Comments Add Comment

‘सालको पात…’ गाउँदा विवादमा परे रवि ओड

१९ माघ, काठमाडौं । अहिलेको बहुचर्चित लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै…’ लाई स्टेजमा खराब तरिकाले गाएपछि दोस्रो नेपाल आइडल रवि ओड विवादमा मुछिएका छन् । लोकदोहोरीका संगीतकार बसन्त थापाले पनि प्रश्न उठाएका छन् ।

अष्ट्रेलियामा भ्रमणमा रहेका रविले ब्रिस्बेनमा केही दिनअघि आयोजित कन्सर्टमा उक्त गीत गाएका थिए । तर, उनको प्रस्तुती हेर्दा कुनै तयारी बिना गाएको जस्तो देखिएको थियो । गीतको मुखडा नै बिगारेका उनले कुनै पनि लाइन राम्ररी गाउन सकेनन् र बढिजसो दर्शकतिर माइक तेस्र्याए ।

रविले आफ्नै यूट्यूब च्यानलबाट यो गायनको भिडियो अपलोड गरेपछि आलोचना भएको थियो । शब्द नै कन्ठ नगरी गीत गाएको भनेर धेरैले कमेन्ट गरेका छन् ।

गीतका संगीतकार बसन्त थापाले पनि फेसबुकमा टिप्पणी गरे । उनले एकातर्फ गीतका सर्जकसँग अनुमति नलिई गाएको, गाउनुअघि क्रेडिट नदिएको तथा शब्दहरु नै तोडमोड गरेर गाएको भन्दै दुःख प्रकट गरेका थिए ।

तर, रविका फ्यानले उनीमाथि हल्लाबोल गरे । गालीगलौज नै हुन थालेपछि थापाले स्टाटस हटाएका छन् । तर, आफ्नो भनाइमा अहिले पनि अडिग रहेको बताउँछन् । ‘नेपाल आइडल भनिएको व्यक्तिले जथाभावी गाउँदा एउटा सिर्जनाको अपमान भएको छ, यसकारण म दुःखी भएको हुँ,’ उनले अनलाइनखबरसँग भने, ‘लोकगीत भनेरै हेपेर गाइएको हो भने त्यो सैह्य छैन ।’

अरुको सिर्जन अनुमतिबिना व्यवसायिकरुपमा गाउन नपाइने पनि उनी बताउँछन् । यस्तो कुरा गर्दा चर्को गाली सहनु परेको गुनासो गर्दै उनले भने, ‘कपिराइटको विषयमा हामी अझै ढुंगे युगमा नै रहेछौं भन्ने अनुभूति भयो । खासमा मैले व्यक्ति भन्दा पनि प्रवृत्तिमाथि प्रहार गरेको हुँ । म सर्जकको अधिकारको वकालत गरिरहने छु । रवि ओडसँग मेरो व्यक्तिगत वैमनश्यता छैन ।’

थापाले नेपाल आइडल ध्यान दिएर नहेरेकाले रविप्रति सुदूरपश्चिमेली जनताको सेन्टिमेन्ट बुझ्न नसकेको हुनसक्ने बताए । ‘मैले नेपाल आइडल आक्कल झुक्कल हेरेको हुँ तर, राम्ररी हेरेको छैन । उहाँप्रति भावनात्मक सम्बन्ध रहेछ । केही मानिस उहाँबारे नकारात्मक टिप्पणी सुन्नै चाहँदैन रहेछन्,’ उनले भने ।

उनले यो आफ्नो व्यक्तिगत मात्र नभई संगीत र प्रतिलिपी अधिकारसँग जोडिएको भन्दै उनले सम्बन्ध संघ–संस्थाले पहलकदमी लिने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच थापाले म्यासेन्जरमा भएको वार्ताको स्क्रिनसट पनि सार्वजनिक गरेका छन्, जसमा रविले गल्ती स्वीकारेको देखिन्छ । ‘मैले नसोधी गाएको छु र मिस्टेक पनि गरेको छु, सरी ल दाइ…’ वार्तामा रविले भनेका छन् ।

यसअघि पहिलो नेपाल आइडलका टप ३ गायकहरुलाई पनि वल्र्ड टुर गराइएको थियो । उनीहरुले पनि अनुमति बेगर नै पुराना गीतहरु कन्सर्टमा गाएका थिए ।

अरुको संगीतलाई व्यवसायिकरुपमा प्रयोग गर्दा अनिवार्यरुपमा वास्तविक सर्जकको अनुमति लिनुपर्ने रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी बताउँछन् । ‘मनोरञ्जनका लागि गाउन पाइन्छ तर, टिकट काटेर आएका दर्शकका अगाडि अरुको गीत बिना अनुमति गाउनु अनाधिकृत हुन्छ,’ उनले भने ।

नेपाल आइडलका प्रतियोगीहरुले देश विदेशका स्टेजमा अनुमति नलिएर अरुको गीत गाएको विषयमा रोयल्टी समाजले एपी वान टेलिभिजनसँग छलफल गरिरहेको उनले जानकारी दिए । ‘रोयल्टीका विषयमा हामीले एपी वानसित छलफल गरिरहेका छौं । रोयल्टी दिनुपर्छ भन्ने विषयमा उहाँहरुको सैद्धान्तिक सहमति छ । चाँडै सहमतिमा पुग्ने आशा राखेका छौं,’ अधिकारीले भने ।

यता लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी भने यस विषयलाई बहसका रुपमा लैजाने बताउँछन् । ‘नेपाल आइडलका गायक गायिकाले लोकगीतको प्रवर्द्धनमा योगदान दिनुभएको छ । तर, सर्जकको अनुमतिबिना यसरी गाउन पाइँदैन,’ उनले भने ।

यद्यपि, प्रतिष्ठानले यसमा तत्काल कडा कदम नचाल्ने उनले संकेत गरेका छन् । ‘तत्काल विज्ञप्ति जारी गरिहाल्ने वा कतै उजुरवाजुर गरिहाल्ने मनस्थितिमा छैनौं,’ उनले भने ।

रवि ओडले गीत बिगारेर गाएकोबारे प्रश्न गर्दा पंगेनीले भने, ‘सालको पात… गीतलाई रविले राम्ररी निभाउन नसकेको सत्य हो । यो एउटा संवेदनशील कुरा हुँदाहुँदै पनि रविको बिधा फरक भएको र स्टेज शोमा धेरै अनुभवी नभएकाले यसमा म धेरै आलोचना गर्न चाहन्न । उनले आफूलाई सुधार्छन् भन्ने अपेक्षा छ ।’

लोक सिर्जना कति मौलिक ?

त्यसो त लोक सिर्जना आफैंमा मौलिक नहुने र यसमा कसैको कपिराइट नलाग्ने तर्क पनि आएका छन् ।

पहिलेपहिले लोकगीतमा संगीतकारको नाम आउँदैनथ्यो । रेडियोबाट गीत बज्दा ‘संकलक’ र गायक–गायिकाको नाम मात्र भनिन्थ्यो । लोकगीतहरु सामान्यतया देशको कुनै भेगमा प्रचलित शब्दहरुलाई प्रचलित भाकामा गाइने भएकाले यसमा गीतकार वा संगीतकारको नाम लिइन्नथ्यो । तर, आजकाल भने अरु गीतमा जस्तै रचनाकार र संगीतकारको नाम पनि आउँछ ।

यस विषयमा गायक तथा प्रतिष्ठाका अध्यक्ष पंगेनी भन्छन्, ‘हो पहिले–पहिले लोकगीतहरु रचनाभन्दा पनि संकलन गरिन्थ्यो । संकलकहरुले देशका विभिन्न भागमा पुगेर शब्दहरु संकलन गर्थेँ, ती शब्दको वास्तविक सर्जक अज्ञात हुन्थ्यो । त्यसैले यसलाई कसैको व्यक्तिगत सिर्जना मान्न नसकिने स्थिति थियो । तर, आजकाल धेरै गीतहरु व्यक्तिगत रचना र संगीतमै बनेका हुन्छन् । त्यसैले तिनीहरुमा कपिराइट लाग्छ ।’

‘सालका पात..’ का संगीतकार बसन्त थापाले यस लोकदोहोरीमा आफ्नो मौलिक संगीत रहेको बताए । ‘यसको शब्द र संगीत दुवै मौलिक हुन् । कुनै प्रचलित शब्द र भाकामा गाएको होइन । यसमा हाम्रो प्रतिलिपी अधिकार छ,’ उनले भने ।

रविले गाएको गीत

बसन्त थापाको ओर्जिनल गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment