१६ माघ, विराटनगर । मलद्वारभित्र लुकाएर ल्याउदै गरेको लागूऔषधसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय बजार जोगवनीबाट मलद्वारमा लुकाएर ल्याउदै गरेको अवस्थामा लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको हो ।
मंगलबार साँझ ७ बजे विराटनगर – १५ बाट नियन्त्रणमा लिएका धरान उपमहानगरपालिका – १० का २२ बर्षका रेजी शेर्पा र २७ बर्षका सुवास प्रधानको साथबाट २९ एम्पुल लागूऔषध बरामद भएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका प्रधानले मलद्वारबाट भित्र २० एम्पुल लागूऔषध लुकाएर ल्याएका थिए भने शेर्पाले ९ एम्पुल साथमा बोकेर ल्याएका थिए ।
बिशेष सूचनाका आधारमा नियन्त्रणमा लिएका प्रधानले मलद्वारमा लुकाएको लागुऔषध निकाल्न करिब १ घण्टा लागेको थियो । सीमा प्रहरी चौकी रानीमा १८ र इलाका प्रहरी कार्यालय रानीमा २ गरी जम्मा २० एम्पुल निकालिएको हो ।
पक्राउ परेकाहरुको साथबाट ५ एम्पुल डाइजेल्याब, ११ एम्पुल लुपिजेसिक, १३ एम्पुल एभिल गरी जम्मा २९ एम्पुल लागुऔषध निकालेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार भारतको जोगवनी तर्फबाट आउदै गरेका व्यक्तिमाथि सोधपुछ गर्दा लागुऔषध ल्याएको खुलेपछि शौचालयमा लगी निकाल्न लगाइएको हो । लागूऔषधसहित पक्राउ परेकाहरुलाई लागुऔषध ऐन अन्तरगत कारवाही प्रक्रिया अघि बढाएको श्रेष्ठले बताए ।