Comments Add Comment

क्रिप्टोकरेन्सीका संस्थापकको मृत्यु, अरुसँग पासवर्ड नहुँदा १९ अर्ब डुब्यो

भर्चुअल मुद्राको रुपमा रहेको क्रिप्टो करेन्सी र जोखिम एक सिक्काका दुई पाटा हुन् । गत हप्ता क्यानडामा यसको पुष्टि भएको छ ।

क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने प्लाटर्फम क्वार्डिगाका लगानी कर्ताहरुकोे १९ अर्ब रुपैयाँ लगानी डुब्ने खतरा भएको छ ।

उक्त क्रिप्टोकरेन्सी साइटको पासवर्ड राखेका यसका संस्थापक गेरल्याड कोटेनको मृत्यु भएपसँगै लगानीकर्ताको करोडौँ डलर गुम्ने खतरा भएको हो ।

समाचार अनुसार त्यसमध्ये झण्डै ५ करोड डलर त क्रिप्टोकरेन्सी नभै भौतिक मुद्रा अर्थात् हार्ड करेन्सी मुद्रा पनि रहेको छ ।

कोटेको मृत्युसँगै उनीसँग रहेको उक्त साइटको पासवर्ड पनि चिहानमै विलय भएको छ ।

कसरी सार्वजनिक भयो घटना ?

गत डिसेम्बर ९ तारेखमा भारत भ्रमणका बेला कोटेनको मृत्यु भएको छ । ३० वर्षका कोटेनले नै क्वार्डिगाको लगानी, क्वाइन तथा कोष सम्बन्धी कुराहरु हेर्दथे ।

यसको पुष्टि गर्दै गत ३१ जनवरीमा उक्त कारोबार प्लेटर्फमका अधिकारीले नोभा स्कटियास्थित सर्वोच्च अदालतमा बयान दिँदै आफूहरु अहिले लगानीकर्ताको कोष सम्बन्धी जानकारीहरु पत्ता लगाउन आफूहरु असमर्थ रहेको बताएका थिए ।

कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एक दस्ताबेजमा हस्ताक्षर गरेकी छिन् । उक्त दस्ताबेज अनुसार उनका पतिले जुन ल्यापटपमा कम्पनीसँग सम्बन्धित जानकारीहरु राख्दथे त्यो पूर्णरुपमा एनक्रिप्टेड रहेका छन् र त्यसको पासवर्ड उनलाई थाहा छैन ।

रोबर्टसनले भनेकी छन्, ‘कैयन् प्रयासका बाबजुत पनि मैले यसको पासवर्ड फेला पार्न सकेकी छैन ।’

कानूनी प्रक्रिया

पाँच वर्षअगाडि क्वार्डिगा कम्पनीको स्थापना भएको थियो । गत वर्षदेखि नै उक्त कम्पनी वित्तिय संकटसँग जुधिरहेको थियो ।

क्यानडाको टिभी च्यानल सिबीसीको एक रिपोर्ट अनुसार यस वर्षको सुरुवातमै तरलता संकटमा फसेको यस कम्पनीको २० मिलियन डलर सिआइबीसी बैंकले जफत गरेको थियो ।

क्वार्डिगाका झण्डै १ लाख १५ हजार प्रयोगकर्ता रहेका छन् । त्यसमा पेशेवर लगानीकर्तासँगै स सानो रकम बचत गर्ने उपाय खोजिरहेका सर्वसाधारण मानिस पनि रहेका छन् ।

तर अब यो कम्पनीमा रहेको आफ्नो लगानी ती लगानीकर्ताले फिर्ता पाउने सम्भावना कम रहेको बताइन्छ ।

डिजिटल फाइनान्सका संस्थापक तथा वकिल क्रिस्टिन डुहेमीका अनुसार उनलाई धेरै मानिसले इमेल गरेर आफ्ना ठूलो रकम फसेको जानकारी दिइरहेका छन् । कतिपय मानिसलेत आफ्नो निवृत्त जिवनका लागि जम्मा गरेको बचत समेत डुबुको बताएका छन् ।

क्वार्डिगा लामो समयदेखि बजारमा रहेको छ । यो क्यानडाको सबैभन्दा ठूलो मुद्रा सटही कम्पनी पनि हो । सोही कारण त्यसमा रकम जम्मा गरेपछि आफ्नो पैसा सुरक्षित हुने धेरैले ठानेका थिए ।

संस्थापक कोटेनको मृत्युको जानकारी कम्पनीले आफ्नो फेसबुक पेज तथा वेबसाइटमा दिएको छ ।

पेटकेा विरामी रहेका उनको भारतको जयपुरमा एक च्यारिटीका दौरान गएको बेला उनकेा मृत्यु भएको हो । उनी अनाथाश्रम खोल्नका लागि जयपुर गएका थिए ।

आफ्नो मृत्युको ठीक दुई हप्ता अघि नोभेम्बर २७ मा उनले एउटा बकसपत्रमा हस्ताक्षर गरेका थिए । त्यसमा उनले आफ्नो सम्पत्तिको प्रबन्धक आफ्नी पत्नीलाई बनाएका थिए ।

कोटेनकी पत्नी जेनिफरले अदालतमा दिएको बयानमा कोटेनको मृत्युपछि पनि कम्पनीले केही लगानीलाई अनुमति दिएको बताएकी छिन् ।

क्वार्डिगाका अनुसार यस विषयमा छानविन गर्न एकजना जाँचकर्ता नियुक्त गरिएको छ जसले साइट तथा पासवर्ड सम्बन्धी जानकारीहरु हासिल गर्ने विषयमा काम गरिरहेका छन् ।

क्वार्डिगाले जारी गरेको विज्ञप्ति अनुसार उसले तरलताको विषयमा काम गरिरहेको छ जसमा कोल्ड वालेटमा संग्रहित क्रिप्टोकरेन्सी पत्ता लगाउने र त्यसलाई सुरक्षित गर्ने प्रयास सामेल छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment