Comments Add Comment

प्राधिकरणका सीईओ ज्ञवाली पाकिस्तान भ्रमणमा

२२ माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पाकिस्तान भ्रमणमा निस्किएका छन् ।

नेपालको पुनर्निर्माण र पाकिस्तानको पुनर्निर्माणको सिकाइ आदान–प्रदान गर्न प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सोमबार पाकिस्तान गएका हुन् ।

ज्ञवालीले पाकिस्तानको इस्लामावाद र लाहोरमा त्यहाँका मन्त्री, राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख, विज्ञलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्राधिकरणका अनुसार, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा पाकिस्तानले लिएको नीतिगत, कानूनी र व्यवहारिक पक्ष, त्यसमा आइपरेका चुनौती र समाधानका उपायबारे छलफल गर्ने कार्यक्रम तय भएको छ । यस्तै, पुनर्निर्माणबाट प्राप्त अनुभव तथा ज्ञानलाई विपद् व्यवस्थापन न्यूनीकरणमा कसरी प्रयोग गरिएको छ भन्ने बारे पनि ज्ञवालीले जानकारी लिनेछन् ।

पाकिस्तानमा सन् २००५ मा गएको भूकम्प पश्चात् स्थापना भएको भूकम्प पुनर्निर्माण प्राधिकरणलाई राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । पाकिस्तानले हाल राष्ट्रिय विपद् व्यवस्थापन कोषको स्थापनासहित विपद् व्यवस्थापनको दीर्घकालीन वित्तीय व्यवस्थापन कार्यलाई अघि बढाएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा प्राप्त भएका अनुभव र ज्ञानलाई नेपालमा स्थापना गरिने भूकम्प संग्राहलय तथा अन्तरार्ष्ट्रिय अनुसन्धान केन्द्र तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल गर्नेछन् ।

तीन वर्षमा नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा अवलम्बन गरेको अवधारणा, हासिल गरेका उपलब्धिहरु र त्यसमा देखा परेका चुनौतीहरुका बारेमा पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले छलफल गर्नेछन् ।

प्राधिकरण स्थापना भएको तीन वर्षमा नेपालमा निजी आवासमा पुनर्निर्माण सम्पन्न र निर्माणाधिन गरी ७८ प्रतिशत, विद्यालय शिक्षातर्फ ८० प्रतिशत, स्वास्थ्य संस्थामा ६६ प्रतिशत, सरकारी भवनमा ९५ प्रतिशत, सुरक्षा निकायको भवनमा ५६ प्रतिशत र सम्पदा पुनर्निर्माणमा ५८ प्रतिशत प्रगति हासिल गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको टोलीमा प्राधिकरणका सहसचिव प्रकाश थापा, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेललगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment