार अपरान्ह राजधानीको पाँचतारे होटल र्‍याडिसनमा सोही होटलका संस्थापक अध्यक्ष गोविन्ददास श्रेष्ठको निधनलाई भने ‘उत्सव’का रुपमा मनाइयो ।

नेपालको होटल तथा पर्यटन उद्योगका पायोनियर मानिने श्रेष्ठको ८६वर्षको उमेरमा केही दिनअघि मुम्बइमा निधन भएको थियो । उनको अन्तिम इच्छा अनुसार चितवनको देवघाटमा दाहसंस्कार गरेका परिवारले धार्मिक अनुष्ठानबाट काजकिरिया सकेपछि स्वर्गीय श्रेष्ठको आत्माको शान्तिका लागि ‘उत्सव’ मनाएका हुन् ।

श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमस्थलमा सेतो ब्यानरमा कालो अक्षरले लेखिएको थियो–डेथ इज अ सेलिब्रेसन अफ लाइफ’ । अर्थात मृत्यु भन्नु जीवनको एक उत्सव हो । यो भनाइ पनि श्रेष्ठकै हो । उनी आफ्ना साथीभाइहरुसँग यसै भन्ने गर्थे,जुन कुरा संस्कृतिविद शतवार्षिकी पुरुष सत्यमोहन जोशीले सो अवसरमा सुनाए ।

परिवारको तर्फबाट आयोजित कार्यक्रममा स्वर्गीय श्रेष्ठका हितैषीहरु सत्यमोहन जोशी सहित होटल याक एण्ड यतिका राधेश्याम सर्राफ,सांग्रिलाका संस्थापक श्यामवहादुर पाण्डे,द्धारिकाजकी संस्थापक अम्बिका श्रेष्ठलगायतले उनीसँगका पलहरु सुनाए ।

उमेरले एक शतक पार गरिसकेका जिवित इतिहास सत्यमोहनले श्रेष्ठको मृत्युलाई उत्सवकै रुपमा लिइदिन आग्रह गर्दै भने ‘वास्तवमा यो जीवन भ्रम हो । गीतामा भनिए जस्तै शरीरले चोला फेर्छ तर आत्मा त कहिल्यै मर्दैन । सायद गोविन्ददासजी आज आफ्नो जीवनको उत्सव यतै कतैबाट हेरिरहनु भएको पो छ कि ? त्यसैले जीवनले चोला फेर्दा उत्सव मनाउँ ।’

छोरा अनिलदास श्रेष्ठ र बुहारी मिसु कार्यक्रमको अघिल्लो लहरमा थिए, तर उनीहरुले पिताको बारेमा केही बोलेनन् । छोरी अनुले आफ्नो पिताको योगदान र उनको जीवनका फरक पाटाहरुको बारेमा चर्चा गरिन् । कार्यक्रममा श्रेष्ठसँग बिभिन्न कालखण्डमा सहकार्य गरेका पूर्वराजदूत केदारभक्त श्रेष्ठ, होटल संघका अध्यक्ष योगेन्द शाक्य,पत्रकार मात्रिका पौडेललगायतले श्रेष्ठको सम्झना गरेका थिए ।

स्वर्गीय श्रेष्ठले आफू र पत्नीको नाममा सरस्वती गोविन्द फाउण्डेशनमार्फत सामाजिक काममा ठूलो रकम खर्च गरेका छन् । सो संस्थामार्फत श्रेष्ठको स्मृति ताजा राख्न अधूरा कामहरु अघि बढाइने परिवारका सदस्यले बताए । श्रेष्ठले देवघाटमा बृद्धाश्रम, म्याग्दीको गलेश्वरमा तीर्थयात्री भवन र ललितपुरमा रोटरीमार्फत गरीव र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि डेढ करोड दिएका छन् ।

को हुन् गोविन्ददास

काठमाडौंको ओटुस्थित मंगलघरमा जन्मिएका गोविन्ददास श्रेष्ठ नेपालको पूरानो व्यापारिक घरानाका सदस्य हुन् । मंगलघर राणाकालमा निकै प्रख्यात र प्रतिष्ठित व्यापारिक घर थियो ।

गोविन्ददासका जेठा मामाले रोलवाला राणाकी छोरी भगाएपछि राणा शासकले फाँसी दिने भएपछि फाँसीबाट बच्न कलकत्ता गए । मामासँगै गोविन्ददासले पनि उतै गएर पढाइ पूरा गरेको अनलाइनखबरसँग बताएका थिए ।

२००७ सालको परिर्वतनसँगै नेपाल फर्किएपछि उनी पुख्र्याैली पेशा व्यापार व्यवसायतिरै लागेका थिए । राणाकालमा बत्तीस कोटी महाजन भनिने मंगल घरलाई उनले विदेशीहरुका लागि किनमेल गर्न सजिलो होस् भनेर ब्लु बकेट नामाकरण गरी यहीँबाट व्यवसायिक जीवन आरम्भ गरेका थिए ।

घुम्ने फिर्ने शोख भएका श्रेष्ठले नेपालमा पर्यटन विकासको सपना पूरा गर्न २०२० सालतिर हिमालयन ट्राभल्स शुरु गरेका थिए, जुन अहिले पनि चलिरहेको छ । तत्कालिन अधिराजकुमार बसुन्धराले खोलेको ट्राभल्सपछि यो दोस्रो पुरानो हो । श्रेष्ठले चितवनमा कृषि र ह्याचरी उद्योग पनि सन्चालन गरेका थिए ।

उनी गाडी र ट्रेकिङका सौखिन थिए । तत्कालिन प्रधानमन्त्री तुलसी गिरीले उनको आउडी गाडी मन पराएर कयौं दिन फिर्ता नगरेको किस्सा गत महिनामात्र गिरीको निधनपछि उनले अनलाइनखबरमार्फत खुलासा गरेका थिए ।

संयोगनै मान्नुपर्छ गिरीको निधनको लगत्तै श्रेष्ठ पनि यो संसारबाट बिदा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment