+
+
Shares

बच्चालाई भान्साको काम लगाउनुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १५ गते १२:४२

सामान्य लाग्न सक्छ, तर यो प्रश्न निकै अर्थपूर्ण छ । के तपाईंले बच्चालाई भान्साको काममा खटाउनुहुन्छ ?

तपाईं भन्नुहोला, ‘पढ्न लेख्न छाडेर कहाँ भान्सामा खटाउनु ?’ यस्तो पनि लाग्न सक्छ कि छोराछोरीलाई भान्सामा काम लगाइयो भने उनीहरुले होमवर्क छुटाउँछन् । त्यसैले भान्साको हरेक काम तपाईं आफै गर्नुहुन्छ । यतिसम्म कि, उनीहरुले छाडेको जुठो थाल उनीहरुलाई उठाउन दिनुहुन्न । तपाईं आफैले उठाउनुहुन्छ । कतिपयले त छोराछोरीलाई आफैले भात ख्वाइदिन्छन् । छोराछोरीले खाना खाँदा छरपस्ट पार्ने, जथाभावी जुठो छर्ने भएकाले आमाबुवाले ख्वाइदिन्छन् ।

कुनैदिन तपाईंका बालबच्चाले पनि भने होलान्, ‘आज म तरकारी काट्छु ।’ तपाईंले उसलाई यसकारण तरकारी काट्न दिनुभएन कि, बच्चाले तरकारी काट्नै जान्दैन । तरकारी काट्दा हात काट्न सक्छ ।

कहिले काहीँ बालबच्चाले भने होलान्, ‘आज म जुठो थाल माझ्छु ।’ तर, तपाईंले त्यसमा पनि उनीहरुलाई रोक्नुभयो । यसकारण कि, बच्चाले राम्ररी थाल सफा गर्नै सक्दैन ।

बालबच्चाले तरकारी, अन्डा वा कुनै खानेकुरा पकाउने रहर गरे होलान् । तर, तपाईंले उनीहरुलाई त्यो रहर पुरा गर्ने छुट दिनुभएन । किनभने तपाईंलाई थाहा छ, ‘मेरा बालबच्चासँग खानेकुरा पकाउने ढंग छैन । उनीहरुले राम्ररी पकाउन जान्दैन ।’

के तपाईंले ठिक गर्नुभयो ?

अब सोच्नुहोस् त, के तपाईंले ठिक गर्नुभयो ?

तपाईंको दृष्टिबाट हेर्दा ठिक भयो । तर, बच्चाका लागि भान्सा भनेको आफैमा एक खेल्ने ठाउँ हो । सिक्ने ठाउँ हो । रमाउने ठाउँ हो ।

बच्चालाई तपाईंले यसकारण भान्साको काममा खटाउनुभएन, किनभने उनीहरुको पढाई, होमवर्क छुट्छ । तर तपाईंले सोच्नुपथ्र्यों, पुस्तकमा पढ्ने ज्ञानभन्दा महत्वपूर्ण कुरा बालबच्चाले भान्साबाट पनि सिक्न सक्छन् । अर्थात बच्चाका लागि भान्सा एक खुला पुस्तक पनि हो ।

बच्चालाई तपाईंले भान्साको काममा यसकारण लगाउनुभएन, किनभने उनीहरु काममा निपूर्ण थिएनन् । कुनैपनि काम सही ढंगले गर्न सक्षम थिएनन् ।

अब सोच्नुहोस् त, के कुनैपनि काम गर्दै नगरी त्यसमा पोख्त हुन सकिन्छ ? भात पकाउने, तरकारी काट्ने, जुठो भाँडा माझ्ने सबै काममा तपाईंले उनीहरुबाट पूर्णता खोज्नुभयो । तर, उनीहरुका लागि त्यो काम एक अभ्यास हुनसक्थ्यो भनेर बुझ्नुभएन ।

जबकी भान्सा एक प्रयोगशाला हो । रमाउने ठाउँ हो । सिक्ने ठाउँ हो । भान्साबाट बच्चाले धेरै कुरा सिक्न सक्छन्, यदि त्यसमा तपाईंले अनुकुल वातावरण मिलाइदिनुभयो भने ।

के सिक्छन् भान्साबाट

तपाईंले आफ्नो बच्चालाई भान्साको काममा खटाउनुपर्छ । आफुले भात पकाईरहेको बेला, तरकारी पकाइरहेको बेला, जुठो भाँडावर्तन सफा गरिरहेको बेला तपाईंले उनीहरुलाई आफुसँगै सामेल गर्न सक्नुहुन्छ । किनभने उनीहरु यस्तो काममा रमाउन सक्छन् । उनीहरुले यस्ता कामलाई केवल काम मात्र नठानेर खेलको रुपमा पनि बुझिरहेका हुन्छन् ।

बच्चालाई कहिले चामल धुन सिकाउनुहोस्, कहिले तरकारी काट्न । कहिले तरकारी पकाउन, कहिले चिया पकाउन । यसमा उनीहरु रमाउँछन् । आफुले पकाएको कुरा कस्तो होला ? कसरी त्यसको स्वाद बढ्छ होला ? यस्तै कौतुहलताले उनीहरुलाई खुसी तुल्याउँछ । आफुले पकाएको खानेकुरा खाने रहर पनि जाग्छ ।

खानेकुरामा रुची जाग्छ

कतिपय बालबच्चा खानमा त्यती रुची राख्दैनन् । उनीहरुलाई खानामा रुची जगाउने एक काइदा पनि हो यो । आफैले तयार गरेको, आफैले पकाएको खानेकुरा उनीहरु खान रुचाउँछन् ।

खानेकुरा र पौष्टिक तत्वको ज्ञान पाउँछन

त्यसो त बच्चाहरु भान्सामा रमाउने मात्र होइन, जीवनोपयोगी कुरा पनि सिक्छन् । कस्तो खानेकुरा कसरी पकाइन्छ ? कसरी पकाउनुपर्छ भन्ने सामान्य ज्ञान पाउँछन् । साथसाथै खानेकुराको परिकार, त्यसको पकाउने विधी, पौष्टिक तत्व आदिबारे पनि जानकारी लिन सक्छन् ।

खानेकुराको स्वाद, गुण थाहा पाउँछन्

सागसब्जी कस्ता कस्ता हुन्छन्, कसरी पकाइन्छ, त्यसमा कस्ता पौष्टिक तत्व पाइन्छ भन्ने कुरा सिक्न सक्छन् । खानेकुरालाई कसरी पकाउँदा स्वादिलो र पोषिलो बनाउने भन्ने कुरा पनि जान्न सक्छन् । हाम्रा भान्सामा उपलब्ध खानेकुरा, सागसब्जी, मरमसला जस्ता सबै कुरालाई हरेर, छोएर, प्रयोग गरेर उनीहरुले त्यसको रंग, स्वाद, आकार, गुण सबैकुरा बुझ्छन् ।

यसका लागि अभिभावकले भान्सालाई एक खुला शिक्षालय जस्तै बनाउन सक्नुपर्छ । बच्चाले त्यहाँ जे जति खानेकुरा देख्छन् र त्यसका बारेमा जिज्ञासा राख्छन्, सही र स्पष्ट जवाफ दिनुपर्छ । मानौ उनीहरुले आलुको बारेमा प्रश्न गर्न सक्छन् । तपाईंले आलु पकाउने विधी, आलु फल्ने सिजन, आलुमा हुने पोषकतत्व सबै कुरा बताउन सक्नुहुनेछ ।

स्वादिलो र सन्तुलित खानेकुराको ज्ञान पाउँछन्

बच्चालाई भान्साको काममा खटाइरहँदा उनीहरुले सन्तुलित, स्वास्थ्य र सुपाच्य भोजनबारे पनि जानकारी पाउन सक्छन् । खानेकुरामा के कस्ता पोषक तत्व हुन्छ र त्यसलाई कसरी उचित मात्रा मिलाएर सेवन गर्ने भन्ने कुरा तपाईंले व्यवहारिक रुपमै सिकाउन सक्नुहुनेछ ।

पारिवारिक जीवनमा रमाउने मेलो

भान्साको काममा खटाएपछि बच्चाहरु त्यही रमाउन थाल्छन् । यसले उनीहरुलाई व्यवहारिक शिक्षा पनि मिल्छ । परिवारसँग बस्ने, सहयोग गर्ने कुरामा अभ्यस्त हुन्छन् । अहिले बच्चाहरु पारिवारिक जीवनमा त्यती घुलमिल भइरहेका हुँदैनन् । उनीहरु विद्यालयमा धेरैजसो समय विताउँछन् । त्यसपछिका समय आफ्नै खेलकुद र होमवर्कमा लगाउँछन् । यसरी उनीहरु परिवारबाट विमुख हुँदै गएका छन् । यस्तो अवस्थामा उनीहरुलाई घर परिवारकै काममा घुलमिल गराउने मेलो पनि हो यो ।

अभिभावक र बच्चाबीच संवाद गर्ने अवसर

साथसाथै अहिले अभिभावक र बालबच्चावीच संवाद भइरहेको हुँदैन । चाहेर पनि बालबच्चासँग अभिभावकले समय साट्न पाएका हुँदैनन् । कुरा गर्न पाएका हुँदैनन् । खेल्न पाएका हुँदैनन् । अहिलेको व्यस्त दिनचर्यामा बालबच्चासँग खेल्ने अतिरिक्त फुर्सद पनि कतिलाई नहुन सक्छ । त्यसैले भान्साको काम गरिरहेको बेला बच्चासँग खेल्ने, रमाउने गर्नु निकै उपयोगी हुन्छ । यो एक अवसर पनि हो, बच्चा र अभिभावकबीच सम्बाद गर्ने । खेल्ने ।

बच्चा मोवाइल वा टिभीमा लिप्त हुँदैनन्

अहिले धेरै बच्चा एक्लिएका छन् । उनीहरुसँग खेल्ने, बोल्ने साथी छैनन् । यस कारण पनि बच्चाहरु मोवाइलमा लिप्त भइरहेका हुन्छन् । टिभीमा एकोहोरिएका हुन्छन् ।

यसले गर्दा बच्चाहरु अव्यवहारिक बन्दै गएका छन् । उनीहरु भर्चुअल संसारमा रमाउने हुँदैछन् । यसको खतरा के छ भने, बालबच्चाहरुमा यसको कुलत हुनसक्छ । उनीहरु मोवाइल गेम, भिडियोको लतमा फस्न सक्छन् ।

त्यसैले यस्ता कुलतबाट जोगाउन बच्चालाई भान्सामा खटाउन सकिन्छ । उनीहरु जब भान्सामा खट्छन्, तब शारीरिक श्रम पनि हुन्छ ।

यसरी भान्साको काममा बच्चालाई खटाउँदा उनीहरुले काम वा श्रमको मूल्य पनि सिक्छन् । मेरा आमा बुवाले कसरी काम गर्छन्, खानेकुरा कसरी तयार गर्छन् भन्ने कुरा उनीहरुले बुझ्छन् । त्यसैले भान्साको कामले बच्चाहरुलाई धेरै उपयोगी शिक्षा दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?